सुन तस्करी प्रकरणमा गृहमन्त्रीले हात जोड्दै भने– यसलाई डिरेल गर्ने काम नगरौँ, प्लिज!

सुन तस्करी प्रकरणमा गृहमन्त्रीले हात जोड्दै भने– यसलाई डिरेल गर्ने काम नगरौँ, प्लिज!

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको सुन तस्करी प्रकरणलाई डिरेल नगर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले सीआईबीले अब ३५ दिन अनुसन्धान गर्न पाउने भएकाले त्यति दिनसम्म राज्यको निकायलाई निश्पक्ष रुपमा अनुसन्धान गर्न दिन आग्रह गरे। त्यसपछि अनुसन्धान नियत देखिए अर्को कदम चाल्न सरकार तयार  रहेको उनको भनाइ छ।

‘३५ दिनमा सीआईबीले अनुसन्धान गर्दा कुनै नियत देखियो वा यसले छानविनलाई तार्किक निष्कर्षमा पुर्याउन सकेन भने नयाँ शीराबाट बहस गरौँ। यो देशमा तस्करीलाई छुट दिनै हुँदैन। भ्रष्टाचारलाई छुट दिनै हुँदैन, यो नेक्ससलाई त तोड्नैपर्छ,’ उनले हात जोड्दै भनेँ, ‘तर यसलाई डिरेल गर्ने काम नगरौँ प्लिज मेरो अनुरोध छ।’

मन्त्री श्रेष्ठले सरकारले मुख्यतः दुईवटा कामलाई प्राथमिकता दिने बताए।

‘अहिलेको सुन तस्करीको घटनाको छानबिन र अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषी, अपराधी र  तस्करहरूलाई कारबाहीमा ल्याउनु पहिलो प्राथमिकता हो,’ उनले भने, ‘यस्ता घटना पुनरावृत्ति हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापन प्रणालीको रिभ्यू गरेर नयाँ नीति, निर्णय र कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्छ भन्ने दोस्रो प्राथमिकता हो।’

सुन तस्करीको ट्रान्जिट पोइन्ट नेपाललाई बनाइँदैछ भन्ने देखिएको भन्दै मन्त्री श्रेष्ठले हिजो पनि भाको थियो भनेर चुप लागेर बस्न नमिल्ने भएकाले हामीले अहिले तत्कालका लागि दुईवटा कदम चालिहाल्नुपर्ने उनको भनाइ छ।

उनले सरकारलाई काम गर्न दिनसमेत आग्रह गरे।

‘संसदीय समिति र उच्चस्तरीय छानविन समिति बनाएर होइन, राज्यको त्यसैको लागि संयन्त्रलाई हामीले जिम्मा दिनुपर्छ। त्यति त विश्वास गरौँ न। सीआईबीले अब ३५ दिन काम गर्न पाउँछ। त्यति दिन सीआईबीले छानविन गर्दा पनि चित्त बुझेन भने त्यतिबेला छलफल र बहस गर्न दिनसमेत आग्रह गरे।’

२३ साउन, २०८०, १८:३१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।