कारको डिकीमा लुकाएर १० किलो गाँजा लैजाँदै गरेका २ जना सर्लाहीबाट पक्राउ

कारको डिकीमा लुकाएर १० किलो गाँजा लैजाँदै गरेका २ जना सर्लाहीबाट पक्राउ
फाइल तस्वीर

सर्लाही : सर्लाहीको बागमती नगरपालिकाबाट १० किलो गाँजासहित प्रहरीले एउटा कार नियन्त्रणमा लिएको छ।

उक्त कारमा सवार दुई जना पनि पक्राउ परेका छन्।

आइतबार साँझ पूर्व-पश्चिम राजमार्ग हुँदै रौतहटबाट सर्लाही छिरेको प्रदेश- ३-०१-०२२ च ६५१५ नम्बरको कारलाई बागमतीस्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडि चेकजाँच गर्दा उक्त परिमाणमा गाँजासहित दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा कार चालक रौतहट गरुडा नगरपालिका-८ बस्ने ४० वर्षीय रामानन्द साह र सोही कारमा सवार रौतहटकै चन्द्रपुर नगरपालिका-५ बस्ने २६ वर्षीय मनिष चौधरी रहेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

उनीहरूले कारको डिकीभित्र दुई वटा बण्डलमा उक्त गाँजा राखेका थिए। 

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ। 

साउन १५, २०८० सोमबार ०९:३९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।