कुकर-बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

कुकर-बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

एजेन्सी : इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने भएको छ।

मासुका निम्ति पाशविक रूपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौंदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए।

चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राख्ने गरिएकोमा शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएपछि रोकिएको छ।

विगतमा असहमति जनाएका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार जारी गरेको वक्तव्यमा जनाइएको छ।

कुकुर–बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौँ पशुले चरम यातना खपेर अब मर्नुनपर्ने भएको उल्लेख गर्दै सोसाइटीले सरकारी निर्णयलाई ऐतिहासिक कदम भनेको छ। साथै उसले उक्त निर्णयको स्वागत गरेको छ।

स्थानीय संस्कृतिका कारण कुकुर–बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेशिया रहेको छ। शुक्रबार पशुबजारका छ जना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

इण्डोनेसियामा बर्सेनि एक लाख ३० हजार कुकर मासुका लागि मारिने गरेका थिए। पशुलाई नमरुञ्जेल कुट्ने, झुन्ड्याउने, जिउँदै आगोलगाउनेजस्ता क्रुर एवं अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ।

साउन ६, २०८० शनिबार १६:४४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।