उपचार क्रममा महिलाको मृत्यु भएपछि डाक्टरहरू भागे, अस्पताल तनावग्रस्त

उपचार क्रममा महिलाको मृत्यु भएपछि डाक्टरहरू भागे, अस्पताल तनावग्रस्त

जनकपुरधामः उपचार क्रममा महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पताल डाक्टर भागेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका-१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको उपचारपछि शुक्रबार मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका थिए। आक्रोशित समूहले अस्पतालमा प्रदर्शन गरेका थिए। 

बुधबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी साहको शुक्रबार दिउँसो मृत्यु भएको थियो। साहको मृत्युपछि आफन्तजनले सडकसमेत अवरुद्ध पारेका थिए। घटनापछि भने चिकित्सकहरू अस्पताल छाडेर भागेका हुन्। बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको थियो। ​​​​​​​

मृतकका भाइ उदयकुमार साहका अनुसार बुधबार साहको शल्यक्रिया गरिएको थियो। तर शल्यक्रिया असफल भएको र साहको मृत्यु भएको थियो। 

साहको मृत्यु भएपछि चिकित्सक तथा अस्पतालका स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर उनको शव अन्यत्र लैजाने कोशिस गरेका थिए। त्यस क्रममा आफन्तहरूले घेराउ गरेका थिए। 

त्यसपछि मृतकका आफन्तले साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गरेका थिए। त्यस क्रममा थप तनाव हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो। 

६ साउन, २०८०, ०८:३३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।