कान्तिपुर गाथा : परिवर्तनको औडाहहीन कांग्रेसीको लाइभ तमासा

कान्तिपुर गाथा : परिवर्तनको औडाहहीन कांग्रेसीको लाइभ तमासा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो जीवनमा कांग्रेस र सम्बध्द कुनै पनि संस्थाको निर्माण गरेनन्। नेपाल विद्यार्थी संघको संस्थापक सभापति विपिन कोइरालाको नाममा विवाद भएपछि उनी नेविसंघका सभापति भए।

उनलाई कांग्रेसको तत्कालीन खतरनाक राजनीतिमा जोगाउन र हुर्काउन मद्दत गरेका थिए रामेछापका स्वनामधन्य नेता शिवबहादुर खड्काले।

नेपाल विद्यार्थी संघको नेतृत्वबाट २०३६ सालमा बहुदल र निर्दलबीच जनमत संग्रहको शाही घोषणापछि वीपी कोइरालाको सुझावमा भर्खर किशोरावस्था पार गरेका झरिला युवा बिमलेन्द्र निधिले उनलाई विस्थापित गरेका थिए।

उनै सभापति देउवाको सनकमा एकवर्ष रोकिएर अहिले ‘सम्पन्न’ भइरहेको कांग्रेस केन्द्रीय समितिको बैठक फेसबुकबाट प्रत्यक्ष प्रसारण भएकोमा कांग्रेसी कार्यकर्ता र कांग्रेस निकट रहेका मिडियाकर्मी दङ्ग छन्। ती भन्दा पनि दङ्ग परेका छन् कांग्रेसको मामिलामा कहिल्यै कुनै सरोकार नराख्ने र लोकतन्त्र-गणतन्त्रकाप्रति संदिग्ध चरित्रका मिडियाकर्मीहरू।

उनीहरूको विचारमा,‘फेसबुक मार्फत कार्य समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्न लगाएर सभापति देउवाले कांग्रेस पार्टीको आधुनिकीकरणमा ठूलो छलाङ मारेका छन्। मिडियाका लागि कांग्रेसको यो कार्य महानतम् योगदान हो।’

पक्कै होला। मिडियाकर्मीहरूबाट गलत सूचना प्रवाहित हुनै सक्दैन। किनभने, फेसबुकको साख स्थापित छ। यी मिडियाकर्मीहरूले कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा कांग्रेसका प्रखर नेता बालकृष्ण खाँणलाई नेपालका नागरिकलाई भुटानी शरणार्थीको टोपी लगाइदिएर थुनामा राखेकोमा चित्त दुःखाएका छन्।

एकजना मिडियाकर्मी भन्दै थिए, ‘बालकृष्ण दाइ भागेर कतैजाने मान्छे त थिएनन् नि! उनलाई अनाहक थुनेर यत्रो घोर अन्याय किन गरियो?’

खाँणका पक्षमा उत्तर र दक्षिण दुवैतिरका मिडियाकर्मी लागेका छन्। किनभने, ‘बालकृष्ण’ दाइले सँधै मिडियाकर्मीलाई साथ दिनुभएको छ। देउवाले कलकत्तामा कांग्रेसका कार्यवाहक सभापति तथा क्रान्तिका कमाण्डर सुवर्ण शमशेरलाई भेटेर औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका थिए। कांग्रेससँग लसपसका माध्यम र प्रेरक थिए स्वर्गीय शिबबहादुर खड्का।

खड्का र देउवाको मित्रता अबिच्छिन्न थियो। सुवर्ण शमशेरको कलकत्तास्थित निवासमा उनको कांग्रेस प्रवेशका साक्षी दमननाथ ढुंगाना, नवीनजंग प्रकाश शाह र महेन्द्र थापा थिए। 

सुदूरपश्चिममा त्यतिखेर कांग्रेसका नेता खासै थिएनन्। उतिबेला कांग्रेस राजनीतिमा देउवाको प्रवेशले पश्चिमका तरुणहरूमा आशा जगाएको हो। त्यतिखेरका देउवा सहज र मिलनसार थिए। राजाका भारदारका रूपमा चिनिएका शेरबहादुर शाही लगायतका व्यक्तिरहरू देउवाप्रति सहानुभूति राख्थे।

भारदारहरुसँगको हिमचिम र उठबसले देउवाको मनस्थिति पनि भारदारी बन्यो। पछिल्लो समय अर्थात प्रजातन्त्रको पुनर्स्थापनापछि मात्र उनको चरित्रमा कुटिल-कला थपिएको हो। अहिले त उनी राजनीतिमा कठिन, अप्ठेरा र षडयन्त्रकारी खेल खेल्न माहिर छन्।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि स्वर्गीय खुमबहादुर खड्का गृहमन्त्रीका स्वाभाविक उम्मेदवार थिए। तर, कांग्रेस नेतृत्व उनलाई गृहमन्त्री बनाउन सहमत भएन।

किशुनजीले खड्काको सट्टा शेरबहादुर देउवालाई गृहमन्त्री बनाउन दवाव दिनुभएको थियो। उनी गृहमन्त्री पनि भए। तर, गृहमन्त्री भएपछि उनलाई सुशील कोइरालाले नचाउन थाले। सुशील कोइराला गिरिजाप्रसाद कोइरालालाई पनि नचाउने सामर्थ्य राख्थे।

अहिले चलिरहेको कांग्रेसको कार्य समितिको तमाशा अरू कति दिन जारी रहने हो भन्न सकिँदैन। अहिलेसम्म दुई भाउजु आरजु र मन्जुका बारेमा कुरा उठेको छैन। भूटानी धन्धा नराम्रोसँग एक्सपोज भए पनि ललिता निवास लगायतका धन्धाका अन्तरकुन्तर खोतल्न बाँकी नै छन्। भर्खरैको सुन काण्डको कथा त आफ्नो ठाउँमा छँदैछ।

कांग्रेसको राजनीतिमा कार्य समितिको चालु बैठकमा लेखिन लागेको रामायणमा कति काण्डको रचना हुने हो? त्यो पनि थाहा छैन। तर, २०४६ सालको पहिलो जन-आन्दोलनपछि अहिलेसम्म कांग्रेसको रामायणमा एउटा पनि ‘सुन्दर काण्ड’ लेखिएको छैन।

कांग्रेसको केन्द्रीय कार्यालयको परिसरमा एकजना कांग्रेस पक्षीय वरिष्ठ मिडियाकर्मी भन्दै थिए, ‘अहिले जुन-जुन काण्डका खुलासा भएका छन् ती काण्ड उप-प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नभएको भए खुलासा हुने थिएनन्। प्रचण्ड त यी काण्डहरू ‘एक्सपोज’ गर्ने पक्षमा नै थिएनन्।’

समझ सबैको आ-आफ्नै हुन्छ। ती कांग्रेसी वरिष्ठ मिडियाकर्मीले जसरी विषय बुझेका छन् त्यसरी नै रक्षामन्त्री खड्का र गृहमन्त्री श्रेष्ठले बुझेका छैनन्। प्रचण्डको स्वीकृतिविना खड्का र श्रेष्ठले मनोमानी कारबाही गरेको भ्रममा कांग्रेसीहरू रहनु अर्को रमाइलो भ्रम हो।

कांग्रेस कार्य समितिको बैठकलाई सभापति देउवाले स्वेच्छिक बनाइदिए। बालकृष्ण खाँणलाई निलम्बन गर्नुनपर्ने उनको आशयमा कार्य समितिको मौन सम्मति देखियो कि देखिएन?

जवाफ शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरूङहरूले दिउन्। कांग्रेसमा स्वार्थ त्यागको अलिकति पनि साहस छैन भने किन चाहियो त्यस्तो कांग्रेस?

यतिबेला नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको आशंका साँचो ठहरिएको छ। कांग्रेस पार्टी सुकिला-मुकिलाको कब्जामा गएको छ।

देश लोकतान्त्रिक समाजवादी संरचनामा जाला र ढुक्कले सुखी जीवन बिताउन पाइएला भन्ने निर्धन नेपाली जनताका आशा धूमिल भै सके। यो पृष्ठभूमिमा कांग्रेस कार्य समितिले के निर्णय गर्नेछ? भनेर सोच्नु नै मूर्खता हो।

कांग्रेसका कथित युवा नेताहरूको हृदयमा परिवर्तनको औडाह नै छैन। गगन थापाले पढे, लेखे, विद्वान भए, चतुर छन्। तर, उनी राजनीतिक खेलाडी होइनन्।

सामाजिक, आर्थिक लगायतका एजेण्डा बोकेर मीठो भाषामा प्रस्तुति दिनु एउटा कुरा हो। देशका जटिल समस्याहरूलाई केलाएर त्यसको राजनीतिक समाधान निकाल्न साहसका साथ अघि बढनु अर्कै कुरा हो।

गगनले चाहेको भए कार्य समितिको बैठकअघि देशभरिका कांग्रेसीहरूको घरदैलोमा पुगेर कार्यकर्ताहरूलाई उत्प्रेरित गर्नसक्थे। तर, उनमा नेतृत्वमाथि कब्जा जमाउने हुटहुटी नै देखिएन। सत्ताको तीव्र तृष्णा नै देखिएन।

महामन्त्री भएपछि उनी आफैँ पार्टीभित्रका सत्ताधारी बने। यो अवस्थामा उनले देउवाविरुद्ध देखाएको प्रतिपक्षी चरित्र ढोङ्गबाहेक अरु के भयो त?

कांग्रेस कार्यसमितिले यो कुरा बुझ्नुपर्दछ: यतिबेला उसको हातमा केही पनि छैन। केही नालायक सरकारमा पठाइएका छन्, जो सदनमा आफ्नै इतिहासकै बेइज्जती गर्दछन्।

केही लोभी, पापी र बेइमानहरूले नेतृत्वलाई घेरेर बसेका छन्, जसको व्यक्तिगत सम्बन्ध र पहूँच शेरबहादुर, शेखर, गगन, विश्वप्रकाश, धनराज लगायतका आफूलाई कांग्रेसका स्थायी स्तम्भ ठान्ने सबैसँग बराबर छ।

यो कुराको गम्भीर ज्ञान छ काठमाडौंका प्रभुद्ध वर्गलाई। संघ भनौँ, प्रदेश भनौँ, पालिका भनौँ- जे भने पनि राजनीति काठमाडौंमा केन्द्रित छ र काठमाडौं धेरै सानो छ।

५ साउन, २०८०, १८:३५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।