७३ वर्षीय ‘वेटर’ बासुदेव, जो सय वर्षकी आमा स्याहार्न पाउँदा ‌‍औधी खुसी छन्

७३ वर्षीय ‘वेटर’ बासुदेव, जो सय वर्षकी आमा स्याहार्न पाउँदा ‌‍औधी खुसी छन्

न्युरोड गेटभित्र छिरेर प्युखा टोलको लागि दायाँ पुग्ने बित्तिकै ‘नन्दन’ नामको रेस्टुराँ देखिन्छ।

दोश्रो तल्लामा रहेको साकाहारी भोजनालय जत्तिनै पुरानो ‘वेटर’ हुन्, बासुदेव महर्जन। अनुहारमा देखिएका बुढ्यौलीको रेसाहरूले उनलाई आराम गर्न भनिरहे पनि उनी भने मुसुमुसु हास्दै खुरुखुरु काम गरिरहन्छन्।

ग्राहक आउने बित्तिकै उनीहरूको नजिक गएर, ‘के ल्याउ?’ भन्दै पहिला एक गिलास पानी लगेर दिन्छन्। अनि अर्डर अनुसारको परिकार टेबलमा राखिदिन्छन्। बेला–बेला केहि चाहिएको छ कि भनेर सोधि पनि रहन्छन्। घर टेबल पुछ्ने, खाना लगिदिने, भाँडा उठाइदिने। यही काम दिनभर यता–उता गरिरहन्छन् उनी।

काठमाडौंको धेरै होटल तथा रेस्टुराँमा कम उमेरका वेटरहरू देखिरहेकाहरू बासुदेवलाई देख्दा दङ्ग पर्छन्। ‘यो उमेरमा अनि वेटर?’ भनेर हेरिरहन्छन्।

कसैले उनको उमेर सोध्यो भने हाँस्दै भन्छन्, ‘चिना हेर्यो भने ७३, नागरिकता हेर्यो भने ६८। त्योबेला पछिसम्म काम पाइन्छ भनेर उमेर घटाउने चलन थ्यो। मेरो २३ वर्षमा नागरिकता बनाएको। नागरिकतामै छ नि उमेर, हेर्ने हो!’

उनको काम देख्यो भने कसैले पनि सात दशक पार गरिसक्यो भनेर ठम्याउनै सक्दैन। उनले ‘नन्दन’मा काम गरेको करिब तीस वर्ष पुग्न लागिसक्यो। खान, बस्न रेस्टुराँले नै दिन्छ। त्यै भएर उनलाई ढुक्क छ। एकनासले काम गरिरहन्छन्। महिनामा एक पटक छुट्टी लिन्छन्। त्यो पनि आमा भेट्न जान।

उनी यति धेरै व्यस्त हुन चाहन्छन् कि बुढेसकालको ‘एक्लोपन’को महसुस नै गर्न नपरोस्। तर मनै त हो, कहाँ मान्छ र? एकछिन फुर्सद पाए कि अनेकथरी दिमागमा आइहाल्छ अनि ४५ वर्षअघि छाडेर गएकी श्रीमतीलाई सम्झन्छन्।

ज्यामी काम गर्दा घरमा पैसा देख्न पाइन्थ्यो
ललितपुरको सानो गाउँ भन्ने ठाउँमा जन्मिएका उनले अभावनै अभावमा बाल्यकाल बिताए। इमाडोलभन्दा अलि पर मात्र भए पनि कुपन्डोल, जावलाखेलतिरको जस्तो ‘विकास’ सानो गाउँमा अझै पनि पुगिसकेको छैन।

जेठो छोरा भएर जन्मिएपछि उनले निभाउने हरेक जिम्मेवारी अरुको भन्दा बढीनै हुन पुगे। दुई भाइ र बहिनीको जिम्मेवारी बुवाआमासँगै उनको काँधमा पनि आयो। गाउँमा स्कुल खुलिसकेको भए पनि पढाइबाट उनी टाढै रहनपर्यो। मौसम अनुसारको खेती गर्ने बाहेक उनको बाआमाले ज्यामी काम गर्थे।

उनको पढाइको कुरा पनि ननिस्किएको होइन। तर, ज्यामी काम गर्दा मात्र घरमा पैसा आउने भएपछि उनको ध्यान परिवार सम्हाल्नतर्फ गयो र ज्यामी काम गर्न थाले। सानो गाउँमै पनि फाट्टफुट्ट काम गरेका उनले काठमाडौंमा ‘ठूलो’ होटल बन्न लागेको थाहा पाएपछि कालीमाटी आए।

कालिमाटीकै नजिक सोल्टी होटल बनाउँदा उनले ज्यामी काम गरे। कलिलो ज्यानले भारी बोक्न सक्ने अवस्था थिएन। तर, पनि थोरै–थोरै गर्दै बोके। ज्याला हुन्थ्यो दिनको एक रुपैयाँ।

‘दिनको एक रूपैयाँ दिन्थ्यो। त्यो बेला कागजको पैसा समात्न पाउथेन। कोइन दिन्थ्यो। दुई महिना हो कि तीन महिना गर्यो। महिनाको ३० रुपैयाँ कमायो। धेरै दुःख भयो नि! तर, गाह्रो चाहिँ भएन। त्यो बेला तबल थ्यो। काम गर्छु भन्ने जाँगर थ्यो’, उनले मुकुराउँदै सुनाए।

त्यसपछि उनले केहि महिना ज्यामी कामनै गरे। सडक बनाउने कामहरू धमाधम भइरहेको हुँदा त्यतातिर पनि लागे। घरमा उनले कमाएको पैसाले पनि धेरैको आवश्यकता पूरा हुन थाल्यो। तर, त्यत्तिकैमा उनको बालाई के लाग्यो कुन्नि! फेरि उनको पढाइको कुरा निस्कियो।

‘ज्यामी काम गर्यो भनेर स्कुल पठाको बाले। पढ्नमा ध्यान नै छैन। ज्यामी काम गरेर पैसा कमाएको त्यसकै याद आउँछ, होइ। अनि म त नपढ्ने भनेर भागेर सहर आको’, उनले भने।

काम गर्न ‘सहर’ पसे
त्यसपछि उनी ‘सहर’तिर बरालिन थाले। न्युरोड, असनको कुनै गल्ली छैन, जहाँ उनले कामको लागि भौतारिन नपरेको होस्। केहि दिन त उनले सडकमै दिन-रात बिताए। अनि असनको सानो होटलमा काम पाए, भाँडा माझ्ने।

महिनाको डेढ सय कमाउँथे। त्यहाँ काम गर्दै जाँदा ग्राहकहरूसँग उनको राम्रो सम्बन्ध हुँदै गयो। धेरै ग्राहकले नै उनलाई कामको प्रस्ताव ल्याइराख्थे।

कुनैमा जान्थे। अनि कुनैमा भने सोचौँला भनेर टारिदिन्थे। सानो–सानो होटेलमा काम गर्दा–गर्दै उनले ग्राहकबाटै अन्नपूर्ण होटलमा पनि काम गरे। त्यहाँ उनले ग्राहकको सामान बोकिदिने, कोठा सरसफाइ गरिदिने र वेटरकै काम पनि गरे।

उनले सम्झिए, ‘१९७१(सन्)मा मैले त्यहाँ काम गरेको। दुई वर्ष गरेँ। त्यो बेलामा अहिलेको जस्तो फाइभ स्टार, थ्री स्टार भन्ने नै धेरै थिएन। त्यहाँ के–के गर्दा–गर्दा धेरै बेर गर्न पाइन है।’

ठमेलका पनि त्यसबेला लगभग प्राय सबै होटलमा उनले काम गरे। होटलमा काम गर्दा–गर्दै एकदिन उनको बाले उनलाई भेटे। त्यसबेला उनलाई खुब डर लाग्यो। तर, बाले केहि गरेनन्। घर बोलाए। उनि बासँगै गए।

‘धन्न त्यसबेला मेरो तलब आएको थ्यो है। अनि घर पुग्ने बितिकै बालाई पैसा हातमा हालिदिए। त्यसपछि त गाली खान परेन,’ उनले भने, ‘बाले ज्यामी काम गरेर पाउने पैसा भन्दा धेरै देखेर होला! बाले केहि भनेन। त्यसपछि घरमा आउजाउ गर्न थालेँ। तर, त्यसबेला देखिनै मैले सबै काममा खाने र बस्ने सुविधा पनि पाएको थिए।’

घरमा आउजाउ गर्न थालेपछि उनी दुई महिना बेरोजगार बसे। त्यो समय फेरि असन र न्युरोडको गल्ली नै घुम्थे। त्यसैबेला हो उनले अहिलेको रेस्टुराको साहुजी भेटेको।

उनले सम्झिए, ‘यता तिर घुम्न आएको बेला ठ्याक्कै भेटेको। मलाई पनि काम चाहिएको थ्यो। उसले पनि ल भोलिदेखि आइज भने। त्यसदेखि यतै छु।’

कामसँगको लगाव
अहिले उनलाई यहाँ ल्याउने साहुजीको मृत्यु भइसकेको छ। रेस्टुरा पनि अर्कैले किनिसक्यो। तर, उनी भने अझै पनि त्यहिँ छन्। उनलाई यहाँ अझै पनि आफ्नोपन महशुस हुन्छ रे।

आफ्नो जिन्दगीको उजागर समयहरू बिताएको भएर उनलाई यस रेस्टुरासँग छुट्टै आत्मियता पनि छ। उनलाई यहाँ ठ्याक्कै कुन सालदेखि काम गर्न बसेको भनेर थाहा छैन। तर, जे होस् कसैले सोध्दा तीस वर्ष हुन लाग्यो भन्ने गर्छन्।

उनले पहिलोपटक यहाँ काम गर्दा महिनाको एघार सय पाएका थिए। उनले कमाएको पैसामध्ये सबैभन्दा धेरै थियो। सुरुको दिनहरूमा बिहान तीन बजे नै उनी सानोगाउँ बाट हिँडेर न्युरोड आउने गर्थे।

‘जोस, जाँगर, आँट भनेको ठूलो कुरा रहेछ। काम त अहिले पनि गर्छु। तर, त्यस्तो जाँगर आउँदैन,’ बोल्दा बोल्दै उनी भावुक सुनिए।

उनी २५ वर्षको थिए, जब उनको विवाह भयो। तर, उनी त्यसबेला पनि खान र बस्न भने जहाँ काम गर्थे, त्यहि नै बस्थे। घर महिनाको एक दुई पटक मात्र जान्थे। काममा व्यस्त भएपछि उनि घरपरिवारलाई नै बिर्सन्थे। त्यो कुराले मनमुटाव मात्र भएन एक वर्षमै श्रीमतीले छाडिन्।

‘त्यसपछि उसले पनि वास्तै गरेन। मैले पनि वास्तै गरिन। अनि अर्को बिहे गर्ने भन्नेनै पनि लागेन,’ उनले सुनाउँदै गए, ‘घरमा आमाले पनि खुब गाली गर्यो। अब त्यसबेला होस् भन्ने लाग्यो। अहिले भने मैले फर्काएर ल्याएको भए हुने भन्ने लाग्छ। त्यो बेला परिवारको यस्तो खाँचो पर्छ, महत्व हुन्छ भन्ने पनि भएन। तर, अहिले चाहिँ मेरो पनि परिवार भएको भए हुने जस्तो लाग्छ नि!’

अहिले उनको एउटा मात्र बहिनी र बुवा बितिसके। घरमा भाइ–बुहारी र आमा छिन्। सय वर्षको आमासँग बस्न पाएकोमा उनी असाध्यै खुशी छन्।

‘आमा सय वर्षको भए पनि कहिले माइला भाइकोमा जान्छ। कहिले कान्छो भाइकोमा जान्छ। म पनि आमा जता गयो त्यहिँ जान्छु,’ उनले भने।

बासुदेवले आफ्नो कमाइ दुवै भाइलाई दिने गरेको पनि बताए। दुवै भाइको परिवार भएको कारण उनीहरूको आ–आफ्नो घर छ भने बासुदेवको भागमा केहि पनि छैन। त्यै भएर पनि उनी बेला–बेला आमा भेट्न मात्र जाने गर्छन्।

‘जिन्दगी भनेकै एक छाक भोकै नहुनु रहेछ’
आमालाई कृत्रिम अक्सिजन दिनुपर्ने भएको कारण उनी कामपछि सबैभन्दा धेरै समय आमासँग बिताउन रुचाउँछन्। आमाको लागि औषधिको लागि खर्च जुटाउनको लागि पनि उनलाई धेरै भन्दा धेरै काम गर्न मन छ। आमा भेट्न जाँदा सधैँ मिठाइ लगेर जान्छन्। आमाकै वरपर बसिरहन्छन्।

उनले आफ्नो दुइटै भाइलाई पनि होटलमा काम लगाइदिएका थिए। एउटालाई नाङ्लो र अर्कोलाई याक एण्ड यतिमा। अहिले दुवै जना सेवानिवृत्त भएर बसेका छन्। तर, उनी आफैँ भने अझै पनि काम गरिरहेका छन्।

अहिले पनि ग्राहकले उनलाई अन्य ठाउँमा कामको प्रस्ताव लिएर आइरहन्छन्।  तर  उनलाई अर्को ठाउँमा जान मन छैन।

‘अब अर्को काम गरौँ जस्तो लाग्दैन। कति गर्ने है। जिन्दगीभर कामनै कति गर्ने जस्तो लाग्छ’, उनले मसिनो आवाजमा भने, ‘काम गर्न जानेको नै यत्ति हो। यहाँबाट अहिले नै नानिकाल्ला नि! पछिसम्म काम लगाउला नि! भगवान जानु। अहिलेसम्म निकाल्ने भन्ने पनि छैन। सबै काम गर्छु नि त! आफ्नै पसल जस्तै सोचेर बसिराछु।’

उनको लागि जिन्दगी भनेको एक छाक भोकै नहुने हो। त्यै भएर पनि आफ्नो काम र जिन्दगीबाट धेरै गुनासो छैन उनलाई।

‘बिरामी नहोस्, हातखुट्टा चलुन्जेल सम्म काम गर्न पाओस्। पहिला पढेको भए चाहिँ हुन्थ्यो भन्ने लाग्छ। अब अहिले याद भएर पनि के गर्ने?’, उनले हाँस्न खोज्दै भने।

साउन १, २०८० सोमबार १७:३२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।