गण्डकीमा किसानलाई रासायनिक मल अभाव नहुने, नातावाद र पहुँचका आधारमा नबाँडिने

गण्डकीमा किसानलाई रासायनिक मल अभाव नहुने, नातावाद र पहुँचका आधारमा नबाँडिने

पोखरा : गण्डकी प्रदेशमा यस वर्ष किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको जनाइएको छ।

बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने बताएको हो। 

कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डीएपी २१ टन र युरिया पाँच टन गोदाममा छ। थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए। 

यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए। धान लगाउने समयमो छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डीएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो। 'तत्काललाई मलको समस्या देखिएको छैन। अब युरिया मल आवश्यक पर्ने समय आउँदैछ', उपाध्यक्ष सापकोटाले भने, 'युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन तर, अहिलेसम्मलाई समस्या छैन।' 

गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डीएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए। 

यीमध्ये कास्कीमा एक हजार टन, डीएपी पाँच सय टन र पोटास ५० टन आवश्यक रहेको उनले बताए। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया ६ सय टन, डीएपी तीन सय टन र पोटास २१ टन आइसकेको छ। सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले जानकारी दिए। 

अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले बताए। उनले भने, 'सहकारी संस्था र कृषि सामग्री बिक्रेताको माग त ठूलो छ। उहाँहरूका मागअनुुसार त पुर्याउन सकेको छैन तर चित्त बुझाएको छु।' मल अभाव हुन नदिनका लागि नातावाद र पहुँचका आधारमा नबाँडी दामासाही ढंगले सहकारी संस्था र कृषि सामग्री बिक्रेतालाई दिएको उनले सुनाए। 

२८ असार, २०८०, ०९:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।