पलको मुद्दाको अवस्था : तनहुँको सफाइविरुद्ध उच्चमा विचाराधीन, नवलपुर मुद्दामा उच्चको सफाइविरुद्ध पुनरावेदनका लागि निवेदन

पलको मुद्दाको अवस्था : तनहुँको सफाइविरुद्ध उच्चमा विचाराधीन, नवलपुर मुद्दामा उच्चको सफाइविरुद्ध पुनरावेदनका लागि निवेदन

काठमाडौँ : एक टेलिभिजन कार्यक्रममा नाबालिग बलात्कार अभियोगमा एक वर्ष जेल बस्दाको अनुभव सुनाउँदा अभिनेता पल शाह विवादमा तानिए।

आलोचना भएपछि कान्तिपुर टेलिभिजनले यूट्वमा राखेको भिडियो नै हटायो। भिडियो हटेपछि शाहले फेसबुकमा लामो सन्देश लेख्दै प्रश्न सोधे अदालतबाट 'सफाइ' पाइसकेपछि पनि मैले निधारमा 'म बलात्कारी हुँ' लेखेर हिँडौँ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ?'

उनले सफाइ शब्दलाई कोष्ठकभित्र राखेका थिए। अदालती प्रक्रियामा तल्लो अदालतबाट सफाइ पाउँदैमा मुद्दाको सबै प्रक्रिया सकिँदैन। जिल्लाको उच्चबाट र उच्चको सर्वोच्चबाट समेत सदर भएमा मुद्दा सकिन्छ। तल्लो अदालतबाट फैसला भएपछि हदम्यादभित्रमा सरकारी वकिलको कार्यालय वा सम्बन्धित पीडित पक्ष पुनरावेदनमा नगएमा भने जिल्लाबाटै मुद्दा सकिन्छ।

गम्भीर अभियोगमा एक वर्ष जेलमा बसेका उनी विरुद्ध नाबालिग बलात्कारको अभियोग भए पनि जिल्ला अदालत नवलपुरले मागदावी नै नलिएको बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद हुने सजाय सुनाएको थियो। उच्च अदालत पोखराबाट फैसला उल्टियो। उता थुनछेकको आदेशमा विभिन्न आधारहरू टेक्दै पुर्पक्षमा राख्ने आदेश आएको जिल्ला अदालत तनहुँले त पूर्ण रूपमा सफाइ नै दिएको थियो।

पलको मुद्दाको अवस्था के छ अहिले?
उच्च सरकारी वकिल कार्यालयका प्रमुख नारायण बहादुर थापाका अनुसार तनहुँ जिल्ला अदालतले नाबालिग बलात्कारमा दिएको सफाइको फैसलाविरुद्ध शाह विरुद्ध उच्च अदालत पोखरामा मुद्दा विचाराधीन छ। 

उच्च सरकारी वकिलको कार्यालयले वैशाख २७ गते नै फैसलाको विपक्षमा पुनरावेदन मुद्दा दर्ता गराएको थियो।

‘जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अभियोजन गरेबमोजिम जिल्ला अदालतबाट फैसला नआएपछि उताबाट मस्यौदा आयो। सोही मस्यौदा अनुसार हामीले वैशाख २७ गते नै मुद्दा दर्ता गर्यौ,’उनले भने, ‘मुद्दा विचाराधीन छ। पेशी भने चढेको छैन।’

उच्च अदालत पोखराका सूचना अधिकारी एवं उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले मुद्दा दर्ता भएको पुष्टि गर्दै अदालतले आन्तरिक काम गरिरहेको बताए।

‘मुद्दा दर्ता भइसकेको छ,’उनले भने, ‘आन्तरिक काम हुँदैछ।’

जिल्ला अदालत नवलपुरले बलात्कार भएको भन्न सकिने अवस्था नभएको तर बाल यौन दुरुपयोग गरेको देखिएको भन्दै गरेको फैसलाविरुद्ध पल पक्ष उच्च अदालत पोखरामा पुनरावेदनमा गएका थिए।

पुनरावेदनमा उच्चले नवलपुरले बाल यौन दुरुपयोग गरेको भन्दै ठहर्याएको कैद सजाय उल्टाउँदै सफाइ दिएको थियो।

उच्च अदालतको फैसलाविरुद्ध उच्च सरकारी वकिल कार्यालयले असार २६ गते महान्यायाधिवक्ता मुद्दा दोहोर्याई पाऊँ भन्ने अनुमतिको लागि पत्र पठाएको छ।

पत्र पठाएको ३५ दिन भित्र महान्याधिवक्ताले मुद्दा चलाउने की नचलाउने निर्णय गर्न सक्छ। यदि महान्याधिवक्ताले उच्चको आदेश विरुद्ध सर्वोच्चमा जाने निर्णय गरे नवलपुरले फैसला सदर गर्न माग गर्दै उच्च सरकारी वकिलले सर्वोच्चमा पुनरावेदन हाल्न सक्नेछन्।

उच्च अदालत पोखराको फैसलाविरुद्ध पुनरावेदन जाने या नजाने निर्णय भइसकेको छैन।

नवलपुर जिल्ला अदालतको फैसला नै त्रुटिपूर्ण देखिएको थियो। फैसलामा स्वास्थ्य परीक्षणमा कन्या जाली च्यातिएको देखिएको तर बलात्कारबाट मात्रै कन्याजाली नच्यातिई साइकल चलाउँदा पनि च्यातिन सकिने उल्लेख गर्यो।

यौन सम्बन्धबारे भएको कुराकानीको अडियो पलकै हो भन्ने प्रमाणित भएको तर त्यसले मात्र बलात्कार भएको भन्न नसिकिने भन्दै बलात्कारको अभियोगमा सफाइ दिँदै त्यही अडियोको संवादलाई प्रमाण मानेर बाल यौन दुरुपयोगमा भने साढे २ वर्ष कैद सजाय तोकेको थियो।

सम्बन्धित समाचार

२६ असार, २०८०, १५:१८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।