३२ वटा ट्याक्सीसँगै काठमाडौं भित्रिएका तपनलाई माओवादी सशस्त्र द्वन्द्वले साहुजी बनायो

३२ वटा ट्याक्सीसँगै काठमाडौं भित्रिएका तपनलाई माओवादी सशस्त्र द्वन्द्वले साहुजी बनायो

तपन चक्रवर्ती कुलेश्वरको एक ग्यारेजका पुराना मिस्त्री हुन्।

३५ वर्षको करिअरमा 'साहुजी' भनेर उनी चिनिएको धेरै भएको छैन। सन् १९९६ मा सिलिगुडीमा काम गर्दै गर्दा उनी ३२ वटा 'क्याब'(ट्याक्सी) सहित काठमाडौँ भित्रिएका थिए। 

नेपालमै गाडीको चाप कम भएका बेला यससम्बन्धी काम गर्ने मिस्त्री कम हुनु स्वाभाविकै थियो। सिलिगुडीमा गाडीको मिस्त्री भएर काम गरेको ७ वर्ष मात्र भएको थियो। त्यसैबेला काठमाडौँका एक मारवाडी भारत पुगे। 

क्याबको प्रयोग सिलिगुडीमा धेरै हुन्थ्यो। भारतबाट क्याब ल्याए पनि मिस्त्री त चाहिन्थ्यो नै। त्यसै समयमा क्याब अनि तपनसँगै चार जना जना मिस्त्री काठमाडौँ आए। 

३२ वटा गाडीको जिम्मा चार जना मिस्त्रीको भागमा पर्यो। काठमाडौँबारे धेरै सुनेका तपनलाई नजिकै लाग्थ्यो। तर, जब जाने प्रस्ताव आयो, त्यसपछि निकै टाढा भएको उनले थाहा पाए। तपनले घर सल्लाह गरे। घरबाट त्यति टाढा नजान सुझाव दिए। फेरि काठमाडौँमा न आफन्त थिए, न यसअघि कहिल्यै देखेको। र पनि उनले काठमाडौँ जाने सुर कसे। उनीसँग अरू साथीहरू पनि आए। 

'ठिक छ मलाई लिएर जानू, तर त्यता केही अफठ्यारो भयो भने मलाई घरमा पुर्याइदिनुपर्छ। भाडा सबै तपाईंले नै तिर्नुपर्छ भनेँ,' तपनले भने, 'साहु मन्जुर भयो अनि यहाँ आएँ।'

उनलाई यहाँ आउँदा असाध्यै जाडो लागेछ। भाषामा पनि समस्या नभएको होइन। बस्न मन नलागेपछि उनले फर्किने विचार पनि बनाए। 'छ महिना बसेपछि यहाँ म बस्दैन भनेर साहुलाई भनेको थियो। तर, साहुले भन्यो 'सब ठिक हुन्छ बानी नभएर हो,' उनले सुनाए। 

खाना बस्न सुविधा भने उनलाई साहुले नै मिलाइदिएका थिए। बाटोमा गाडी धेरै नकुदे पनि ग्यारेजमा भएको गाडी बनाउन नै उनीहरू व्यस्त हुन थाले। घुम्न जाने भए त्यही ट्याक्सीमा जान पनि पाउँथे। घरमा फोनमार्फत सम्पर्क गरिरहन्थे।

उनी खाएर, बसेर महिनाको तीन हजार तलब बुझ्थे। त्यति भए पछि भने उनी यहीँ रम्न थाले। 

मारुती गाडी देखेपछि...

कोलकत्तामा जन्मिएका तपनको मामाघर सिलिगुडी हो। ठूलो परिवारसँगै कमजोर आर्थिक अवस्थाका कारण उनी मामाघर बस्न पुगेका थिए। उनले पढ्न पनि पाएनन्। मामाको किराना पसलमा उनी सघाउँथे। अनि मामाले पनि विभिन्न काममा लगाइराख्थे। तर, उनलाई त्यत्तिकै पसलमा बस्न मन पनि लागेन। 

'आफ्नै काम गर्छु। सीप सिक्छु भन्ने भयो। मारुती गाडी भर्खर भर्खर आएको थ्यो। त्यो राम्रो लाग्यो के,' उनले मिस्त्री बन्ने इच्छा जागेको पल सम्झिए, 'त्यो गाडी हेरेको। फ्याट्ट ढोका खुल्छ। फ्याट्ट बन्द हुन्छ। एकदम राम्रो लाग्यो। भर्खर आएको भ्यान, प्लेनभन्दा कम लागेन।'

अनि उनी नजिकैको वर्कशप गए। 'तिम्ले कहाँ सिक्न सक्छ' भन्यो,' नजिकैको वर्कशपमा जाँदा आफूलाई सञ्चालकले भनेको बेलिवस्तार लगाए,' पसलमा पंखाको मुनि बसेर व्यापार गर्ने मान्छे यसरी दुःख गरेर बस्ने काम सक्दैन। ग्यारेजमा दुख छ भन्यो।' 

उनले त्यहाँ काम सिक्न पाएनन्। त्यसपछि अर्कोमा गए। त्यहाँ भने उनलाई राखियो। काम सिक्न झन्झट त थियो, तर पछि रमाइलो मान्दै गए। हप्ताको एक सय पचास रुपैयाँ कमाउन पनि थाले। जुन साबुनको खर्चमै जान्थ्यो। ग्यारेजमा काम गर्दा पेट्रोल, डिजेल चलाउँदा, त्यहाँको मेसिन मर्मत गर्दा कपडा र जिउ सफा भएको उनलाई याद छैन। 

त्यहाँ (सिलिगुडी) काम गर्दागर्दै उनी यहाँ (काठमाडौँ) आएका हुन्। अहिले विशेषगरी उनले इन्जिनको काम गर्छन्। काठमाडौँ आएको १६ वर्षसम्म उनले त्यही मारवाडी साहुकोमा काम गरे।

त्यसबीचमा उनले धेरै अनुभव बटुले। ड्राइभरहरूसँग चिनजान गरे। चारमध्ये सिनियर भएर काम गरे। सबै कुरा सम्हाले। व्यवस्थापनबाहेक काममा उनी नै साहु थिए भन्दा हुन्छ। 'आफू ठिक भएपछि साहु पनि ठिक नै हुने रहेछ,' उनले हास्दै सुनाए। 

माओवादी आन्दोलनका कारण साहुजी बने

त्यो कम्पनी छोड्ने उनले सोच बनाएका थिएनन्। तर, त्यसै बेला माओवादी आन्दोलन सुरु भयो। ट्याक्सी ड्राइभरहरू धमाधम माओवादीमा सामेल हुन थाले। ड्राइभर नभएपछि व्यापारमा कमी आउन थाल्यो। साहुले हरेश खाए। सबै ट्याक्सी एकै पटक बेचिदिए। कम्पनी नै बन्द भयो।

गाडीबाहेक ग्यारेजमा सबै सामान त थियो नै। त्यसैबेला तपन र उनका साथीलाई त्यो प्रयोग गर्ने भए गर भानिदिए। तीन महिनाको भाडा पनि लिएनन्। अनि सामान पनि त्यत्तिकै दिए। 

'हामी जाने ठाउँ थिएन। अर्को काम आउथेन। साहुले सबै सामान दिँदा त अफिस नै मेरो भयोभन्दा पनि हुन्छ। मेशिन, सामान सबै त्यत्तिकै दियो। हामी मिलाएर चलायो।  लगानी त केही गर्नै परेन,' उनले नरोकी भने।

ड्राइभरहरूसँग चिनजान भएका कारण उनलाई ग्राहकको कमी भएन। केही वर्ष त्यहीँ नै वर्कशप चलाए। पैसा जमाए। अनि त्यो जग्गा साहुले नै लिएपछि नजिकैको खेत भाडामा लिएर टहरा बनाए। 

'यहाँ त खेत थ्यो। खाल्डो थ्यो। तीन टिपर ढुंगा माटो खसाएर यति गरेको। एक डेढ लाख खर्च गरेको। हामी आफै बनाको। कुनै मिस्त्री लगाएको छैन,' उनले भने।

आफै साहुजी भएर ग्यारेज चलाउन थालेको नै अब १६ वर्ष भइसक्यो। केही साथीहरू छुटेर गए। एकजना भने अझै साथमै छन्। अहिले पनि धेरैजसो हुण्डाई र मारुती मात्र मर्मत गर्ने गर्छन् उनी। कारण त्यो मर्मत गर्न सजिलो छ। अनि त्यसको सामान पनि सस्तो। 

उनलाई मर्मत गर्न सबैभन्दा गाह्रो लाग्ने चै फोर्ड र टाटाको गाडी रहेछ। मारुतीभन्दा ठ्याक्कै उल्टो। बनाउन पनि गाह्रो। अनि सामान पनि हत्तपत्त नपाइने। पाइहाले पनि महँगो पर्ने। भन्छन् 'त्यसैले त मार्केटमा टाटा र फोर्डको गाडी कम गुड्छ। बलियो त बलियो छ, तर बिग्रेपछि गाह्रो हुन्छ के।'

अहिले आफ्नो ग्यारेजमा उनले चार जना स्टाफ राखेका छन्। वरपर तान्ने ग्यारेज खुलेका छन्। त्यो क्षेत्र नै ग्यारेको क्षेत्र भन्दा पनि हुन्छ। 

उनको ग्राहक आउने समय भने सधैँ एकैनासको हुन्छ। बिहान ८-९ बजे, अनि दिउँसोको १२-१ बजे। सिजनअनुसार दशैँ अगाडि र पछाडि। किनभने त्यस समय उपत्यकाबाहिर धेरै गाडी जान्छन्। र बजारमा पनि नयाँ गाडी आउँछ। त्यसपछि भने दशैँमा गाडीहरू भित्रिने बेला। बाँकी समयमा भने हल्काफुल्का मात्र। 

'मिहेनत गरे, त्यही दालभात खायो, बाचिरह्यो, त्यति हो'

अहिलेको परिस्थितिअनुसार काम गर्न गाह्रो भएको उनले अनुभव गरेका छन्। 'तीन चार महिना भयो। गाडीको काम नै बन्द भइरहेको छ। मार्केटमा काम नै कम छ। कसैसँग पैसा छैन भन्छ। गाडी किनबेच भए पो हाम्रो काम हुन्छ। गाडी किनबेचको परिस्थिति नै छैन। अहिले पुरानो ट्याक्सी हटेको कारण पनि काम कम छ। नत्र खाएर पिएर, बच्चाहरू पढाएर। राम्रै दालभात खाने अवस्था थ्यो। तर, अहिले गार्हो भइसक्यो,' बोल्दा बोल्दै उनले अँध्यारो अनुहार पारे।

'कोभिडपछि पनि अलि अलि ठिक नै थ्यो। तर, दशैंपछि त्यस्तो छैन। मान्छे भन्छ चुनाव पछि ठिक हुन्छ। तर, ठिक भएन। कोभिडको बेला घर गएको। १० महिना उतै बस्यो। यता स्टाफ हरू थ्यो। घाटा खायो। साहुले छुट दिएन। साहुले एउटा छुट दियो कि अहिले नै दिन पर्दैन। तर, दिन चै पर्छ,' उनले थपे। 

उनको परिवार पनि केही समय अघिसम्म सँगै थिए। तर, बच्चाहरूको पढाइका लागि भनेर सिलिगुडी नै गए। उनका दुइ छोरा छन्। काम पर्दा र खासगरी चाडको समयमा उनी घर जान्छन्। अझै पनि त्यहाँ छोरी मान्छेले घर बाहिरको काम गर्ने वातावरण बनिसकेको छैन। त्यै भएर उनकी श्रीमती घर र बच्चाको स्याहारमै व्यस्त छिन्। 

आफ्नो काम गर्दा फाइदा हुने भए पनि अरूको काम गर्दा चै सजिलो हुने उनले अनुभव गरेका रहेछन्। 'अहिले आफ्नो काम गरेपछि हामी टेन्सनमा पर्यो। काम नभएपछि कसरी भाडा तिर्ने। कसरी खाने। कसरी पैसा दिने। अरूको काम गर्दा त्यो टेन्सन चै नहुने रहेछ। महिना पुगेपछि पैसा आउँथ्यो। तर, आफ्नो काम भनेको चै मिहिनेत गरेअनुसार पाइने रहेछ। साहुको काम गर्यो भने त त्यो त साहुले पायो नि त।' 

उनी सकेसम्म यही कामलाई निरन्तरता दिन चाहन्छन्। 'मिहेनत गरे। लेकिन केही गर्न सकेको छैन। त्यही दालभात खान मात्र पुग्यो। बाचिरह्यो त्यति हो। छोराहरू ठूलो भएपछि केही गर्ला नि, तिनीहरूको भरमा बस्नुपर्ला,' उनले भने।

असार २५, २०८० सोमबार १२:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।