नागरिकता पाएपछि दंग

नागरिकता पाएपछि दंग

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का गनेश धोबीको आइतबार चमकधमक अर्कै थियो। 

व्यक्त नगरे पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उनको मुहारमा खुसी प्रस्टै देखिएको थियो। कारण, उनले नागरिकता पाउँदै थिए।

२०६३ पुस १० मा जन्मेका उनले बुवाआमाको नागरिकता भएर पनि नागरिकता पाउन सकेका थिएनन्। तर आइतबार उनले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नागरिकता लिए। 

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएन। यससँगै संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको हो।

‘नागरिकता नहुँदा धेरै समस्या थियो। अब नागरिकता भए पनि अब धेरै कामका लागि सहज हुन्छ। सरकारले नागरिकता दिने गरी कानुन ल्याएपछि नागरिकता प्राप्त गरे। खुसी छु’, उनले भने। 

सिद्धार्थनगर-४ कै साबिर अली तेलीले पनि आइतबारै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए। नागरिकता लिएपछि भावुक हुँदै भने,‘बल्ल नेपाली नागरिक भएको महसुस भएको छ।’

२०६० पुस ४ गते जन्मेका तेलीले अब नागरिकता प्राप्त गरेपछि आफ्नो नाममा बैंक खाता खोल्नेदेखि रोजगारीका लागि विदेश जान सहज हुनेसम्मका योजना सुनाए। ‘अब नेपाली नागरिक भएको छु। अब जहाँ जानु परे पनि सजिलो हुन्छ’, उनले भने। 

सिद्धार्थनगर-४ कै दीपक धवलले पनि आइतबार नयाँ कानूनअनुसार नागरिकता लिए। धवलले नागरिकता प्राप्त गरेपछि निकै खुशी भएको बताए। 

२०६३ सालमा जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि वशंजका आधारमा नागरिकता दिन सुरु गरेको हो। 

आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३ जनालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै नागरिकता वितरण कार्यको शुभारम्भ गरेका थिए। 

जन्मका आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई वशंजका आधारमा नागरिकता वितरण सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए। 

जिल्ला प्रशासन कार्यालय भैरहवाबाट २ सय, इलाका प्रशासन कार्यालय बुटवल र मझगावाबाट १-१ सय गरी दैनिक ४ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिने र यो कार्यलाई निरन्तरता दिँदै जाने बताए।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले स्थानीय तहका जनप्रतिनिधिका लागि अनुशिक्षण कार्यक्रम राखिसकिएको बताए।

११ असार, २०८०, ०९:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।