नक्कली शरणार्थी प्रकरणमा थुनामा गएका टोपबहादुर र खाँण एकै भवनमा, टेकनाथ र टेकनारायणलाई अलग भवनमा

नक्कली शरणार्थी प्रकरणमा थुनामा गएका टोपबहादुर र खाँण एकै भवनमा, टेकनाथ र टेकनारायणलाई अलग भवनमा

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा जोडिएर थुनछेक आदेशमा थुनामा पुगेकाहरू केन्द्रीय कारागारमा राखिएको छ। उच्चपदस्थहरूलाई डिल्ली बजारमा राख्ने तयारी भएको थियो। अन्त्यमा सबैलाई एकै कारागारमा राखियो। तर भवन भने फरक छ।

काठमाडौँ जिल्ला अदालतले शुक्रवार १८ प्रतिवादीमध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। आदेश अनुसार थुनामा गएका आठ जनालाई केन्द्रीय कारागारको भद्रबन्दी गृहमा र आठ जनालाई केन्द्रीय कारागार भवनमा राखिएको हो।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, समसेर मियाँ, सन्दीप रायमाझी र आङटावा शेर्पा भन्द्रबन्दी गृहमा पुगेका छन्।

पूर्व गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको भवनमा राखियो।

दुबैपक्षको बहस सकिएपछि शुक्रवार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले पक्राउ परेका १८ अभियुक्तमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा छाड्न आदेश दिँदै बाँकी १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो। यो प्रकरणका १२ अभियुक्त फरार छन्।

पोलिएका रामबहादुर थापा बादल, उनको श्रीमती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको संलग्नताबारे प्रहरीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।

१ असार, २०८०, २१:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।