हिजोका कुरामा ध्रुपद गायक विशाल भट्टराई : तेजप्रसादसँग किनेको त्यो मुरली

हिजोका कुरामा ध्रुपद गायक विशाल भट्टराई : तेजप्रसादसँग किनेको त्यो मुरली

ललितपुरको भैंसीपाटीस्थित मगर गाउँमा गुरुकुल स्थापना गरी ध्रुपद गायन सिकाइरहेका छन् ध्रुपद गायक विशाल भट्टराईं।

भारत, भोपाल सहरस्थित डागर घराना गुरुकुलमा ध्रुपद सिकेका विशालले आफूसँगै सिकेका जापनिज गुरु भाइ इनोउवेसँग मिलेर नेपालमा ध्रुपद सिकाउने ध्येयले गुरुकुल खोलेका हुन्। 

ध्रुपद गायन भन्नासाथ सीमित जाति र त्यसमा पनि महिलाले सिक्न नहुने धारणा थियो। तर विशालले भारतको गुरुकुलमा बसेर सिकेपछि त्यो धारणामा सत्यता नभएको पाए।

५ सय वर्षदेखि ध्रुपद गाउँदै, सिकाउँदै आएका डागर घरानाका विशाल २१औं पिँढी हुन्। पहिलो पटक डागर घरानाले आफ्नो घराना बाहिर आएर ध्रुपद गायन सिकाउन सुरु गरे। त्यसअघि आ-आफ्नो घरभित्र मात्रै सिकाउने चलन थियो। त्यो गुरुकुलमा महिलाले पनि ध्रुपद सिक्छन्।

विशालका उस्ताद (गुरुको गुरु) मुस्लिम हुन्। उनका गुरुजी जैन, साथी जापनिज बुद्धिस्ट र विशाल भने हिन्दु। विशाल भन्छन्, 'राजतीति गर्नेले मात्रै जात, धर्मको कुरा गरेर हिंसा खोज्छन्। संगीतमा त समभाव मात्रै हुन्छ।' 

भारतीय क्लासिकल संगीत अहिलेको अवस्थामा आउनमा मुस्लिम उस्तादहरुको योगदान रहेको उनको भनाइ छ। भारतमा ध्रुपद गाउन डागर ( मुस्लिम) घरानाले नै जगेर्ना गरिरहेको छ। शिवको पद, देवी-देवताको पद आँखा चिम्म गरेर गुरुजीहरु गाउनुहुन्छ। सुफिजम, बुद्धिजम, हिन्दुजमका कुराहरु छन् ध्रुपदमा। सधैं र सबैको संगीतको दर्शन पनि हो, ध्रुपद।

नेपालमा ध्रुपद गायनलाई युवा पुस्तामाझ पुर्या,उन प्रयासरत गायक विशाल स्याङ्जाको चापाकाेटमा जन्मेका हुन्। तर उनको बाल्यकाल भने बुटवलको पश्चिम पहुनी गाउँमा बित्यो। उनको घर र मावली घर तिलोत्तमा खोलाको वारि र पारि पर्थ्यो। उनी आमा र मामासँग बढी नजिक थिए।

उनलाई लाग्छ, उनी आमा तथा मामामा भएको संगीतको चेतनाले उनी प्रभावित रहेछन्। उनका मामालाई गाउँभरिका मान्छेहरु राधेश्याम भनेर चिन्थे। गाउँमा कसैको पूजाआजा भयो कि उनैलाई बोलाउँथे। विशालले धेरै पूजाआजामा मामाले भजन-कीर्तन गरेको सुनेका थिए।

हरेक साँझ मामाको टोलीबाट अखण्ड कीर्तन हुन्थ्यो। त्यो कीर्तन खोलापारिसम्म मजाले सुन्निन्थ्यो। विशाल र उनकी आमा मामाले गरेको कीर्तन सुन्दै बस्थे। बिदामा मावली पुग्दा उनी सिधा मामाकै संगीत कोठामा हानिन्थे। जहाँ मामाले पुरानो बाकसभित्र सजाइराखेको हार्मोनियम, खैजुर, मजुरी हेरेर मख्ख पर्थे। उनी कोठामा बसेको चाल पाउनासाथ मामा आएर गीत, भजन गाएर सुनाइहाल्थे। 

विशालकी आमा पनि गाउँमा कसैको विवाह भयो कि मावल गाउन पुग्थिन्। मावल गाउनमा प्रख्यातै थिइन्, उनकी आमा। मावल गाउने चलन स्याङ्जा, गुल्मीतिरको चलन हो। यो दुलाहाको घरमा दुलही लिन निस्कनुअघि आमाले छोरालाई सलले ओढाएर दही खुवाउँदा गाउने गीत हो। जसमा आमाको इमोसन मज्जाले पोखिएको हुन्छ। 

विशालकी आमाले मावल गाउँदा जम्मा भएका सबै महिलाहरु इमोसनल भएर रुन्थे। उनलाई आमाले गाएको मावल स्टोरी टेलरिङ जस्तै लाग्थ्यो रे। उनकी आमाले अहिले पनि तीज गीत र मावल गाउँछिन्। 

०००
पाँच कक्षा पढ्दा उनका साथीहरु भविष्यमा डाक्टर, इन्जिनियर बन्छु, पुलिस बन्छु भन्थे। तर विशालको मन मस्तिष्कमा भने केही बन्ने सोच नै बनेको थिएन।

५ कक्षाकै कोर्षको किताबमा नारायणगोपालको जीवनी पढ्नु पर्थ्यो। त्यो जीवनी दोहोर्यापएर पढेपछि उनले संगीत क्षेत्र त राम्रो रहेछ, यतै लाग्छु भन्ने सोच बनाए।

सहपाठी तेजप्रसाद पाण्डेलाई उनकी आमाले मेलाबाट मुरली किनेर ल्याइदिएकी रहिछन्। तेजप्रकाशलाई पढ्न मात्रै रुचि भएकोले त्यो मुरली विशालले किने। त्यही मुरलीबाट विशालको सांगीतिक प्राक्टिस सुरु भयो। 

६ कक्षामा पढ्दा विद्यालयको सांस्कृतिक कार्यक्रमको लागि रिहर्लसल सुरु हुँदै थियो। पढिरहेका विशालको कानमा मुरलीको धुन ठोक्कियो। ट्वाइलेट जाने बहानामा उनी निस्किए। त्यहाँ उनले आफूलाई मुरली सिक्ने इच्छा रहेको बताएपछि २/३ वटा धुन सिकाए।

उनी कक्षा आठमा पढ्दा सामुदायिक रेडियो लुम्बिनी सुरु भयो। जहाँ बाल कार्यक्रममा विशाल भाग लिन पुग्थे। तत्कालीन स्टेसन म्यनेजर लेखनाथ ज्ञवालीले उनलाई बाल गीतहरु गाउन दिन्थे। उनको आवाज मसिनो भएकोले विज्ञापनमा महिला स्वरमा बोल्न र गाउन लगाउँथे। रेडियोमा गीतहरु बजेपछि टोल-छिमेकमा विशालले गाएको भनेर चिन्थे, उनी दंग पर्थे।

एसएलसीपछिको बिदामा आमासँगै बुटवलमा आएर बागेश्वरीमा संगीत सिके उनले। घर-परिवारमा व्यावसायिक माहोल थियो। तर उनलाई ललितकलामा गएर पढ्ने रहर। दाइहरु भने बुटवलमै बसेर पढ् भन्थे। उनले एक वर्ष  कलेजै न नपढी समय खेर फाले। त्यो एक वर्ष साह्रै निराश र दिक्क भए। 

भाइको संगीतप्रति लगाब देखेर दाइहरुले संगीतै नै सिक्ने हो भने भारतमा गएर पढ्, तर प्लस टु सकेपछि भने। दाइहरुले भनेबमोजिम विशालले प्लस टु स्याङ्जाको वालिङ्गमा पढे।

त्यहाँ दुई वर्ष पढ्दा संगीतका हस्ती गोमनसिंह राना र भारतबाट सिकेर आएका राजु पंगेनीसँग संगत गर्ने र संगीत प्राक्टिस गर्ने मौका पाए। प्लस टु सकेपछि उनी आफ्ना साइला दाइसँग गएर नयाँदिल्लीको सफ्तरजंगमा भर्ना भए।

त्यहाँ हप्तामा दुई वटा मात्र कक्षा हुन्थ्यो। त्यसैले उनी दैनिक प्राक्टिस गर्न मिल्ने पढाइ हुने कक्षाहरु खेज्न थाले। त्यसपछि विशाल मण्डी हाउसको श्रीराम कला केन्द्रमा होस्टेलमा बसेर संगीत सिक्न थाले। हरेक दिन संगीत कक्षा र प्राक्टिस गर्नै पाउँदा विशाल दंग थिए। त्यति बेलासम्म विशाललाई संगीत सिकेर स्टार बन्छु भन्ने नै थियो। नारायणगोपाल जस्तो लोकप्रिय बन्ने सपना बुनेका थिए उनले।

विशाललाई ख्यालको शैली सोनिया राेय गुरुले सिकाउँथिन्। पछि उनले तबला कक्षा पंडित विरेन्द्र माल्वीयसँग सिके। मण्डी हाउसको एरिया भन्नासाथ साहित्य, कला, संगीतको माहोल जम्ने ठाउँको रुपमा लिइन्थ्यो। प्राय: ठूलाठूला कलाकारका संगीतहरु सुन्न पाइन्थ्यो। दूरदर्शनको कार्यालय पनि त्यहीँ थियो।

उनले त्यही नजिकबाट पंडित जसराज, पंडित हरिप्रसाद चौरसिया, राजनसाजन मिश्र, अजय चक्रबर्तीका कार्यक्रमहरु हेर्ने, सुन्ने र उनीहरुलाई भेट्ने मौका पाए। त्यति बेलासम्म पनि उनले आफू क्लासिकलमा जम्ने सोचाइ बनाएका थिएनन्। 

०००
एक पटक गुरु सोनिया रोयले ध्रुपदको कार्यक्रम हेर्न लगेकी थिइन्। मल्हार फेस्टिबल भइरहेको थियो। गुरुजी आलाप गरिरहनु भएको थियो। खरजमा उनका बडे गुरुजी पंडित उमाकान्त गुन्देचाको आवाजले हल नै गुन्जेको थियो। विशाललाई हवाइजहाजमा यात्रा गरिरहेको जस्तो लाग्यो, कस्तो पावरफुल भ्वाइस भन्ने लाग्यो। 

केही समयपछि गुरुजीहरु नै अतिथि कलाकारको रुपमा ३/४ दिनको लागि विशालहरुको संगीत केन्द्रमा आइपुगे, उनीहरुकै होस्टलको गेस्ट हाउसमा बस्नेगरी। विशाल कहिले पानी दिने बहानामा, कहिले चिया दिने बहानामा पुगिरहन्थे। गुरुजीले तानपुरा खोलेर सा लगाउन भन्थे। उनी गुरुजीले भने जस्तै गर्दथे। विशाललाई गुरुजीले भन्ने तरिका, व्यवहारले आकर्षित गर्दै लग्यो। उनले त्यति बेला मात्रै तानपुराको महत्व बुझे। त्यसअघि उनी हार्मोनियममा मात्र रियाज गर्दथे। 

केही दिनको संगतले उनलाई गुरुजीसँगै गएर सिक्न पाए हुन्थ्यो भन्ने चाहना हुन थाल्यो। मध्यप्रेदेशको भोपाल सहरस्थित ध्रुपद गुरुकुलमा चार वर्ष बसेर विशालले ध्रुपद गायन शिक्षा लिए। 

त्यहाँ गएपछि विशालको संगीतप्रतिको नजरिया नै फरक भयो। नारायणगोपाल जस्तो लोकप्रिय बन्ने चाह गुरुकुलमा गएपछि हरायो। साधनाले मात्रै ठाउँ पायो। 

गुरुकुल भित्र बस्ने विभिन्न देशका २० जना थिए। तीमध्ये उनी जापनिज गुरु भाइसँग नजिकिए। गुरुकुल भित्र आफ्नै नियम हुन्थ्यो, अनुशासन र साधनाले भरिएको हुन्थ्यो। बिहान ४ बजे उठेर साढे २ घण्टा खरजको प्राक्टिस गर्दथे। खरजको प्राक्टिस सकेर उनि जापनिज गुरुभाइसँग गुरुकुलको बगैंचामा झरेको र झर्न लागेका फूलहरु टिप्थे। दुई झोला फूल बनाएर गुरुकुल नजिकैको सुरज नगर गाउँमा पुग्थे।

उनीहरु फूलहरु दिंदै गाउँका बच्चाहरुलाई गुड मर्निङ भनेर फर्कन्थे। सुरुमा हाम्रा नानीहरुलाई किन फुल दिएको, किन बोलेको भन्दै रिसाउने गाउँलेहरु पछि विशाल र जापानिज साथीलाई फूल देने भैया भनेर बोलाउन थाले। उनीहरुले हरेक विहान ५० देखि ६० जना बच्चालाई फूल दिन्थे।

गुरुकुलमा संगीत शिक्षा बाहेक हरेक दिनको एक घण्टा श्रमदान पनि गराइन्थ्यो। १० बजेदेखि १ बजेसम्म क्लास। राग, धुप्रदका कुराहरु, आलाप कसरी गर्ने, ध्रुपदको कन्सेप्ट के हो आदि सिकाइन्थ्यो। ४ बजेदेखि ८ बजेसम्म रियाज र होमवर्क।

यसरी पूरै गुरुकुल शैलीमा ध्रुपद सिकेर आएका विशाल संगीतमा अनुशासन जरुरी देख्छन्। उनी गुरुजीहरुसँग दिल्ली, पुना, बैंगलोरको स्टेजमा ध्रुपद गाउन पुगेका छन्। उनी भन्छन्, 'एउटै राग दुई वर्षसम्म प्राक्टिस गराइन्थ्यो। तर यहाँ ५०औं राग सिकाइहाल्ने, अनि एउटै राग पनि नआउने अवस्था छ। 

४ वर्षको गुरुकुल शिक्षा सकेर ध्रुपदलाई युवापुस्ता माझ पनि चिनाउने हेतुमा विशाल नेपाल फर्केका हुन्। ध्रुपद गुरुकुल काठमाडैंबाट ३० जनाले ध्रुपद गायन सिकेका छन्। विगत ४/५ वर्षदेखि गायक रामकृष्ण ढकालले पनि विशाल भट्टराईसँग भ्वाइस कल्चर सिक्दै आएका छन्। सानोमा रामकृष्ण ढकाल जस्तो बन्छु भन्ने विशाललाई ढकालले गुरु भनेर सम्बोधन गर्छन्। तर उनलाई चर्चा र नामको भोक छैन। क्लासिक संगीतमा लागेकाहरु नम र दामको पछि नलाग्ने उनले बताए। 

उनको गुरुकुलमा हरेक शनिबार बच्चाको लागि नि:शुल्क संगीत कक्षा सुरु गरेका छन्। साथै बुङ्मतीका नेत्रहीन बच्चाहरुलाई पनि विशालले संगीत शिक्षा दिइरहेका छन्।

उनका जापनिज साथी अहिले जापानमा छन्। संगीतबाट एउटै यात्रामा भए पनि भूगोल, सीमाका कारण भिसा सिस्टमको कारण वर्षको २/३ महिना उनीहरुको साथ छुटिरहेको हुन्छ। त्यसैले भन्छ, संगीतले भाषा, भूगोल, जात, धर्म केही भन्दैन।

सेतो सफा नेपाली दौरा-सुरुवालमा चिटिक्क परेर ध्रुपद गाउँदा आफैंलाई बिर्सन्छन्। उनी मात्रै ध्रुपदमा दुब्छन्।

थप हिजोका कुरा

१५ पुस, २०७८, १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।