सस्तो लोकप्रियताका लागि अधिकारै नभएको क्षेत्रमा थर्काउँदै बालेन

सस्तो लोकप्रियताका लागि अधिकारै नभएको क्षेत्रमा थर्काउँदै बालेन

दक्षिण भारतीय फिल्म आदिपुरुष प्रदर्शनमा आएसँगै नेपालमा यसले विवाद निम्त्याएको छ। 

फिल्ममा नेपालकी जानकी अर्थात् सीता भारतमा जन्मिएकी भन्ने संवाद समावेश छ। उक्त संवादले नेपालमा तरंग ल्यायो। नेपालमा चर्को विरोध भयो। सेेन्सर बोर्डले शब्द म्युट गरायो।

यसमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह थपिए। उनले आफ्नो कार्य क्षेत्राधिकार बाहिर गएर उक्त फिल्ममा समावेश गरिएको संवाद नहटाएर 'आदिपुरुष' मात्र नभई कुनै पनि भारतीय फिल्म महानगरभित्र चल्न नदिने चेतावनी दिए। 

सामाजिक सञ्जालमा उनले लेखे,'दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन।'

आज शुक्रबार (१५ जुन) देखि विश्वव्यापी प्रदर्शनमा आएको आदिपुरुष नेपालमा पनि प्रदर्शन हुँदैछ। फिल्ममा जनकपुरकी छोरी सीता भारतमा जन्मिएकी भन्ने संवाद राखिएको छ। 

उक्त संवादप्रति अहिले नेपालभित्र चर्को आलोचना भइरहेकेै बेला मेयर बालेनले आफ्नो क्षेत्राधिकारबाहिर गएर अभिव्यक्ति दिए।

नेपालको संविधानले अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीसम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार बालेनको उक्त अभिव्यक्ति संविधानभन्दा बाहिर छ। 

संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार क्षेत्रबारे लेखिएको छ। जहाँ स्थानीय तहको अधिकार क्षेत्र भनेको मात्र कर लिने उल्लेख छ।

जसअनुसार स्थानीयले पाएको अधिकार भनेको कर उठाउने मात्र हो। मेयर बालेनले दिएको उक्त अभिव्यक्ति र चेतावनी संविधानको कुनै पनि धारा वा अनुसूचीमा उल्लेख छैन।

अर्थात् स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्थामा उसको (स्थानीय तह) काम मनोरञ्जन कर लिने मात्रै हो। चलचित्र, सिनेमा हलको अधिकार संघ र प्रदेशको साझा हो। 

साथै मेयर बालेनले उक्त फिल्मको दृश्य हटाउन/सच्याउन तीन दिनको समय दिइएको लेखेका छन्। 

बालेनको यस्तो अभिव्यक्ति आउनुअघि फिल्ममा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद राखेरै सेन्सर बोर्डमा पेश भएको थियो। तर उक्त संवाद म्युट गरेर मात्र नेपालमा सेन्सर पास भयो। 

सेन्सरमा सहभागी एक अधिकारीका अनुसार उक्त विवादित संवाद म्युट गरेर चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर पास गराएको हो।

बोर्डले फिल्मलाई सेन्सर पास गरे पनि काठमाडौँका मेयर बालेनले फिल्मको संवाद भारतमा समेत नसच्याए काठमाडौँ महानगरमा चल्न नदिने कडा प्रतिक्रिया दिएका छन्। 

३२ जेठ, २०८०, २२:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।