आजदेखि ‘ए’ डिजिभन लिग सकिंदै, रेलिगेसनबाट बच्न थ्री स्टारलाई जित्नैपर्ने

आजदेखि ‘ए’ डिजिभन लिग सकिंदै, रेलिगेसनबाट बच्न थ्री स्टारलाई जित्नैपर्ने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिजिभन लिग आज (शनिबार) देखि सकिंदैछ। लिगको अन्तिम दिनको खेलमा रेलिगेसनबाट बच्नका लागि थ्री स्टारले जित्नैपर्ने दबाब छ।

रेलिगेसनमा नपर्न आज थ्री स्टारले लिगको चौथो स्थानमा रहेको जावलाखेल युथ क्लबलाई हराउन पर्ने हुन्छ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ।

थ्री स्टार २५ खेलमा २९ अंकका साथ लिगको १३ औं स्थानमा छ भने एपीएफ सबै २६ खेल खेलेर ३० अंकका साथ १२ औं स्थानमा छ।

यदि आजको खेल बराबरी भए पनि थ्री स्टार रेलिगेसनबाट जोगिने छैन। बराबरी भएमा थ्री स्टार र एपीएफको समान अंक हुनेछ। तर हेड टु हेडमा एपीएफ अगाडि छ।

थ्री स्टारले खेल जितेमा भने एपीएफ क्लब रेलिगेसनमा पर्नेछ। यसअघि नै नवप्रवेशी क्लब खुमलटार रेलिगेसनमा परिसकेको छ भने अर्को नवप्रवेशी क्लब चर्च ब्वाइजले लिग जितिसकेको छ।

दशरथ रंगशालामा दिउँसो २ बजे अर्को खेलमा मनाङ मर्स्याङ्दीले लिगको उपविजेता बनिसकेको मछिन्द्र क्लबको सामना गर्दैछ। यो सिजन खराब फर्ममा रहेको मनाङ लिगको आठौं स्थानमा छ।

च्यासल मैदानमा दिउँसो २ बजे नै हुने अर्को खेलमा भने लिग तालिकाको बीचतिर रहेका एनअनरटी र संकटा भिड्दै छन्।

२७ जेठ, २०८०, १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।