गर्मी बढेपछि चितवन कारागारका कैदीबन्दीलाई पिलो आउन थाल्यो

गर्मी बढेपछि चितवन कारागारका कैदीबन्दीलाई पिलो आउन थाल्यो

चितवनः जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।

कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो। बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायत समस्या देखिएको उनले बताए।

१५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए। भने, 'यो समस्या अझै फैलनसक्ने देखिन्छ।'

गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उनले बताए। 

अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको पौडेलले जानकारी दिए। यसको रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनको भनाइ छ। 

कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन्। दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन्।

तीसँगै आश्रित बालबालिका चार जना रहेका कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए। 

२७ जेठ, २०८०, १२:२९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।