एकैसाथ आजदेखि ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ हलमा

एकैसाथ आजदेखि ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ हलमा

काठमाडौं : आज (शुक्रबार) देखि एकैसाथ दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा आएका छन्।

फूलमान वलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशकको धारणा छ। उनका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्न देखाइएको छ। 

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ।

निर्देशक वल र सचिन घिमिरेको पटकथा लेखन रहेको चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ।

आजैदेखि प्रदर्शन भएको अर्को चलचित्र हो, ‘वेलकम टु हेम्जाकोट’। समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रमा वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढाव लगायत विषयवस्तु समेटिएको छ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङ लगायत कलाकारले अभिनय गरेका छन्। 

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन र दीर्घ गुरुङको छायाङ्कन रहेको छ। 

२६ जेठ, २०८०, १३:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।