‘मिस नेपाल महिला सशक्तीकरणको मञ्च हो, हामी ‘वस्तु’ हैनौँ’

‘मिस नेपाल महिला सशक्तीकरणको मञ्च हो, हामी ‘वस्तु’ हैनौँ’

बारम्बार विवाद र विरोधबीच आइरहने 'मिस नेपाल’ प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सम्पन्न भयो।

काठमाडौंकी स्थायी बासिन्दा श्रीच्छा प्रधानले सन् २०२३ को मिस नेपालको ताज पहिरिन सफल भइन्। 

प्रतियोगिताका कारण आफ्नो व्यक्तिगत विकासमा धेरै मद्दत पुगेको बताउने उनको आगामी तयारी र मिस नेपालभित्रका विवादित प्रसंगहरूबारे उकेराले गरेको कुराकानीः 

मिस नेपाल हुनु र नहुनुमा के फरक पाउनुभयो ?

मिस नेपाल हुनु भनेको एउटा अवसरहरू पाउनु हो। आफ्नो पहुँचसँगै धेरै 'कनेक्सन’ पाउनु हो। यस प्रतियोगिता अवधिभर हामीले जुन सम्बन्धित व्यक्तिहरू भेट्यौं। उहाँहरू सबैलाई याद गर्दै आफ्नो सम्बन्धहरू विस्तार गर्न सक्यौं भने चै हुनु र नहुनुमा केही फरक छैन। मिस नेपाल उपाधिक जित्नुचाहिँ खाली एउटा अतिरिक्त प्लेटफर्म पाउनु हो। त्यसलाई चै राम्रोसँग उपयोग गर्न सक्नुपर्छ। 

मैले मिस नेपाल भएपछि आफ्नो जुन योजना वा उद्देश्य लिएर आएको छु। त्यसमा थप विश्वास बढेको छ। मान्छेहरूमा जुन करुणा हुन्छ, त्यो हरेक प्राणीमा हुन्छ। त्यही भएर म झन् विश्वस्त भएको छु र विश्वव्यापी समुदायको भविष्यका लागि उत्साहित पनि छु। 

व्यवसायिक रूपमा मिस नेपाल पछिको करिअर ग्ल्यामर, अझ त्यसमा पनि फिल्म क्षेत्रतर्फ देखिन्छ। तर, मिस नेपालहरू त्यसमा खासै सफल देखिँदैन नि ! के छ तपाईंकोचाहि तयारी ? 

ग्ल्यामर अनि अभिनयको क्षेत्र मेरो लागि अलि नयाँ हो। स्कुल हुँदा अभिनयका केही कक्षाहरू चै लिएको छु। रोमाञ्चित क्षेत्र हो यो। किनभने हामी विभिन्न पात्रहरू पनि हुन पाउँछौं। अभिनयले मलाई अगाडि बढ्न र मेरो लाजलाई पर भगाउन धेरै मद्दत गरेको छ। त्यही भएर त्यो क्षेत्र पनि मेरो लागि एकदम महत्वपूर्ण छ। 

तर, अहिले चै समुदायसँगको आफ्नो कामलाई नै निरन्तरता दिन चाहन्छु। पछिका योजना पनि त्यसमै छन्। तर, रचनात्मक कुराहरू पनि गरिराख्नुनै पर्छ। त्यै भएर गीत लेख्ने, अभिनय होस् वा नृत्य नै किन नहोस् व्यक्तिगत रूपमा भए पनि गर्नचाहिँ चाहन्छु। अहिले तत्काल कुनै योजना नभए पनि भविष्यमा पनि त्यो हुँदैन भन्दिनँ। 

अन्यत्र जुन रूपमा ब्युटी पेजेन्ट जित्नेको करिअर बन्छ। नेपालमा त्यो खासै देखिन्न नि ! 

मलाई लाग्छ त्यो आ-आफ्नो धारणा हो। किनभने हरेक मान्छेहरूको फरक फरक अपेक्षाहरू हुन्छन्। अन्त्यमा भनेको आफ्नो लागि आफूले के अपेक्षा गरेको त्योसँग सम्बन्धित हुनु नै हो। सायद पछि ठूलो नेता नहोला, एकदम ठूलो बिजनेस गर्छु भन्ने पनि नहोला। त्यसबाहेक कतै सानो काम गरेर पनि ठूलो प्रभाव पार्न सकिने पनि हुन सक्छ।

त्यो कुराहरू चाहिँ याद राख्नुपर्छ। अहिलेसम्म हुनुभएको हरेक मिस नेपाल र पछि हुने मिस नेपालले पनि आफूमा विश्वास राख्ने क्षमता देखेको छु। त्यसले गर्दा धेरै फरक पार्छ नै।

मिस नेपाल भएपछि समाजका लागि यो गर्छु, त्यो गर्छु भन्ने सुनिन्छ। तर, रिजल्ट भने शून्यबराबर हैन ?

मलाई शून्य छजस्तो चाहिँ लाग्दैन। त्यो आफ्नो हेर्ने नजरमा भर पर्छ। कसैको उपलब्धिलाई तुलना गर्नु पनि उचित हुँदैन जस्तो लाग्छ। मरो पनि आफ्नो यो यात्रामा समुदायलाई प्रभाव पार्नु छ। म सामाजिक उद्यमशीलतामा एकदम विश्वास गर्छु।

साथै पर्यावरण संरक्षणका कार्यहरू गर्नुपर्छ भन्ने कुरामा विश्वास राख्छु। त्यसको लागि समय पनि हाम्रो लागि धेरै छोटो छ। पछि गएर त्यसले के प्रभाव पार्छभन्दा पनि हरेक दिन आफ्नो तर्फबाट त्यो काम कति भइरहेको छ भने महत्व राख्छ। पछि गएर पनि म त्यसमै लाग्छु। 

मिस नेपाल उपाधिको समयावधि सकिएपछि कुन क्षेत्रमा सक्रिय हुने इच्छा छ ?

त्यसपछि चाहिँ मलाई एनजीओहरूमा एकदम रुचि छ। आफ्नो केही एनजीओ खोल्ने। साथीहरूसँग मिलेर स-साना उद्यम गर्ने। अनि त्यसलाई नेपालको पर्यटनमा योगदान गर्न मन छ। मेरो आफ्नै घरको बगैंचाका प्रजातिहरू मात्र भए पनि जोगाउन मन छ। पर्यावरण संरक्षणको प्रोजेक्टहरूमा काम गर्न मन छ। अनि अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको आवाज अगाडि बढाइराख्न मन छ। आशा छ म कुनै दिन यीमध्ये एउटामा पीएचडी पनि गर्ने छु।

मिस नेपाल प्रतियोगिताबारे धेरै विवाद हुने गर्छ। विरोध नै पनि हुने गरेको देखेकै हो। यो कत्तिको आवश्यक हो ? 

विरोध भनेको चित्त नबुझेर पनि हुने कुरा हो। त्यसका लागि विरोध गर्नुभन्दा अगाडि भित्रका सबै कुरा बुझेर कुराकानी गर्नुपर्छजस्तो लाग्छ। विरोध मात्र गरेरभन्दा सम्बन्धित व्यक्तिहरूसँग बसेर, कुरा गरेर सुधार गर्नुपर्ने भए भए सुधार्नुपर्छ। नत्र भए त दुइटा भाडा जुद्धा आउने आवाज मात्र बजिरहेको हुन्छ। किन बजिरहेको छ भन्ने कुरा आउन पाउँदैन।

त्यही भएर एकअर्कालाई सुन्न पनि पर्छ। यो एकदम खराब हो र सही हो भनेर अगाडि बढ्यो भने हामीले दुइटाको मिठो रस चै निकाल्न सकिँदैन। 

यो प्रतियोगिता नै खासै काम लाग्दैन भन्नेसम्म गरिन्छ नि ?

त्यो हरेक चरणमा भर पर्छ। यसलाई खासै काम लाग्दैन भन्ने बित्तिकै हामीले यसलाई हटाउनपर्छ भन्ने चै होइन। त्यसरी अगाडि बढ्यौं भने हामीले धेरै समुदाय र सपनाहरूलाई नजरअन्दाज गरिरहेका हुन्छौं। त्यही भएर हामी त्यसरी चै अगाडि जान हुँदैन।

बरु कसरी सुधार्न सकिन्छ भन्ने कुराचाहिँ छलफल गरिरहनुपर्छ। अहिले राम्रो भइरहेको छ भने त्यसबारे पनि छलफल भइराख्न पर्छ। यो प्रतियोगिता नै आवश्यकता छैन भन्नेचाहिँ मलाई सही लाग्दैन। यो आवश्यक छ। किनभने हामीजस्तै धेरै युवाले आफूलाई सक्षम बनाउन एउटा अवसर पाएका छौं। यो एउटा प्लेटफर्म हो यसलाई कसरी उपयोगी बनाउने र यो अवसरलाई कसरी लिने भन्ने चै पनि हामीमै भर पर्छ। 

मिस नेपाल भनेको शृंगारको साधनलाई बेचेर कसरी नाफा कमाउने भन्ने व्यापार प्रायोजनका लागि तयार पारिएको 'वस्तु’बाहेक अरू केही होइन भन्ने आरोप पनि लाग्ने गर्छ नि ! 

मैले यसमा सहभागिता जनाएको छु। र अरू जोकोहीले पनि कुनै पनि यस्तै प्रतियोगितामा सहभगिता गरिरहनुभएको छ वा गर्ने सोच बनाउनुभएको छ भने उहाँहरूलाई प्रोत्साहन गर्न चाहन्छु। हामी मोडेल मात्र नभएर बौद्धिक पनि हौँ। हामीले आफ्नो कुराहरू पनि अगाडि राखिराख्नपर्छ। सुन्दरता भनेको बाहिरी आवरण मात्र हैन। आफूले गर्ने कार्य चित्तबुझ्दो छ कि छैन ? आफू खुसी छौं कि छनौँ भन्ने कुरा पनि धेरै महत्वपूर्ण छ। त्यै भएर यसलाई सुन्दरताभन्दा सशक्तीकरणको मञ्च भन्न चाहन्छु। त्यही भएर हामी 'वस्तु’ चाहिँ हैनौँ। यदि कसैले त्यस्तो महसुस गर्नुभएको छ भने त्यसका लागि आवाज उठाउनुहोस्। 

मिस नेपाल घोषणा गरिएपछि तपाईंहरूले अन्तर्वार्ता पनि अफिसको नियम र नीतिभित्र रहेर दिनुपर्ने अवस्था छ। त्यस्तो अवस्थामा आफ्नो कुरा स्वतन्त्र ढंगले राख्ने र स्वनिर्णयको अधिकारबाटै वञ्चित हुने गरेका छन् पनि भन्ने गरिन्छ। तपाईंले त्यस्तो महसुस गर्नुभएको छ ? 

योचाहिँ एकदम महत्वपूर्ण र गम्भीर कुरा हो। हामीले सहभागिता जनाएका छौं र हाम्रो जुन कुरा भइरहेको छ। त्यसमा पनि हिडन ट्रेजरको राम्रो प्रतिक्रिया छ। उहाँहरूले पनि हामीले यसबारे केही भन्दियोस् भन्ने नै चाहन्छन्। यहाँका आफ्नै नीति नियमहरू पनि छ। त्यसमा हामीलाई चित्त नबुझेको कुरा हामी नडराई अगाडि राख्छौं। 

सायद यसअघि आउनेहरूले पनि राख्नुभएको थियो होला र पछाडि आउनेले पनि पक्कै राख्नुहुन्छ होला। किन भनेर समाजको मूल्य मान्यता परिवर्तन भएको जस्तै यहाँको नीति नियम पनि परिवर्तन भइराख्नुचाहिँ आवश्यक छ। महिलाका आवाज महिलाले नै उठाउनुपर्छ। त्यस्तो 'रिफ्लेक्सन’ चै हुनुपर्छ। त्यसमा अझै थप हुँदै जान्छ भन्ने पनि मेरो आशा छ।

कुनै पनि 'स्पोन्सर’हरू सँग कुरा गर्नुभन्दा अगाडि हामीलाई मिटिङको आवश्यक हुन्छ। हामीले पनि कस्तो दृष्टिकोण बढाउने भन्ने कुरा पनि आउँछ। अन्तिममा गएर त यो नै हाम्रो काम पनि हुन जान्छ। र हामी आफैँ पनि एउटा 'वस्तु’ मात्र भएर बस्न चाहँदैनौँ। अहिले त्यस्तो अवस्था पनि छैन। 

मतलब अफिसको नीति नियमभित्र रहेर पनि स्वतन्त्र रूपमा सबै कुरा राख्ने मौका पाइरहनुभएको छ हैन ? 

हो, मैले आफ्नो कुरा राख्न सक्दो कोसिस गरेको छु। किनभने हिडन ट्रेजरलाई एउटा परिवारको रूपमा हेर्नुपर्छ। परिवार भनेपछि जहिले पनि पर्फेक्ट हुन्छ भन्ने पनि हुँदैन। तर, मेरो कर्तव्य भनेको आफू पनि सुन्ने र परिवारमा के-के परिवर्तन गर्न आवश्यक छ भनेर छलफल गर्ने वातावरण बनाउनु पनि हो जस्तो लाग्छ। त्यसका कारण उहाँहरूले मेरो कुरा सुन्नु भएकोमा खुशी पनि छु। आशा छ त्यो कुरा महिला नेतृत्वमा पनि देखिने नै छ। 

तपाईंहरूले के बोल्ने, के लगाउने, के खाने, कसरी प्रस्तुत हुने ? त्यसको पनि नियमभित्र बाँधिन विवश छन् पनि भन्ने गरिन्छ। के यो सत्य हो ? 

मलाई त त्यो सत्यजस्तो लाग्दैन। किनभने मैले लगाउनेमा सुझाव पाएको छु। के खायो भने शरीरलाई के फाइदा हुन्छ भन्ने थाहा पाएको छु। त्यो पनि व्यावसायिक रूपमा। त्यस्तो ’व्यक्तिगत नियम’ भन्ने त हुँदैन। अनि चित्त नबुझेको कुरा भन्ने वातावरण पनि छ। त्यै भएर पनि मैले चाहिँ आफ्नो आत्मअभिव्यक्त गर्न पाएजस्तो लाग्छ। यदि कुनै समयमा अभिव्यक्त गर्न पाएनौँ भने हामी सबै मिलेर पक्कै पनि त्यो कुराचाहिँ राखेकै हुन्छौं। 

त्यस्तो यही गर्नुपर्छ भन्ने छैन। बरु विभिन्न निकायका व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा धेरै कुरा सिक्न पायौँ। स्वास्थ्यलाई लिएर सचेत हुनुपर्ने कुराहरू नजिकबाट थाहा पायौं। फेसनका पनि धेरै कुराहरू थाहा पायौं। त्यै भएर यो सब एउटा सल्लाह सुझावको यात्रा पनि हो। फेरि पनि भन्छु यस्तै गर्नुपर्छ, यस्तै बोल्न, खानुपर्छ भन्ने हुँदैन। त्यस्तो गर्न हामी पनि सानो केटाकेटी पनि त हैनौँ।

प्रतियोगिता विवादमा आइराख्ने भएकाले नयाँ सहभागीहरू अलमलमा पर्नुभएको होकि जस्तो पनि देखिन्छ। त्यस्तो अवस्थामा यसमा जाऊँ कि नजाऊँ। परिवारले पनि साथ नदेला कि भन्ने देखिएको छ ? यस्तोमा नयाँ आउने सहभागीलाई के भन्नुहुन्छ ?

आफ्नो मुख्य उद्देश्य के हो त्यो चै समात्नुपर्छ। यहाँ आउनुको तपाईको उद्देश्य के हो र यहाँको यात्राबाट के पाउनुहुन्छ ? भन्ने चाहिँ सोच्नुपर्छ। तपाईंको सानैदेखिको इच्छा, चाहना छ भने चै त्यत्तिकै नछाड्नुस्। त्यो हासिल गर्नुस्। अनि सँगै आफ्नो एउटा ठूलो र त्यसपछिका योजनाहरू टन्न राख्नुपर्छ।

कुनै एउटा ठाउँमा पुग्न जहिले पनि फरक-फरक बाटो हामीले सोच्नुपर्छ। त्यो यात्राका लागि सहभागी जनाउन तपाईं पक्कै पनि आउनुस्। सबै कुरा सोचेर र तयार भएर आउनुस्। 

मिस वर्ल्डको तयारी कस्तो छ ?

मिस वर्ल्डको लागि मेरो एक वर्षजति बाँकी छ। त्यति लामो समयमा धेरै कुराहरू गर्न पाउँछु। त्यही भएर अहिलेलाई चै मेरो दिगो प्रणाली भन्ने प्रोजेक्टलाई कसरी धेरैभन्दा धेरै समुदायमा पुर्याउन सकिन्छ भनेर डिजाइन गर्दैछु। अहिलेसम्मका लागि दिगो प्रणाली स्थानीय उद्यमी र उत्पादनलाई कसरी विस्तार गर्ने भन्ने प्रोजेक्ट हो। तर, यसका धेरै पक्षहरू पनि छ। शिक्षादेखि लिएर पर्यावरण संरक्षणसम्म छ। 

त्यही भएर त्यो डिजाइन बहु तहअन्तर्गतमा हुने भएकाले म सल्लाहकारलाई हेर्दैछु। विभिन्न मान्छेहरूसँग कुरा गर्दैछु। यसलाई कसरी थप प्रभावकारी पार्ने भनेर। त्यसबाहेक भनेको मिस वर्ल्डका लागि थप तालिमहरू लिने त छँदैछ। 

मिस वर्ल्डको लागि विशेष केही छ कि ?

मिस वर्ल्डका लागि भनेरचाहिँ हाम्रो भिडियो बनाउनु पनि पर्ने हुन्छ। त्यसमा एउटा नयाँ अवधारणा राख्न मन छ। व्यक्तिलाई केन्द्रमा नपारेर पनि कसरी आफ्नो कथा सुनाउन सकिन्छ भनेर कोसिस गर्न मन छ। मेरो आफ्नो प्रोजेक्ट सहरकेन्द्रित भए पनि त्यसलाई गाउँगाउँमा पुर्याउने केही झलकहरू पनि दिन मन छ।

२५ जेठ, २०८०, १३:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।