'केपी ओलीजस्तो विकासको मानक अरू कोही छैन, नसुन्ने भए कानको अप्रेसन गर्न जानुस्'

'केपी ओलीजस्तो विकासको मानक अरू कोही छैन, नसुन्ने भए कानको अप्रेसन गर्न जानुस्'

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद गोकुल बाँस्कोटाले केपी ओलीजति ठूलो विकासवादी नेता कोही पनि नभएको दाबी गरेका छन्। 

बुधबार प्रतिनिधिसभाको बजेटमाथि छलफलमा उनले विकास कस्तो हुन्छ, स्वाधीनता कस्तो हुन्छ, राष्ट्रिय पुनर्निर्माणको अभियान कस्तो हुन्छ भन्ने कुराको मानक केपी ओलीबाहेक अरू कुनै प्रधानमन्त्री नभएका दाबी गरे। 

उनले भने, 'केही साथीहरूले प्रतिपक्षी दलका नेताहरूले सम्मानित सदनमा बोलेको कुरालाई लिएर यति घण्टा बोलो, उति घण्टा बोलो सुझाव दिएन, आलोचना दिएन भने।'

वर्तमान सरकारले ल्याएको बजेटमा आफ्ना दलका नेता ओलीले  गरेका टिप्पणीहरू सबै ग्रहण गरी परिमार्जन गरेर ल्याइए समर्थन गर्ने समेत उनको भनाइ थियो।    

ओलीले बोलेका सबै सुझाव ग्रहण गर्न सत्तापक्षलाई उनले आग्रह गरे। 'कि कानको अप्रेसन गर्न जानुस् होइन भने सुन्ने धैर्यता सत्तापक्षसँग छैन भने छलफल चलाउनुको चाहिँ के अर्थ ?' उनले प्रश्न गरे। ​​​​

उनले थपे, 'त्यही केपी ओली सरकारले अगाडि सारेका सम्पूर्ण कृषि क्षेत्रका, पर्यटन, शिक्षा,स्वास्थ्य र विदेश सम्बन्धका सम्पूर्ण कुराहरूलाई  बजेटमा प्रेसित गरेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस्। दुई हात उठाएर ताली पनि ठोक्छौं। नाचौँला पनि।'

यति गर्न सके सत्ता पक्षलाई धन्यवाद पनि दिने भन्दै उनले त्यति गर्ने सामर्थ्य आफूहरूसँग मात्र भएको बताए। 'हामी कुनै चेत नभाको विपक्षीजस्तो दिनहुँ केही रिँगना सक्या छैन, कुरा-विषयमा जान सक्या छैन ख्यौख्यौख्यौख्यौ गर्या छ, हैरान मचाको छ,' उनले आक्रोश व्यक्त गरे। 

अर्थमन्त्रीप्रति व्यंग्य गर्दै बास्कोटाले यसपटक मन्त्रालयमा मुसो नपसेको कटाक्ष गरे। 'अर्थ मन्त्रालयमा यसपल्ट मुसो पसेन, कागज गड्बड भएछ, त्यो एउटै को काम हो पहिला जसले हुल्याथ्यो अहिले त्यसैले हुल्या हो,' बास्कोटाले बताए। 

जब बजेटको बेला आउँछ सचिवहरू किन सरुवा हुन्छन् भन्दै उनले संसदमा प्रश्नसमेत गरे। उनले भने,'यो खालको कुरा छ, त्यसैले यसमा धेरै छलफल गर्नपर्ने कुरै भएन, कमा र फुलस्टप पनि चेन्ज हुन्न भन्या होइन, सुन्ने त तयार हुनुहुन्न के गर्नुहुन्छ र सुनाउनु।'

२४ जेठ, २०८०, १६:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।