भारत भ्रमण सफल भयो, चोकचोकमा बाजागाजाले मलाई स्वागत गरे : प्रधानमन्त्री

भारत भ्रमण सफल भयो, चोकचोकमा बाजागाजाले मलाई स्वागत गरे : प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमण विगतभन्दा फलदायी भएको दाबी गरेका छन्। 

राष्ट्रियसभा बैठकमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्ध र हितका विषयमा खुलस्त रूपमा कुराकानी भएको र विश्वासको वातावरण बन्दै गएको बताए। 

आफ्नो भारत भ्रमणका क्रममा भारतले आगामी १० वर्षभित्र नेपालमा उत्पादित १० हजार मेघावाट विद्युत् आयात गर्ने प्रक्रिया अघि बढेको उनले बताए।

‘हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग महत्त्वपूर्ण भेटवार्ता भयो। सो अवसरमा द्विदेशबीचका व्यापार पारवाहन, ऊर्जा प्रवर्द्धन, दीर्घकालीन ऊर्जा व्यापार र भारतीय भूमि हुँदै बंगलादेशसम्म विद्युत् निर्यात गर्नेलगायत विषयहरूमा संवाद सुरू भएको छ,’ उनले भने। 

भारतसँग कृषि विकासका लागि धेरै कुरा भएको उनले बताए। 'उखु र कफीको प्लाज्मा ल्याउने कुरा भएको छ,' प्रचण्डले भने।  

भारतबाट मुर्रा भैंसी ल्याइएको विषयमा भने उनले राष्ट्रिय सभा प्रतिनिधिसभाभन्दा सभ्य रहेको बताए। 

ईपीजी प्रतिवेदनबारे हाई लेभलमा आफूले कुरा नगरेको तर अरू लेभलमा भएको दाबी गरे। 'अर्को पटक कुन ठूलो कुरा हो र, अर्को पटक गर्ने,' उनले भने।  

भारतमा जम्बो टोली लाने परम्परा भएको भन्दै घटाउन खोजिएको पनि उनको भनाइ थियो।  

'राजकीय भ्रमणभन्दा फरक महसुस गरिनँ। राजकीय भ्रमणमा जस्तो हुन्छ त्यस्तो भयो। चोकचोकमा बाजागाजा नाराबाजी थियो, हाम्रो टोली गौरवान्वित महसुस भयो। सम्मानित भएर आएका थियौँ, यहाँ अपमान देखेछन्,' उनले भने।

२४ जेठ, २०८०, १२:५४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।