कांग्रेस सांसद निधिको व्यंग्यः ओलीले बोल्दा एमालेकै सांसदहरू निदाएका थिए

कांग्रेस सांसद निधिको व्यंग्यः ओलीले बोल्दा एमालेकै सांसदहरू निदाएका थिए
फाइल तस्वीर

काठमाडौँः नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीप्रति व्यंग्य गरेका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले ओलीको सम्बोधन लामो भएको र एमालेकै सांसदहरू निदाउन थालेका बताए। 

'प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको नेता केपी ओली बोल्दाखेरि मेरो घडीमा २ बजेर ४९ मिनेट भएको थियो। अब २ मिनेट मात्र बाँकी छ। २ घण्टा बोल्नुभएछ उहाँले। १ घण्टा ५८ मिनेट बोल्नुभएछ उहाँले,' निधिले भने, 'अर्थमन्त्रीजीले अस्ति बजेट प्रस्तुत गर्दा जति टाइम दिनुभो त्योभन्दा (हास्दै) बोलिसक्नुभयो।'

उनले थपे, 'धेरै बेर पर्खिएँ मैले, प्रतिपक्षी दलको बेन्चतिर हेरेँ। जबजब समय बित्दै गयो, बित्दै गयो उहाँहरू निदाउन थाल्नुभएको थियो। ताली लगाउन पनि बिर्सिनुभएको थियो। म त सत्ता पक्षकै भएँ। म त केही पनि बुझ्न सकिनँ। 

प्रतिपक्षी दलका नेता (ओली) ले आफूले बोलिसकेपछि जवाफ दिन भने पनि जवाफ दिन लायक केही पनि आफूले नपाएको निधिको तर्क थियो।

 बजेटबारे प्रतिनिधि सभाको बैठकमा आज ओलीले करिब २ घण्टा समय खर्चिएका थिए। त्यस क्रममा उनले बजेट सच्याएवापत सरकार असफल भयो नभन्ने बताएका थिए।   

ओलीको सम्बोधनपछि आएका निधिले व्यंग्य गर्दै भने, 'आज संसदमा मलाई खुसी के विषयमा लागेको छ भने प्रतिपक्षी दलको नेताले राम्रो होमवर्क गर्नुभएको छ। उहाँले टिपेर पढ्नुभएको त्यो टिपोट हो कि हस्तलिखित हो कि अर्थमन्त्रीजीले यसो आरोप लगाएको टाइपिस्ट हो कि कसैले लेखिदिएको हो कि त्यो चै बुझ्न पाएनौँ हामीले। तर होमवर्क चै राम्रै गरेर आउनुभएको रहेछ।' 

साथै निधिले जनमतसंग्रह भएका बेला बहुदल र निर्दलीय व्यवस्थामा मतदानका लागि जनतालाई आह्वान गरिँदा मनमोहन अधिकारीको पार्टीबाहेक कुनै पनि कम्युनिष्ट पार्टी बहुदलको पक्षमा नभएको प्रसंग पनि उठाएका थिए। 

२३ जेठ, २०८०, १७:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।