५१ वर्षीय लोपसाङ : समाजले विश्वकर्मा बनाइदियो, पाँच सय नहुँदा नागरिकता बनेन

५१ वर्षीय लोपसाङ : समाजले विश्वकर्मा बनाइदियो, पाँच सय नहुँदा नागरिकता बनेन

वर्षौंदेखि स्वयम्भु स्तुपानजिकै एकनासले धातुलाई ठोकेर र पगालेर विभिन्न आकारका सामान बनाइरहेका छन्, ५१ वर्षीय लोपसाङ विश्वकर्मा। उनको वास्तविक नाम लोपसाङ लामा हुनपर्ने हो।

तर, यहि काम गरेकै कारण उनलाई समाजले ‘विश्वकर्मा’को ट्याग भिराइदिए। कसैले उनलाई नाम सोधे भने सुरुमा उनले आफ्नो नाम लोपसाङ लामा भनिहाल्छन्। अनि एकै छिनमा के लाग्छ कुन्नि फेरी हत्तनपत्त हास्दै लोपसाङ विश्वकर्मा भनेर सच्याउँछन्।

उनको पुर्खा तिब्बती नागरिक हुन्। शरणार्थीका रूपमा नेपाल भित्रिदा उनीहरू चरम गरिबीको चपेटामा परे अनि बौद्ध, स्वयम्भु लगायत काठमाडौं आएर गुजारा चलाउन थाले।

लामो समय बौद्धमा बसेर उनको बुवा छवाङले पनि यहि काम गरे। उनी पनि जिन्दगीभर आफ्नो अस्तित्वबाट टाढा नै रहे। लोपसाङले आफ्नो बुवासँगै बसेर यो काम गर्न जानेका हुन्। उनले कामीको छोरा, विश्वकर्मा भनेर धेरै जतीय विभेद भोगेको नमिठो अनुभव छ।

तर, त्यो भन्दा पनि उनलाई नमिठो लागेको भनेको अहिलेसम्म पनि नागरिकता प्राप्त नगर्नु नै हो। उनको पाँच दिदिबहिनी र पाँच दाजुभाइ छन्। यी कसैले पनि नागरिकता पाएका छैनन्।

‘मलाई कामी भनोस्, दमाइ भनोस् केहि फरक पर्दैन। नाममा के छ र। त्यो एउटा कागज चाहिँ बनाइदिएको भए हुन्थ्यो’, मसिनो आवाजमा उनले बताए।

काममा मग्न हुने उनी आफ्नो पीडा सबै बिर्सन्छन्। सायद उनलाई आफ्नो पुरानो दिनहरू छिटो भन्दा छिटो बिर्सन मन छ।

‘बौद्धको केरुङ्ग गुम्बामा मेरो बुवाले पनि यस्तै काम गर्नुहुन्थ्यो। म यतै जन्मिएको भएर तिब्बतबाट कसरी यहाँ आयौं भन्ने कुरा त थाहा छैन,’ उनले अगाडि भने, ‘तर, बाले भने अनुसार त्यहाँ चीनका शासकहरूले समात्ने, काम गर्न सक्नेहरूलाई काम गर्न लगाउने र नसक्नेहरूलाई मारिदिने, हात खुट्टा जलाइदिने, करेन्ट लगाएर, अपाहिच बनाइदिने गर्थ्यो रे। त्यहि भएर यहाँ आउन परेको रे।’

लापसाङको बाल्यकाल यस्तै कथा सुनेर बित्यो। त्यो भन्दा धेरै सुन्ने र सुनाउने फुर्सद पनि हुँदैन थियो। घरको सबैजना केहि न केहि काममा लागेकै हुन्थे। अनि फुर्सदको समय भए कि जाँड खान पुगिहाल्थे। उनले यो कथा सुनेको पनि ७/८ वर्षको हुँदा मात्र हो।

गरिबी र अशिक्षामा पिल्सिए पुरै परिवार
गरिबीकै कारणले उनीहरूले पढ्न पनि पाएनन्। दुई कक्षा पढेका उ लोपसाङले नौ वर्षको उमेरदेखि यो काम थाले।

‘बाले गुम्बामा चाहिने भाडाहरू अनि मुर्तिहरू बनाउनुहुथ्यो, उता पनि त्यै बनाउथ्यो होला। हामीले कहिले पनि बाले किन यो काम गर्यो भनेर सोधेकै छैन,’ उनी भन्दै गए, ‘बालाई पनि यहि काम गरेको भएर सबैले कामी भनेको हो। वडाले पनि त्यै गर्यो। तर, मेरो त नागरिकता अहिलेसम्म बनेको छैन। सबै कागज छ। तर, सिडियोबाट दिएन के।’

स्थानीय चुनाव र संसदीय चुनाव दुवैमा उनको नागरिकता बनाइदिने धेरैले कुरा गरे। तर, चुनाव सकिएसँगै नागरिकता बनाइदिन्छु भन्नेहरू आउनै छाडे। अहिले पनि आफ्नो साथमा हरेक क्षण भएभरको कागजात बोकेर बसिरहेका हुन्छन् उनी।

उनको बुवाको नागरिकता अनुसार स्थायी ठेगाना काठमाडौं महानगरपालिका वडा नं ६ लेखिएको छ।

‘मैले जान्ने बुझ्नेसम्मको कागजहरू राखेको थियो। पाउँछ त भन्छ तर, अहिलेसम्म बनेको छैन,’ अनुहार अँध्यारो पार्दै उनले भने, ‘के कारणले नपाएको हो भनेको भए पनि हुने। पाउँछ भने अहिलेसम्म किन पाएन त? अब अहिले पनि नपाएपछि मैले त्यो काँ देखाउने?’

बुवाले पाएको नागरिकताका आधारमा नागरिकता बनाउन पाँच सय रुपैयाँले रोकिएको उनले खुलाए।

‘बाआमा पनि त्यति धेरै नजान्ने। त्यो बेलामा तिनी(वडा प्रतिनिधि)हरूले बच्चाहरूको पनि बनाउँछु फोटो खिचेर लेरा भन्यो। फोटो पनि खिचेर दियो। अनि नाता प्रमाणित गर्नको लागि पाँच सय लिएर आइज भन्यो। त्यो बेला पाँच सय भनेको त कति धेरै हो नि! नोटनै देखेको थिएन हामीले। हरेकको पाँच सय भन्यो। १० जना बच्चाको पाँच हजार लाग्ने भयो। कसरी दिने?’

‘दिदीबहिनी छन् कि छैनन् थाहा छैन’ 
बाह्रजनाको परिवारमा खान लाउनै धौ–धौ हुने। एउटा दिदि सानैमा बितिसकेका थिए।

हुर्किँदै गएपछि अन्य दिदीहरू पालैपालो हराउन थाले। देउसी खेल्न जाँदा बनेको साथीले काम लगाइदिन्छु भनेर लगेको अर्को दिदी अहिलेसम्म नफर्किएको उनको भनाइ छ।

ठूली दिदीको आर्मी केटोसँग बिहे भएर बच्चा भएकोसम्म याद छ उनलाई। त्यसपछि भने अत्तोपत्तो नलागेको उनी बताउँछन्।

‘त्यसले पनि लगेर बेच्यो कि के गर्यो अहिलेसम्म थाहा भएन,’ उनले भने, ‘दुईट दिदी हराएको धेरै वर्षपछि बम्बैबाट चिट्ठी पनि आयो तर कसैले पढ्न सकेन।’

लापसाङका बाआमाले टोलभरीका मान्छेलाई चिट्ठी पढेर सुनाइदिन आग्रह गरे पनि ‘कामीले छोएको’ भनेर कसैले पढेनन्। त्यो चिट्ठी कुन दिदीको हो र त्यसमा के लेखिएको थियो अहिलेसम्म परिवारका कसैलाई पनि थाहा छैन। ट्याङ्कामा राख्दा–राख्दै चिट्ठीका अक्षरहरु उडेर हराए।

अर्को दिदी पनि देउसी खेलेको पैसाले पिकनिक गएपछि त्यहिँबाट हराइन्। पछि बेचिन लागेको आशंकामा प्रहरी रक्सौलबाट उद्धार गरेर बौद्ध पठाएछ।

‘रक्सौलमा समातेपछि दिदिलाई बौद्ध बाहेक केहि भन्न आएनछ। त्यै भएर बौद्धको पुलिसमा आइपुगेछ। एउटा दिदि चै बच्यो। अहिले त्यो दिदी पनि बितिसक्यो।’

लापसाङको दिदीबहिनीमध्ये अब एउटासँग मात्र उनी सम्पर्कमा छन्। तर उनको पनि मानसिक सन्तुलन ठिक छैन। श्रीमान्ले छाडेर गएपछि र छोराले आत्महत्या गरेपछि उनको मानसिक सन्तुलन बिग्रेको लापसाङको भनाइ छ।

‘बहिनीले भागी बिहे गरेको हो, श्रीमान्ले दुईजिउ बनाएपछि छाडेर गयो। तर पछि बेला–बेलामा आउँथ्यो। बाउले वास्ता नगरेपछि छोरो ट्यापे भइहाल्यो। पछि भान्जा झुन्डेर मर्यो। त्यहि पिरले आमा पागल भयो। अहिले भान्जीले आमालाई हेर्छ’, उनले गहभरी आँशु झार्दै भने।

मन परेकै केटीसँग विवाह, ३० वर्षको छोरो
अहिले लोपसाङका तीन दाजुभाइ साथमै छन्। सबै काठमाडौंमै काम गर्छन्। लोपसाङले मन परेको केटीसँग विवाह गरे। अहिले उनीहरूको ३० वर्षको त छोरा नै भइसके। छोरीहरू पनि बिहे गरेर छुट्टै बस्छन्। तर, आफ्नो नागरिकता नबनेको कारण छोराको पनि बन्न नसकेको उनी बताउँछन्।

पहिलाजस्तो सामानको अर्डर आउन छाडेको भन्छन् उनी। अहिले दैनिक १२ सय रुपैयाँ आम्दानी गरिरहेको उनको भनाइ छ।

‘पाटन, बौद्ध, ठमेल, बसन्तपुर,र सिंगापुरबाट पनि पहिला धेरै अर्डर आउँथ्यो। हप्तामै तीन/चार हजार सामानको डिमाण्ड आउँथ्यो। काम नभए तीन जना दाजुभाइ मिलेर काम गथ्यौं। तर, अहिले त आफैँ पनि त्यत्तिकै कहिलेकाहिँ बसिराख्न पर्छ।’

उनि सकुन्जेल यहि काम गर्न चाहन्छन्। भयो भने छोरालाई पनि यही काम गराउने उनको इच्छा छ। तर, छोराले भने यसमा चासो नदेखाएको उनको गुनासो छ।

उनले थपिहाले, ‘एक फेर हातमा पैसा पुग्यो कि छोरा काम गर्न मान्दैन। पैसा आए पछि टाप हुन्छ। मैले काम गर भन्छु मान्दैन। श्रीमतीले बरु जाने जति काममा सहयोग गर्छ।’

कामकै कारण पाएको थरले दलित वा ‘तल्लो जात’ भनेर हेपिए पनि खासै फरक नपरेको उनी सुनाउँछन्।

‘यहि काम गरेर मेरो बाले पनि हामीलाई पाल्यो। मैले पनि मेरो छोरा–छोरी पाल्यो। मान्छेको जीवनको के भरोसा छ र,’ उनले निस्फिक्री हुँदै भने, ‘कोरोना लाग्यो भन्छ। डेंगु लाग्यो भन्छ । मलाई थरको मतलब छैन।’

विशेषगरी गुम्बा, तिब्बत, चाइना, ल्हासा र डोल्पा लगायत नेपालको हिमाली भेगका ग्राहकहरूको अर्डरअनुसार उनी काम गर्छन्। विद्या अस्पतालको सामान, लेकमा आगो बल्नको लागि प्रयोग हुने मेब्च्या, चौरी गाईलाई लगाइदिने बुट्टीहरू बनाएरै उनको दिन बित्छ।

गर्मी महिना यो कामको लागि अफसिजन भए पनि कामको दुःख भने नभएको उनी बताउँछन्। फलाम, मट्टीतेल, आगो र तेजाब खेलाइरहँदा उनको हातमा धेरै पटक चोट पनि लागेको छ। अहिले पनि हातको पन्जाका सबै छालाहरू खुइलिएको छ। तर, उनको गरिबी र समाजले उनलाई गर्ने व्यवहार भने खुइलिएको छैन।

२२ जेठ, २०८०, १६:५८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।