भारतको उत्तराखण्डका मन्दिरहरूमा महिलाका लागि ड्रेस कोड, छोटा लुगा लगाए प्रवेश नदिइने

भारतको उत्तराखण्डका मन्दिरहरूमा महिलाका लागि ड्रेस कोड, छोटा लुगा लगाए प्रवेश नदिइने

 भारतको उत्तराखण्डका तीन मन्दिरमा महिलाहरूका लागि ड्रेस कोड लागू गरिएको छ।

हरिद्वारको दक्ष प्रजापित मन्दिर, पौरीको नीलकण्ठ महादेव मन्दिर र देहरादुनको टपकेश्वर महादेव मन्दिरमा अब युवतीहरूले छोटो लुगा लगाएर दर्शन गर्न नपाउने भएका छन्।

यी तीन मन्दिरको व्यवस्थापन गर्ने महानिर्वाणी अखाडाले यस्तो आदेश जारी गरेको हो। 

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार स्कर्ट वा सर्ट लगाएर मन्दिरमा प्रवेश गर्न दिइने छैन। ८० प्रतिशतभन्दा बढी शरीर ढाकेका महिलाले मात्र मन्दिर प्रवेश गर्न पाउनेछन्।

महिलाहरू परम्परागत लुगा लगाएर आउनुपर्छः महन्त रवीन्द्र पुरी 

अखाडाका सचिव महन्त रविन्द्र पुरीले भक्तजनले देशकै परम्परागत पहिरन लगाएर मन्दिर जानुपर्ने बताए।

यसअघि मन्दिरको पवित्रता कायम राख्न जनतालाई अपिल गरिएको थियो। अहिले यसका लागि आदेश जारी भएको छ। यसका लागि देहरादूनको टपकेश्वर महादेव मन्दिरमा बोर्ड पनि बनाइएको छ।

नागपुरका ४ वटा मन्दिरमा पनि ड्रेस कोड लागू

उत्तराखण्डअघि नागपुरका ४ वटा मन्दिरमा पनि ड्रेस कोड लागू गरिएको थियो।

महाराष्ट्र टेम्पल फेडेरेसनले मार्च २६ मा गोपालकृष्ण मन्दिर (धन्तोली), संकटमोचन पञ्चमुखी हनुमान मन्दिर (बेलोरी- सावनेर), बृहस्पति मन्दिर (कनोलीबारा) र पहाडी दुर्गामाता मन्दिर (मानवता नगर) मा आपत्तिजनक लुगा लगाएर प्रवेश निषेध गरिएको जानकारी दिएको थियो।

यसका लागि मन्दिर बाहिर पोस्टर पनि टाँसिएको थियो। 

२१ जेठ, २०८०, १६:०८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।