पेसी असार २९ गतेका लागि सरेपछि दक्षिण अफ्रिका जाँदै सन्दीप

पेसी असार २९ गतेका लागि सरेपछि दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौं : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका जाने भएका छन्।

जिल्ला अदालत काठमाडौंले लामिछानेको पेसी असार २९ गतेका लागि सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो।

क्यानका प्रवक्ता दुर्गाराज पाठकका अनुसार सन्दीपलाई भोलि (सोमबार) नै दक्षिण अफ्रिका पठाउने तयारी क्यानले गरिरहेको छ।

जिम्बावेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम गत साता नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ। यसबीचमा उनको पेसी परेकोले सन्दीप भने दक्षिण अफ्रिका जान पाएका थिएनन्।

अब उनले जिम्बावेमा हुने विश्वकप क्रिकेट छनोट पनि खेल्न भ्याउने बताइएको छ।

सन्दीपका वकिलले अर्को पेसी डेढ महिना पछाडि सार्न निवेदन दिएकोमा अदालतले सो निवेदनलाई स्वीकृत गरेको थियो।

नेपालले दक्षिण अफ्रिकामा एक हप्ताको अभ्यास पछि २ अभ्यास खेल खेल्दैछ। यसपछि नेपाली टिम विश्वकप छनोट खेल्न सिधै जिम्बावे जानेछ।

२१ जेठ, २०८०, १३:४४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।