नेपालले जित्यो मलेसियाविरुद्धको सिरिज, अन्तिम खेलमा ३ विकेटको जित

नेपालले जित्यो मलेसियाविरुद्धको सिरिज, अन्तिम खेलमा ३ विकेटको जित

काठमाडौं : नेपालले घरेलु टोली मलेसियाविरुद्धको महिला टी-२० सिरिजको उपाधि जितेको छ। पाँच खेलको सिरिजको निर्णायक खेल ३ विकेटले जित्दै नेपालले सिरिजमा ३-२ ले कब्जा जमाएको हो।

अन्तिम खेलमा मलेसियाले दिएको ११० रनको विजय लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।

नेपालको जितमा ओपनर सीता रानामगरले ३७ बलमा ६ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन्। त्यसैगरी कप्तान रुविना क्षेत्रीले २३ रन जोडिन्।

यसअघि खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनायो।

मलेसियाकी लागि वान जुलियाले  सर्वाधिक ४७ रनको योगदान दिइन्। नेपालका लागि कविता जोशीले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएकी थिइन्।

सिरिजको पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो। तर नेपालले दोस्रो खेल ७ विकेट र तेस्रो खेल २७ रनले जित्दै सिरिजमा अग्रता बनाएको थियो।

यसपछि चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो।

२१ जेठ, २०८०, १२:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।