पहिलो पटक पृथ्वीमा मानिसको संख्या घट्ने अनुमान, १२४ देशमा जन्मदर उच्च गिरावट

पहिलो पटक पृथ्वीमा मानिसको संख्या घट्ने अनुमान, १२४ देशमा जन्मदर उच्च गिरावट

औद्योगिक क्रान्तिपछिको करिब २५० वर्षमा विश्वको जनसंख्यासँगै समृद्धि पनि निकै बढेको थियो।

तर अहिले अवस्था द्रुत गतिमा परिवर्तन हुँदैछ। यो शताब्दीको अन्त्य हुनुअघि, पहिलो पटक पृथ्वीमा मानिसहरूको संख्या घट्न सक्ने अनुमान गरिएको छ। यो मृत्युदर बढेको कारण नभई, जन्मदर घट्नाले भएको एक तथ्यांकबाट देखिएको छ।

सन् २०१० मा ५८ देशहरूमा प्रजननदर २.१ प्रतिशतभन्दा कम थियो। सन् २०२१ मा यो संख्या बढेर १२४ पुगेको थियो। यो आँकडा सन् २०३० मा १३६ हुने अनुमान गरिएको छ।

प्रजनन क्षमतामा हुने परिवर्तनको प्रभाव अध्ययन गरिरहेका जर्मन अर्थशास्त्री म्याथियास डोएपके भन्छन्, 'जन्मदरमा आएको गिरावट धनी देश वा देशका धनी परिवारहरूमा मात्र सीमित छैन। चीन, भारत, ब्राजिल, मेक्सिकोलगायत १५ ठूला अर्थतन्त्रमा जन्मदर २.१ भन्दा कम छ।' 

सन् २०२१ मा प्रतिस्थापन दरभन्दा कम प्रजनन क्षमता भएका देशहरूमा २१ देखि ३० वर्ष उमेरका ७८ करोड ३० लाख व्यक्तिहरू थिए। सन् २०५० सम्म उनीहरूको संख्या घटेर ६१ करोड ९० लाख पुग्ने अनुमान पनि गरिएको छ। यो गिरावट पूर्वीएसिया र युरोपका अधिकांश भागहरूमा तीव्र हुनेछ, जहाँ प्रजनन दर १.५ प्रतिशतभन्दा कम छ। र यो आँकडा ३७ प्रतिशत पुग्नेछ। यसले कार्यबलमा मानिसको संख्या घटाउने जनाइएको छ। 

अर्थशास्त्री मेरी काल्टेनबर्ग, एडन जाफे र मनोवैज्ञानिक मार्गी लीचम्यानद्वारा २०२१ मा प्रकाशित अनुसन्धानले नवप्रवर्तन र उमेरबीचको सम्बन्ध पनि फेला पारेको छ।

शोधकर्ताहरूद्वारा ४० वर्षमा दायर गरिएका ३० लाख पेटेन्टहरूको डाटाबेसको विश्लेषण गरिएको थियो। जहाँ पेटेन्ट गर्ने दर ३० देखि ४० वर्षको उमेर समूहको बीचमा सबैभन्दा बढी थियो। ४० र ५० वर्षको उमेरमा पेटेन्ट गर्ने संख्या बिस्तारै घट्दै गयो। 

अमेरिकासहित १५ ठूला देशहरूमा प्रतिस्थापन दरभन्दा कम प्रजननदर 

विश्वमा प्रतिमहिला बालबालिकाको औसत संख्या अर्थात् प्रजनन दर घट्दै गएको छ। सन् २००० मा प्रतिमहिला प्रजनन दर २ दशमलव ७ थियो। यो जनसंख्याको स्थिरीकरण दर २ दशमलव १ को प्रतिस्थापन दरभन्दा धेरै कम थियो। 

आज यो २.३ छ र गिरावट जारी छ। जीडीपीको हिसाबले १५ सबैभन्दा बढी देशहरूमा प्रतिस्थापन दरहरूभन्दा कम प्रजनन दरहरू छन्। यसमा अमेरिकाजस्ता धनी देशहरू पनि पर्छन्। विश्वको ३५ प्रतिशतभन्दा बढी जनसंख्या भएका देश चीन र भारत पनि यही लाइनमा छन्।

वृद्धको संख्या बढ्दो

कम जन्मदरका कारण वृद्धवृद्धाको संख्या बढ्दै गएको छ। पहिला जापान र इटालीलाई बुढ्यौली देशहरूको प्रमुख ठाउँ मानिन्थ्यो तर अब यसमा ब्राजिल, मेक्सिको र थाइल्याण्ड पनि समावेश भएका छन्।  

वृद्धवृद्धाहरूको उच्च जनसंख्या भएका देशहरूले कम जोखिम लिने गरेको पाइन्छ। राजनीति पनि वृद्ध मतदाताहरूसँग स्थिर छ। युवाको तुलनामा वृद्धवृद्धाहरूले अर्थतन्त्रको वृद्धिबाट कम फाइदा लिन्छन्, त्यसैले उनीहरू विकास समर्थक नीतिहरूमा कम चासो राख्छन्।

सिर्जनात्मक परिवर्तनहरू वृद्ध समाजहरूमा कम सामान्य हुने गर्छन्। त्यसैले उत्पादकत्व कम हुन्छ।  

बसाइँसराइ बढाउन सिफारिस

धेरै विज्ञहरूले घट्दो जन्मदरलाई सम्बोधन गर्न बाहिरी व्यक्तिहरूलाई सम्बन्धित क्षेत्रहरूमा अध्यागमन प्रवर्द्धन गर्न सिफारिस गरेका छन्। तर, यसले काम नगरेको देखिएको छ। धनी देशहरूमा आप्रवासीहरूको आज पनि रेकर्ड उच्च छ।

जसका कारण कतिपय देशमा कामदार अभाव समाधान हुँदै गएको छ। तर विश्वभर घट्दो जन्मदरका कारण यो शताब्दीको मध्यसम्म युवा शिक्षित कामदारको अभाव हुने देखिएको छ।

मानिसहरू धेरै बच्चा जन्माउन नचाहँदा विश्वले कम युवा र कम जनसंख्याको समस्यासँग जुध्नुपरिरहेको छ।

२० जेठ, २०८०, २०:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।