राज ब्रुअरीले छतबाटै ८४४ मेगावाट आवर विद्धुत उत्पादन गर्दै, राष्ट्रिय ग्रिडमा जोडियो

राज ब्रुअरीले छतबाटै ८४४ मेगावाट आवर विद्धुत उत्पादन गर्दै, राष्ट्रिय ग्रिडमा जोडियो

नवलपरासी : विश्व प्रसिद्ध बडवाइजर बियरको नेपालको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राज ब्रुअरीमा सोलार रूफटप परियोजनाको संयुक्त उद्घाटन गरेका छन्।

यो  परियोजना राष्ट्रिय ग्रिडमा समेत जोडिएको छ। यो नेपालको ब्रुअरी उद्योगमा पहिलो सोलार परियोजना हो।

राज ब्रुअरीले सोलारबाट उत्पादन भएको ऊर्जाले आफ्नो कारखाना सञ्चालन गर्नेछ भने अतिरिक्त ऊर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ।  

प्राइभेट इन्फास्टक्चर डेभलपमेन्ट ग्रुप कम्पनी इन्फ्राको एसिया र सरल ऊर्जा नेपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको  डिजाइन, स्थापना र सञ्चालन गरेको हो।

५ सय किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्ने कम्पनीको दाबी छ।

कार्यक्रममा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राज बहादुर शाहले ब्रुअरीको ऊर्जा  आवश्यकताहरू पूरा गर्न सोलार रूफटप स्थापना गरी  कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसार तर्फको प्रयास भएको  बताए।

सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताए।

सिम्पल इनर्जीले आगामी दिनहरूमा महिलाहरूलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उनले बताए। 

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले  ब्रुअरीका लागि सोलार ऊर्जा  स्थापना गर्न पाउँदा खुसी लागेको र  यसरी नै जावलाखेल ग्रुप अन्तर्गतका  अरू कम्पनीहरूमा पनि सोलार ऊर्जा प्रयोग गर्ने योजना रहेको बताए।

* शीर्षकमा ८४४ मेेगावाट आवर हुनुपर्नेमा ८४४ मेगावाट भएकोमा क्षमा याचना सहित सच्याइएको छ।

२० जेठ, २०८०, १३:५५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।