दुई हजारका नोट नचल्ने भनेसँगै काँकडभिट्टा नाकामा भारु साट्न कठिनाइ

दुई हजारका नोट नचल्ने भनेसँगै काँकडभिट्टा नाकामा भारु साट्न कठिनाइ

झापा : नेपालको पूर्वी नाका काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो।

एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो। त्यस लगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन्।

पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताए।

उनले भारु एक लाख सटही गर्दा चार हजार कमिसन दिनुपरेको दावी गरे।
उनले काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीको यातायात सेवा प्रदान गर्दै आएका भाडाका बस, माइक्रो तथा साना गाडीमा ‘भाडा तिर्दा भारु नोट नदिनुहोला’ भन्ने सूचना टाँस्न सुरु भइसकेको जानकारी दिए। स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ।

काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगीलगायतका सीमानाका र बजारमा विगतमा जस्तो भारुमा लेनदेन अब हुन छाडेको छ । नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन् । 

भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन्। भारतको सिलगुडी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली काँकडभिट्टा नाका भएर स्वदेश फर्किने गर्छन्।

२० जेठ, २०८०, ११:३३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।