भारतको ओडिशामा भयानक रेल दुर्घटना, २३० जनाभन्दा बढीको मृत्यु

भारतको ओडिशामा भयानक रेल दुर्घटना, २३० जनाभन्दा बढीको मृत्यु

एजेन्सी : भारतको ओडिशा राज्यमा रेल दुर्घटना हुँदा २३० जनाभन्दा बढीको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन्।

बीबीसीका अनुसार शुक्रबार साँझ ओडिशा राज्यको बालासोर जिल्लामा एक यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग ठोक्किंदा हालसम्म २३३ जनको ज्यान गइसकेको छ।

चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेसको रेल अर्को रेलसँग ठोक्किएपछि उक्त रेलका डिब्बाहरू लिकबाट खसेका थिए। जसमा च्यापिएर धेरै मानिसको ज्यान गएको बताइएको छ।

यस दुर्घटनालाई भारतीय रेल इतिहासकै एक भयानक दुर्घटना भएको भारतीय अधिकारीहरूले जनाएका छन्। दुर्घटना लगत्तै उद्धारका लागि घटनास्थलमा सयौं  एम्बुलेन्सहरू पुगेका थिए।

भारतीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

२० जेठ, २०८०, ०८:३४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।