नारायणहिटी हत्याकाण्डको पुनः छानबिन सम्भव छ, यी हुन् पाँच आधार

नारायणहिटी हत्याकाण्डको पुनः छानबिन सम्भव छ, यी हुन् पाँच आधार

काठमाडौंः दरबार हत्याकाण्ड भएको २२ वर्ष टेक्दा पनि घटनाबारे उत्सुकता र अन्योल उस्तै छ।

नागरिक तहमा अझै अनुसन्धान भए हुने भन्ने अपेक्षा देखिन्छ। राजनीतिक तहमा पनि नेताहरूले छानबिन गर्ने दाबी गरिरहन्छन्। 

हालै प्रधानमन्त्री पुष्पकलम दाहाल 'प्रचण्ड'ले समेत गौर घटनासँगै दरबार हत्याकाण्डको समेत अनुसन्धान गर्न बाँकी नै रहेको बताएका थिए। २२ वर्ष बितेको घटनाको अनुसन्धान अझै सम्भव छ र ! 

अपराध अनुसन्धानका केही जानकारहरूसँगको कुराकानीमा भाषणबाजी मात्र नभई साँच्चिकै अनुसन्धान गराएर अन्योल चिर्ने इच्छाशक्ति भएअनुसन्धान सम्भव देखिएको छ। 

अनुसन्धान हुनसक्ने केही आधार 

१. चिकित्सकीय प्रतिवेदन 

 घटनाको मुख्य प्रमाण मृतकहरूको पोस्टमार्टम हुनेगर्छ। तर दरबार घटनामा मारिएका कसैको पोष्टमार्टम भएन। 
पोष्टमार्टम नहुनुमा मुमा बडामहारानी रत्नको अवरोध मुख्य कारण बताइन्छ। 

राजपरिवारको शरीर चिर्न हुन्न भनेर उनले अडान लिँदा मृतक कसैको पोष्टमार्टम नभएको बताइए पनि यो कतै लिपिबद्ध भने छैन। 

तर पोस्टमार्टम नभए पनि उपचारका क्रममा बनाइएको मेडिकल रिपोर्ट छन्। त्यसका आधारमा समेत राजा वीरेन्द्र लगायतको मृत्युको कारण खुलाउन सकिन्छ।

शाही सर्जन खगेन्द्रबहादुर श्रेष्ठले समितिलाई दिएको बयानमा पोस्टमार्टम नभए पनि मेडिकल रिपोर्टका आधारमा मृत्युको कारण निश्चित गर्न सकिने उल्लेख छ। 

उनका अनुसार सबैको मेडिकल रिपोर्ट सुरक्षित नै राखिएको थियो।

प्रतिवेदनमा उल्लेख गरिएको विवरणका आधारमा कति दूरीबाट गोली चलेको हो भन्ने खुट्याउन सकिने देखिन्छ। 

दीपेन्द्र एक्लैले एकभन्दा धेरै प्रकृतिका बन्दुक र गोली प्रयोग गरेको र अन्त्यमा दीपेन्द्रले आफैँमाथि गोली चलाएको जस्ता विवरण दरबार हत्याकाण्डको छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ।

२ देवयानीको पुनः बयान

दरबार हत्याकाण्डको कारकका रूपमा एकातिर राजगद्दी हत्याउन गरिएको षड्यन्त्रलाई लिइन्छ। आम नागरिकमा बलियोसँग स्थापित कारक यही हो। अर्को भनेको दीपेन्द्र र देवयानीको प्रेम सम्बन्धमा रानी ऐश्वर्या बाधक बन्नु। 

यीमध्ये दोस्रो कारकबारे प्रतिवेदनमा समेत पर्याप्त विवरण छन्। पहिलो आशंकाबारे पनि पर्याप्त तथ्य देखिन्छ।
मुल कारण प्रेम सम्बन्ध हो या हैन पहिल्याउन अहिले पनि सम्भव देखिन्छ। त्यो बेला छानबिनका क्रममा देवयानी राणा नेपालमा थिइनन्। उनी भारतमा थिइन्। 

आयोगले उनको बयान लिखत रूपमा लिएको थियो। उपचारका क्रममा दिल्लीमा रहेकी उनलाई दिल्लीमा रहेको नेपाली राजदूतमार्फत समितिले पठाएको प्रश्नको उत्तर आएको थियो।

हिजोको दिनको तुलनामा अहिले देवयानीसँग सहज रूपमा बयान लिन सकिन्छ। त्यसले नयाँ तथ्यहरू खुलाउन सक्छ।

३. घटनास्थलको तस्वीर र दृश्य

घटना भएको स्थान त्रिभुवन सदन भत्काइए पनि छानबिनको समयमा समितिले घटनास्थलको तस्बिर र दृश्य खिचेको थियो।

नेपाल प्रहरीका पूर्वएसपी शेरबहादुर कार्कीले तस्वीर र भिडियो खिचेका थिए। 

उनीसँग उकेराले दुई वर्ष अगाडि कुराकानी गर्दा उनीबाट समेत अनुसन्धानमा सहयोग पुग्नसक्ने देखिएको थियो।

उनले उकेरासँग भनेका थिए 'विलियर्ड हलभित्र जानुभन्दा पहिले ढोकामा उभिएर भित्र हेरें। अहो ! भित्रको दृष्य त हेरिनसक्नु रहेछ। भुईंभरि रगतै-रगत। गोलीको खोकाका बिस्कुन। छरपस्ट सामान। त्यस्तो बीभत्स घटनास्थल देखेर मेरो त ज्यान नै सिरिङ्ग भयो। केही समय टोलाएँ म। के गर्ने के भन्ने छटपटी भयो।' 

उनका अनुसार फोटोसँगै भिडियो पनि खिचिएको थियो। 

'फोटोसँगै भिडियो खिच्ने जिम्मेवारी पनि मेरै थियो। भिडियो खिच्न भने समाभुख रानाभाट सँगै हिँड्नुभएको थियो। उहाँ घटनास्थलमा के-के देखियो भनेर व्याख्या गर्नुहुन्थ्यो म खिच्थेँ,' उनले भनेका छन्। 

अगाडि उनले भने, 'घटनास्थलको तस्बिर लिँदा अनि जहाँ गोली हानिएको स्थान थियो, त्यसको अवस्था हेर्दा दोहोरो फायरिङ भएको देखिएन। एकोहोरो गोली प्रहार भएको थियो। ठूलो, सानो सबै प्रकारका हतियार प्रहार भएकोझैं देखिन्थ्यो। गोलीको खोकाको आकार एकै प्रकारको मात्र थिएन। त्यसले पनि एक प्रकारको मात्र हतियार प्रहार भएको हैन भन्न सकिने अवस्था थियो।' 

अपराध अनुसन्धानका जानकार हेमन्त मल्ल लगायतकाहरूसँगको कुराकानीमा फोटो र भिडियोले अनुसन्धानलाई सहज बनाउनसक्ने जानकारी दिए। 

प्रत्यक्ष घटनास्थलझैँ प्रभावकारी नभए पनि फोटो र भिडियोको आधारमा पनि घटनास्थलको सूक्ष्म विश्लेषण गर्न सकिने देखियो।

४ त्रिभुवन सदनको पूनर्निर्माण

दरबार हत्याकाण्ड नारायणहिटी भित्रको त्रिभुवन सदनमा भएको थियो। ज्ञानेन्द्र शाह राजा भएपछि उनले सो सदन भत्काउन लगाए। 

तर अनुसन्धान गर्ने हो भने त्यसको पुनर्निर्माण गर्न नसकिने हैन। 

ज्ञानेन्द्र शाहले भत्काएको त्रिभुवन सदनको तस्बिर र भिजुअलको आधारमा पुनः घटनास्थलको डमी बनाएरसमेत अनुसन्धान गर्न सकिने देखियो। 

५ मुचुल्का र बयान 

प्रतिवेदनअनुसार घटनास्थलको भौतिक वस्तुको विधिविज्ञान परीक्षण, उपचार गराउँदाको अवस्थाको घाउचोटको स्थिति र मृत्युको कारण लगायत दस्तावेज सुरक्षित नै देखिन्छ। 

त्यसको विश्लेषणका आधारमा समेत अनुसन्धानलाई अगाडि बढाउन सक्ने देखिन्छ।

घटना हुँदाका साक्षीहरूमध्ये केहीको मृत्यु भए पनि अधिकांश जीवितै छन्। उनीहरूको पुनः बयान लिन सकिन्छ। बयानबाट नयाँ तथ्य खुल्न पनि सक्छ।

५ दीपेन्द्रको रगत नमुना र कालो पदार्थ

नारायणहिटी घटनामा घाइते भएकाहरूको उपचारमा संलग्न चिकित्सकमध्येका डा. उपेन्द्र देवकोटाले देशसञ्चार डटकमा दीपेन्द्रको रगतको नमुना सुरक्षित रहेको खुलाएका थिए। 

उनले लेखेका थिए, 'दीपेन्द्रले गरेको हो भन्ने गाइँगुइँ हल्ला हुन थालिसकेको थियो। त्यसो हो भने टक्सिकको प्रभावमा गरेको हो कि हैन भनेर पत्ता लगाउन जरुरी हुन्छ। त्यो पत्ता लगाउन ब्लड टेस्टबाहेक अरू उपाय हुँदैन। यस्तो सामाजिक र राजनीतिक परिवेशको बेलामा यो बिरामीको ड्रग टेस्ट गर्नु पर्यो, ब्लड चाहियो भनेर माग्दा दिने सम्भावना भएन'

उनले अगाडि लेखेका छन्, 'मैले त्यहाँको टेक्निसियनलाई फोन गरेँ- उहाँलाई फेरि ब्लड ट्रान्सफ्युजनको आवश्यकता पर्न सक्छ, अरू-अरू पनि चाहिन सक्छ, त्यसकारण अहिले उहाँको २० एमएल ब्लड निकालेर सेन्टिफ्युज गरेर सेरमचाहिँ फ्रिज गरिदिनुस् है भनेँ। किन, कसो भनिनँ। ब्लड बैंकको सर्भिस आर्मी अस्पतालमा थियो। आर्मीका मान्छे अनुशासित हुन्छन्, गरिहाले। अहिले पनि गएर कसैले खोज्यो भने सेरम प्रिजमड अवस्थामा हुनुपर्छ, आर्मी अस्पतालको स्टोरमा।' 

घटनाको कारणमा दीपेन्द्रले कालो पदार्थ खाएको पनि उल्लेख छ।

विवाहको विवादमा दीपेन्द्रको नशाको प्रभावले हत्याकाण्ड भएको दाबी कायम छ। तर विवाद पनि छ।

नशाले चुर भएर बल्लबल्ल उठाएर कोठामा पुर्याएको व्यक्ति केही समयमै ‘एम १६’ लगायतका हतियार बोकेर रेम्बो शैलीमा कोठामा प्रवेश गरेर गोली चलाए भन्ने पाटो नै अविश्वसनीय तथ्यको कारण देखिन्छ।

घटनाको छानबिनका लागि बनेको छानबिन समितिले दिएको प्रतिवेदन तथ्य, प्रमाण र निष्कर्षभन्दा विवरणले भरिएको छ। प्रतिवेदनले औँल्याउने मात्र काम गर्यो प्रस्ट्याउने काम गरेन।

यदि सरकार दरबार हत्याकाण्डलाई रहस्यको बाकसबाट बाहिर निकाल्न तयार हुने हो भने डा. देवकोटाले सार्वजनिक गरेको प्रमाण खोजेर पुनः अनुसन्धान सुरु गर्न सक्छ। रगतको नमुनाको परीक्षणबाट उनले खाएको कालो पदार्थ के हो भन्ने खुल्न सक्छ।

यो पनि पढ्नुहोस्

नारायणहिटी हत्याकाण्ड घटनास्थलको तस्बीर खिचेका पूर्वएसपी कार्कीको बयान : त्यो दृश्य सम्झँदा अहिले पनि ऐठन हुन्छ

दरबारका सचिव शम्भु अधिकारीको कथन : नारायणहिटी हत्याकाण्डको कारण रानी ऐश्वर्य र युवराज दीपेन्द्रको झगडा

ब्याच नम्बर ६९ : दरबारमा एडिसीले नै चरेस लगेर युवराज दीपेन्द्रलाई दिन्थे

दरबार हत्याकाण्डको २० वर्ष : तारानाथ रानाभाटको फेरिएको बोली

१९ जेठ, २०८०, १२:२२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।