प्रधानमन्त्री प्रचण्ड इन्दोर प्रस्थान, फोहोर व्यवस्थापन अवलोकन गर्ने

प्रधानमन्त्री प्रचण्ड इन्दोर प्रस्थान, फोहोर व्यवस्थापन अवलोकन गर्ने

 नयाँ दिल्लीः चारदिने भारतीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज (शुक्रबार) विशेष विमानमार्फत इन्दोर प्रस्थान गरेका छन्।

प्रचण्डले इन्दोरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामबारे उनले जानकारी लिने कार्यसूची छ।

फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दोरको असल र सफल अभ्यासको अवलोकनपछि प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नेछन्। 

शनिबार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले ‘टीसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो। प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

१९ जेठ, २०८०, ०९:३२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।