पत्रकारको प्रश्नको सामना गर्न नसकेका भुवन बहाना बनाएर हलबाट बाहिरिए

पत्रकारको प्रश्नको सामना गर्न नसकेका भुवन बहाना बनाएर हलबाट बाहिरिए

काठमाडौंः पत्रकारले सोधेको प्रश्नको जवाफ दिन नसकेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी हलबाट बाहिरिएका छन्। 

फिल्म सिटी दोलखा र काभ्रेलाई बजेट छुट्याइए पनि अन्य क्षेत्रलाई सरकारले बेवास्ता गरेको भन्दै चलचित्र पत्रकार संघले बिहीबार अनामनगरमा अन्तर्क्रिया गरेको थियो।

अन्तर्क्रियामा केसीले पत्रकाहरूले सोधेको प्रश्नको सामना गर्न नै सकेनन्।

चलचित्र निर्माता संघ, कलाकार संघलगायतले सरकारले फिल्मलाई उपेक्षा गरेको आरोप लगाएपछि भटाभट विज्ञप्ति निकालिरहेका छन्। 

जसको जवाफ दिन संघले बिहीबार अन्तरक्रिया कार्यक्रम राखेको थियो। 

उक्त कार्यक्रममा पत्रकारले केसीलाई क्यूएफएक्समा जडान गरिएको बक्स अफिस एक महिनादेखि किन भयो ? यसबाट कति रकम कलेक्सन भयो जस्ता प्रश्न गरेका थिए।

उक्त क्रममा बक्स अफिस कलेक्सनबारे थाहा पाउन छुट्टै कुनै यन्त्र छ भनी प्रश्न पनि गरेका थिए। तर प्रश्न सुन्नेबितिक्कै केसीको मोबाइलमा फोन आयो। त्यसपछि उनी फोनमा अलमलिएका थिए। उनको अनुहार उज्यालो थिएन। 

फोनलाई नै बहाना बनाउँदै उनी हलबाट बाहिरिए। 

केसीले पत्रकारको जवाफ नदिएर बाहिरिएपछि बोर्डले पत्रकारको जवाफ दिन बोर्डका सदस्य सचिव टंकबहादुर महतलाई लगाएको थियो।

तर बोर्ड सदस्य सचिव महतल यसबारे आफूलाई जानकारी नभएको जानकारी लिने बताए। बोल्न अल्मलिएका उनले यसबारे विज्ञसँग छलफल गरे जवाफ दिने बताए।

महतले पत्रकारले सोधेको प्रश्न अन्तै मोड्न थालेपछि केसीले बाहिरबाट 'जडान भइसकेको' भन्ने खबर बोर्डसदस्य सचिवलाई पठाएका थिए।

त्यसपछि महतले यही उत्तर दिए। उक्त प्रश्नको जवाफ आउने क्रममा हलबाट अधिकांश मानिस बाहिरिसकेका थिए। 
 

१८ जेठ, २०८०, १८:४३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।