टीकापुर घटनाका योजनाकार छाडेका प्रचण्डको दाबीः अब गौर र दरबार हत्याकाण्ड छानबिन गर्छु

टीकापुर घटनाका योजनाकार छाडेका प्रचण्डको दाबीः अब गौर र दरबार हत्याकाण्ड छानबिन गर्छु
फाइल तस्वीर

काठमाडौँः टीकापुर घटनाका योजनाकार पुष्टि भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट बाँकी कैद माफ गराएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौर र दरबार हत्याकाण्डको छानबिन गर्ने दाबी गरेका छन्। 

मंगलबार एक कार्यक्रममा उनले ठूल्ठुला भ्रष्टाचारका घटनासँगै ठूला हत्याकाण्डको छानबिन गरेर टुंगो लगाउने बताएका हुन्। 

'ठूल्ठुला भ्रष्टाचारसँगै हत्याकाण्डहरू पनि टुंगो लागेको छैन। त्यो गौर हत्याकाण्ड होस् या दरबार हत्याकाण्ड। यीबारे जनताको मनमा प्रश्न छ। अनुसन्धान गरेर टुंगो लगाउनु छ', उनले भने। 

गौरमा तत्कालीन मधेसी जनाधिकार फोरम र तत्कालीन माओवादीबी भिडन्त हुँदा क्रुर रूपमा माओवादी कार्यकर्ता मारिएका थिए। 

२०६३ चैत्र ७ गते रौतहटको गौरस्थित राइस मिलमा मधेशी जनअधिकार फोरम र तत्कालीन माओवादीले एकै स्थानमा सभा गर्न लाग्दा दुई पक्षबिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए। झडपमा कैयौँ घाइते भएका थिए।

पर्सा, बारा र रौतहटमा र्याली गर्ने फोरमको योजना अनुरूप रौतहट जिल्लास्तर समितिले गौरको धान मिल क्षेत्रमा र्यालीको आयोजना गरेको थियो। फोरमको निर्णयको एक हप्ता पछि माओवादीले पनि सोही स्थानमा कार्यक्रम आयोजना गरेको थियो।

एकै चौरको दुईतिर मञ्च बनाएर कार्यक्रमको तयारी भइरहेको समयमा र्याली गरेर कार्यक्रमस्थलमा आउनेक्रममा झडप भएको थियो।

नारायणहिटीभित्र भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश विनास भएको थियो।

२०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डमा राजपरिवारका १० सदस्यको हत्या भएको थियो। घटनाको छानबिनका लागी गठन गरिएको आयोगले युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, नीराजन, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी हत्या गरेर आत्महत्या गरेको दाबी गरेको थियो।

तर अधिकांशले सो दाबी अझैँ पत्याएका छैनन्। घटनास्थल भत्काइसकिएको छ। मृतकहरूको पोस्टमार्टम समेत नगरी जलाइएको थियो।

१६ जेठ, २०८०, १४:५२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।