रिहापछि रेशम चौधरीले भने, 'टीकापुर घटना के थियो त्यहाँका नांगा आँखाहरू साक्षी छन्'

रिहापछि रेशम चौधरीले भने, 'टीकापुर घटना के थियो त्यहाँका नांगा आँखाहरू साक्षी छन्'

काठमाडौँः सोमबार रिहा भएपछि रेशम चौधरीले टीकापुर घटनाका दोषीलाई सरकारले उल्टै पुरस्कृत गरेको बताएका छन्। 

राष्ट्रपतिबाट आममाफी पाएका चौधरी गणतन्त्र दिवसका दिन बिहानै डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। 

टीकापुर घटना सत्यतथ्य पत्ता लगाउन धरातलमै गएर उच्चस्तरीय छानबिन कमिटी बनाइनुपर्ने उनले माग गरे। 

उनले भने, ‘टीकापुर घटनामा सहादत प्राप्त गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि छ, उहाँहरूले न्याय पाउनुपर्छ। पीडित परिवार र हामीबीच अन्तरक्रिया गरिनुपर्छ।’

सरकारले आफूहरूलाई दोषी देखेको र जो दोषी छ उसले सजाय पाउँदै नपाएको चौधरीले बताए। 'जो दोषी छ ऊ त मन्त्री बन्यो, जो दोषी छ, उसलाई त राज्यले पुरस्कार, उपहार दियो। यस्तो दुर्भाग्यपूर्ण घटना नहोस्।' 

टीकापुर घटनाबारे स्थानी प्रतिवेदन र नांगा आँखाले देखेका स्थानीयहरू साक्षी भएका उनको भनाइ थियो। उनले भने, ‘टीकापुर घटनाको कथा अर्कै थियो, पटकथा अर्कै लेखियो र फिल्म अर्कै बन्यो।’

१५ जेठ, २०८०, ०९:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।