टिकापुर घटनालाई अदालतले भनेको थियो'सामूहिक हत्याको योजनासहितको मानवता विरोधी अपराध'

टिकापुर घटनालाई अदालतले भनेको थियो'सामूहिक हत्याको योजनासहितको मानवता विरोधी अपराध'

काठमाडौँ : टिकापुर घटनालाई अमानवीय घटनाभन्दै जिल्ला अदालत कैलालीले गरेको फैसलामालाई उच्च अदालत दिपायलले पनि सदर गर्यो। उच्चले सदर गर्दा केही निर्दोष ठहरिए। तर घटनाका मुख्य योजनाकार भनिएकाहरू बदलिएनन्।

त्यही उच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकनमा सर्वोच्च अदालते पनि मुख्य योजनाकारका बारेमा तल्लो तहको अदालतबाट भएको फैसला सदर गर्यो। केही निर्दोष ठहरिए।

फैसलाको पूर्ण पाठ आएको छैन। संक्षिप्त आदेश मात्र सार्वजनिक भएको छ। त्यही संक्षिप्त आदेशको भरमा सरकारले गणतन्त्र दिवसको दिन पारेर मुख्य योजनाकार ठहरिँदै जन्मकैदको सजाय पाएका रेसम चौधरीलाई माफी दिने निर्णय गरिसकेको छ।

मन्त्रिपरिषद्को निर्णय राष्ट्रपतिबाट सदर भइसकेकाले न्यायालयबाट सरकारको निर्णयविरुद्धको आदेश नआएसम्म रेसम कारागार मुक्त हुनेछन्। सरोकारवाला कसैले सरकारको निर्णयविरुद्ध रिट दिएमा अदालतबाट आउने आदेशले रेसमको माफी सदर या बदर भन्ने टुङ्गो लाग्ने छ।

सरकारले टिकापुर घटनालाई राजनीतिक आवरण दिएर माफी दिन सिफारिस गरेको हो। जबकि यस अगाडि अदालतबाट आएका फैसलाहरूले घटनालाई राजनीतिक स्वीकार नगरी मानवता विरोधी अपराधको रूपमा व्याख्या गरेको छ।

सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएको तर उच्च अदालत दिपायलबाट भएको सजाय सदर गरेकाले उच्चले सो घटनाबारे फैसला गर्दा टेकेका आधारहरू सर्वोच्चबाट समेत स्वीकार भएको देखिन्छ।

उच्च अदालतले फैसला गर्दा टेकेका २३ आधार

-घटना योजनाबद्ध रूपमा घटाइएको, केही प्रतिवादी घटनाको रचनाकार देखिएको।

-घटना घटाउन योजना, तयारी, मनसाय र कार्यको सङ्गठित तरिकाले संयोजन गरेको।

-सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हत्या गर्ने टार्गेट गरी घटना घटाइएको

-नेतृत्वकर्ताको निर्देशन अनुसार गाउँ गाउँमा चिराकी(चौकीदार) खटाई भिड जम्मा गरेको

-उपस्थित नभएमा प्रतिव्यक्ति एक हजार जरिवाना गर्ने उर्दी जारी गरेको

-घरमा भएको घरेलु हतियार लगायत अन्य हतियार लिई आउन अनिवार्य गरेको

-पूर्व योजना बमोजिम फलामे काँडायुक्त घरेलु हतियार बनाएको

-भाला, बन्चरो, खुँडा, फलामे रड, तरबार, खुकुरी, फलामे पाइप, बाँसको लाठी, फलामे काँडा भएको गदा, छिनी, चक्कु, दाउद जस्ता हात हतियारहरू बरामद भएको

-प्रहरीसंग भएको सञ्चार सेट, बन्दुक, एसएलआर खोसेको

-बन्चरो प्रहार गरी मृतकलाई ढलाई मट्टितेल हालेर जलाएको

-मृतकको शव क्षतविक्षत पारिएको, जलाई खरानी पारिएको

-घटना घटाई सकेपछि नेतृत्वकर्ताले प्रहारकर्तालाई स्याबासी दिएको

-नेतृत्वकर्ताको कल डिटेल्सले घटनास्थल वरिपरि नै रहेको देखाएको

-सुरक्षाकर्मीलाई सी आकारको घेरा हालेर नियन्त्रणमा लिएको

-भागी लुकी बसेका सुरक्षाकर्मीलाई समेत आक्रमण गरी घिसार्दै बीभत्स हत्या गरेको

-घटनामा दुई वर्षको नाबालकको समेत मृत्यु भएको

-नेतृत्वकर्ताले घटना जिम्मा लिई चुनौतीपूर्ण विज्ञप्ति निकालेको

-नेतृत्वकर्ताले निर्देशन गरे अनुसार नै घटना घटाइएको

-घटनालाई राजनीतिक रङ्ग दिन खोजिए पनि विशुद्ध गम्भीर फौजदारी अपराध देखिएको

-पोलिग्राफ टेस्टमा नेतृत्वकर्ताले झुटा बोलेको देखिन आएको

-घटनाको लक्ष्य, अपराध कार्य प्रणाली, घटनास्थलको दृश्य र बरामद प्रमाणबाट अपराध सामूहिक हत्याको रूपमा देखिएको।

-दोहोरो भिडन्त नभई आक्रमणकारीहरूले योजनाबद्ध रूपमा महिला र बालबालिका समेत प्रयोग गरी घटना घटाएको

-यो एउटा क्रूर, निर्मम र अमानवीय हिंसाको रूपमा देखिई मानवता विरोधी अपराधको रूपमा लिन सकिने घटना देखिएको

१४ जेठ, २०८०, २२:३३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।