रेसमलाई माफीको निर्णय विरुद्ध एमाले, सत्ता टिकाउन पीडितलाई थप पीडा दिएको प्रतिक्रिया

रेसमलाई माफीको निर्णय विरुद्ध एमाले, सत्ता टिकाउन पीडितलाई थप पीडा दिएको प्रतिक्रिया

 काठमाडौँ : अधिकारको मागको आवरणमा टिकापुरमा भएको जघन्य अपराधका मुख्य योजनाकार ठहरिएका रेसम चौधरीको बाँकी कैद माफी दिने सरकारको निर्णयको एमालेले आलोचना गरेको छ।

प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीको बाँकी सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएका हुन्।

उनले तीनै तहको अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई सत्ता टिकाउनकै लागि सरकारले माफी दिने निर्णय गरेको भन्दै आक्रोशित देखिए।

सङ्घीय संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारको निर्णयले पीडितलाई थप पीडित बनाउने र कानुनी राज्यको खिल्ली उडाएको बताएका थिए।

उनले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तीन वटै तहको अदालतको फैसलामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिएर सरकारले पीडितहरूलाई थप पीडित बनाउने काम गरेको बताएका थिए। सर्वोच्च अदालतले समेत उनको जन्मकैदको उच्च अदालतको फैसला सदर गरेको थियो। तर फैसलाको पूर्ण पाठ आएको छैन।

'प्रत्येक हिंसात्मक घटनापछि राजनीतिक दाउपेचको आधारबाट सत्ता लेनदेनसँग मिसाएर अघि बढ्ने खेतीपाती हुन खोजेको छ' उनले भने' यो स्वीकार गर्न सकिने विषय होइन।'

१४ जेठ, २०८०, १९:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।