सुमनाले ‘पागलपन’ भनेपछि संसद्को रेकर्डबाट हटाउन कांग्रेस सांसद्को माग, सभामुखले मानेनन् (भिडियो)

सुमनाले ‘पागलपन’ भनेपछि संसद्को रेकर्डबाट हटाउन कांग्रेस सांसद्को माग, सभामुखले मानेनन् (भिडियो)

काठमाडौं : आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठक बस्यो। बैठकले संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गर्यो।

नियमावलीमा संशोधन प्रस्वाव प्रस्तुत गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमना श्रेष्ठ रोष्टममा गइन् र बोल्न थालिन्।

उनले भनिन्, ‘काम गर्ने तरिका नफेर्ने, तर नजिता बेग्लै चाहिने कुरा पागलपनको डेफिनेसबाहेक केही होइन। नीति तथा कार्यक्रम कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले हिजो यही रोष्ट्रमबाट भन्नुभयो।’

उनले त्यति भनेर दोस्रो वाक्य सुरु गर्न नपाउँदै कांग्रेस सांसद् रामहरि खतिवडाले उठेर आपत्ति जनाए। सभामुख देवराज घिमिरेले उनलाई बोल्ने समय दिए।

त्यसपछि खतिवडाले भने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादा अनुसार हामी चल्नुपर्छ। सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौँ। पागल र पागलपन संसदीय शब्द होइन। यसलाई रेकर्डबाट हटाइयोस्।’

त्यसपछि सभामुख घिमिरेले सांसद् खतिवडाले राखेको विषय ध्यानाकर्षण भएको बताए। तर, संसद्को रेकर्डबाट हटाउन मानेनन्।

उनले भने, ‘मान्य सदस्यले राख्नुभएको कुराको ध्यानाकर्षण भएको छ। उहाँले उपमा दिनुभएको छ। कसैलाई पागल भन्नुभएको छैन। त्यस कारण यस्ता कुरालाई ध्यान राख्नुस्। वक्ता मान्य सदस्यहरूलाई आफ्नो कुरा अगाडि लान अनुरोध गर्दछु।’

सभामुखले यति भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले टेबल बजाएर स्वागत गरे। सुमनाले ‘धन्यवाद’ भन्दै आफ्ना भनाइ राखिन्।

१४ जेठ, २०८०, १९:०६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।