बाइबल राखेको आरोपमा उत्तर कोरियामा २ वर्षीय बालकलाई आजीवन काराबास

बाइबल राखेको आरोपमा उत्तर कोरियामा २ वर्षीय बालकलाई आजीवन काराबास

उत्तर कोरियामा एक क्रिस्चियन परिवारलाई बाइबल किताब घरमा राखेको भन्दै आजीवन कारावासको सजाय सुनाइएको छ।

सजायमा पाउनेमा २ वर्षीय बालक पनि परेका छन्। धार्मिक स्वतन्त्रताका सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रतिवेदनमा यो खुलासा भएको हो। यो सन् २००९ को घटना भएको प्रतिवेदनमा उल्लेख छ। 

उत्तर कोरियामा बाइबल राखेको आरोपमा मानिसहरूलाई आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय दिइने प्रतिवेदनमा उल्लेख छ।

सन् २०२२ मा उत्तर कोरियाले ७० हजारभन्दा बढी इसाईहरूलाई जेलमा हालेको पनि उक्त प्रतिवेदनले भनेको छ।

अमेरिकी विदेश मन्त्रालयले एक एनजीओ ‘कोरिया फ्युचर’बाट प्राप्त जानकारीका आधारमा आफ्नो प्रतिवेदन तयार गरेको हो।

गैरसरकारी संस्थाहरूले उत्तर कोरियामा क्रिश्चियनहरूलाई धर्मको अभ्यास गरेको कारण यातना दिइने दाबी गर्दै आएका छन्। उनीहरूलाई जबरजस्ती श्रम गराइने र महिलामाथि यौन दुर्व्यवहार गरिने उनीहरूले बताएका छन्।

सन् २०२१ मा १५१ जना महिलासँग गरिएको अन्तर्वार्तामा यी कुराहरू खुलासा भएका हुन्।

उही समयमा उत्तर कोरिया छाडेका मानिसहरूले गैरसरकारी संस्थालाई क्रिस्चियनहरूबारे नराम्रो प्रचार भइरहेको बताएका छन्। 

१३ जेठ, २०८०, २३:३७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।