नक्कली भुटानी शरणार्थी प्रकरणः केशव दुलाल र सागर राईको बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणः केशव दुलाल र सागर राईको बयान सुरु

काठमाडौँः  जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि सुरु बयानमा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ। अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ। अब आइतबार पनि बयान जारी रहने सरकारी वकिलको कार्यालयले जनाएको छ। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया हुन्। पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो। 

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए। आज एक जना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन्।

महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन्। अझै १३ जना अभियुक्त फरार छन्। फरार अभियुक्तविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ। 

अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ। अभियुक्त थुनछेक बहसपछि  धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ। 

१२ जेठ, २०८०, १९:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।