होला त रेशमलाई माफी ? राष्ट्रपतिका तीन सर्त, पीडितको निवदन पनि गृहमै

होला त रेशमलाई माफी ? राष्ट्रपतिका तीन सर्त, पीडितको निवदन पनि गृहमै

काठमाडौंः राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैद पाएका रेशम चौधरीलाई माफी दिन सरकारले पठाएको प्रस्तावमा ३ सर्तसहित गृह मन्त्रालय पठाएको छ। 

सर्वोच्चले प्रतिपादन गरेको 'आममाफीको सिद्धान्तविपरीत नहुनेगरी, प्रमाण र अदालतको फैसला र प्रचलित कानुनविपरीत नहुने गरी गर्नू' भन्दै राष्ट्रपति कार्यालयले शुक्रबार गृहमा पत्र पठाएको हो। 

सर्वोच्च अदालतले समेत रेशमको जन्मकैद सदर गरेपछि सरकारले जेठ १५ मा राष्ट्रपतिबाट माफी गराउन प्रस्ताव पठाएको थियो। 

बिहीबार आएको पत्रमा शुक्रबार निर्णय गर्दै सरकारको स्वविवेकमा निर्णय छाडेको हो। तर राखेको तीन सर्त पूरा गर्न सरकारलाई सहज देखिँदैन।  

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मीका परिवारले रेसमलाई माफी नदिन शुक्रबारै राष्ट्रपति कार्यालयमा निवेदन दिएका थिए।

कार्यालयले सो निवेदन पनि आवश्यक प्रक्रियाका लागि भन्दै गृहमै पठाएको छ। 

'गृहबाट आएको पत्रबारे आवश्यक निर्णयसहित राष्ट्रपति कार्यालयबाट गृहमा पत्र गएको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उकेरासँग भने, 'बाँकी विषय उतै बुझ्नुहोला।'

१२ जेठ, २०८०, १६:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।