‘हाम्रो देशको बेइज्जत गर्ने?’ भनेपछि झोक्किए टेकनाथ रिजाल

काठमाडौं : बयानका लागि जिल्ला अदालत काठमाडौंमा लगेर प्रहरी हिरासतमा फर्काउने क्रममा भुटानी नेता टेकनाथ रिजाल र अदालत अगाडि उभिएका सर्वसाधारणबीच भनाभन भएको छ।
शुक्रबारबाट ३० जना अभियुक्तमध्ये पक्राउ परेका १६ जनाको अदालतको इजलासमा बयान शुरु भएको थियो। प्रहरीले रिजाललाई सोही प्रक्रियाको लागि अदालत लगेको थियो।
सुरक्षा घेरामा रहेका रिजाल ह्याट र कोटमा अदालत परिसरबाट बाहिर निस्किए। प्रहरीले गाडीबाहिर सडक किनारमा राखेको थियो।
उनी प्रहरीको गाडी नजिक आइपुगेको बेला भिडबाट कसैले ‘देश बेच्ने?’ भनेर प्रश्न सोधेपछि रिजाल झोक्किँदै भीडतिर अगाडि बढे। प्रहरीले रोक्यो।
कसैले ‘मैले केही भनेकै छैन’ भन्दा केहीले ‘भुटानबाट हाम्रो देश आएर देश बेच्ने? हाम्रो बेइज्जत गर्ने? अनि आफैँ ठूला कुरा गर्ने?’ भन्दै आक्रोशित भए।
त्यो बेलासम्म प्रहरीले रिजाललाई गाडीमा राखिसकेको थियो। थप विवाद भएन। प्रहरीले उनलाई कार्यालयतिर लग्यो।
उनीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय गिरोहसँग पैसा लिएको, नक्कली शरणार्थीहरूलाई भुटानको ठेगाना उपलब्ध गराएको, भुटान मानव अधिकार संगठनको परिचय पत्र बनाइदिएर सघाएको अभियोग छ।
१२ जेठ, २०८०, १५:२१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।