नयाँ स्टक अनुमतिमा आर्थिक खेल कि सेयर नपाउँदाको इगो?

नयाँ स्टक अनुमतिमा आर्थिक खेल कि सेयर नपाउँदाको इगो?

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पनि नयाँ स्टक एक्सचेन्जको अनुमति नखुलेपछि सेयर लगानीकर्ताहरूले  बिहीबार  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

अनुमतिमा आर्थिक खेल भएको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रक्रियामा गइसकेको नयाँ स्टकको अनुमति रोकेका थिए।

उनले दाबीबारे अध्ययन गरेर स्टकबारे निर्णय गर्ने दाबी गरेका थिए। तर मौन।छन्।

प्रधानमन्त्री मौन बसेपछि सेयर लगानीकर्ताहरूले सत्ता गठबन्धनको मुख्य सहयोगी देउवालाई भेटेका हुन्।

भेटमा उनीहरूले नयाँ स्टक एक्सचेन्जका साथै नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी काम अगाडि बढाउन माग गरेका थिए।

नेपाल धितोपत्र बोर्डले गत २ असोजमा एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडीटी एक्सचेन्जको लागि आवेदन माग गर्दै ४५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको थियो। सर्वोच्च अदालतमा रिट पर्यो। पक्षमा आदेश आएपछि रोकिएको प्रक्रिया ३० चैतमा पुन सुरु भयो।  म्याद वैशाख १० तोकियो।

बोर्डले निजी क्षेत्रको एक स्टक एक्सचेन्जका लागि आवेदन खुल्ला गरेपछि नयाँ स्टकको लाइसेन्सका लागि सबैभन्दा पहिला हिमायलन स्टक एक्सचेन्जले निवेदन दिएको थियो।

अन्तिम दिन नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको नामबाट आवेदन पर्यो।

आवेदन परेको ३५ दिनभित्र आवेदकमध्ये एक कम्पनीले अनुमति पाउनुपर्ने थियो। तर बिचैमा प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गर्दै प्रक्रिया स्थगित गराए।

स्टकमा मिडिया सञ्चालकको मोह

प्रतिनिधि सभामा केही सांसदहरूले नयाँ स्टक एक्सचेन्जको अनुमतिमा आर्थिक चलखेल भएको दाबी गरे। प्रधानमन्त्री प्रचण्ड एकाएक सक्रिय हुँदै वैशाख २७ गते प्रक्रिया नै रोकिदिए।

उनले प्रक्रियाबारे प्रश्न उठेकाले त्यसबारे अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने दाबी गरेका थिए। तर प्रक्रिया रोक्ने निर्णयपछि थप निर्णय भएको छैन। यसले साँच्चिकै आर्थिक चलखेलका कारण प्रक्रिया रोकिएको हो या स्टक हात पार्ने स्वार्थ समूहको प्रभावमा प्रधानमन्त्री प्रचण्ड परेका हुन् भन्ने शङ्का उब्जाएको छ।

आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा व्यावसायिक घराना शङ्कर समूह शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासङ्घका पूर्व अध्यक्ष पशुपति मुरारका, भवानी राणा खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योति समूहका सौरभ ज्योति लगायतका व्यापारी र व्यावसायिक घरानाको लगानी छ।

नेशनल स्टक एक्सचेन्जमा  गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, कुल आचार्य, अग्नि ग्रुपसँगै दीपक तिमल्सिना लगायतका छन्। महतो र जीवा कान्तिपुर टेलिभिजनसँग समेत आबद्ध छन्।

अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष रामेश्वर थापाको नेतृत्वमा अन्नपूर्ण स्टक एक्सचेन्जले पनि आवेदन दियो। यसमा गणेश कुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्।

आर्थिक खेल कि इगो?

नयाँ स्टकको अनुमतिका लागि आर्थिक चलखेल भएको शङ्का गर्दै प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेर प्रक्रिया रोके। वैशाख २७ गते प्रक्रिया रोकेका प्रधानमन्त्रीले शङ्काको छानबिन गर्न कुनै निर्णय या निर्देशन दिएका छैनन्। यसले आर्थिक चलखेल प्रक्रिया रोक्ने बहाना त हैन भन्ने शङ्का बढाएको छ।

नयाँ स्टकको प्रक्रियाबारे जानकार स्रोतका अनुसार आवेदकमध्ये हिमालयनले मात्र नयाँ स्टकका लागि लामो तयारी गरेको थियो।
अनुभवी व्यापारी घराना त व्यापारी साझेदार, प्राविधिक सहायताका लागि मोरिसस स्टकसँग सम्झौता, विभिन्न स्टक एक्सचेन्जको अध्ययन गरी कार्य योजना बनाएर आवेदन दिएको देखिन्छ।

अन्य दुई आवेदकले हिमालयनमा मागे जति सेयर नपाएपछि रातारात तयारी गरेर आवेदनको प्रक्रियामा गए। तर मापदण्डमा आफूले नपाउने भएपछि शक्तिकेन्द्र धाउन थाले।

आफूले अनुमति नपाएको हकमा अहिलेको प्रक्रिया नै रोकाउने रणनीति अनुसार एनआरएनका नेताहरू संलग्न प्रस्तावित नेशनल स्टकका लगानीकर्ता सक्रिय भएको र उनीहरूकै प्रभावमा प्रधानमन्त्रीले प्रक्रिया रोकेको यो प्रक्रियाबारे जानकार स्रोतले दाबी गरे।

'कुन कम्पनीलाई के को आधारमा अनुमति दिने भन्ने मापदण्ड बनिसकेको छ,' जानकार स्रोतको दाबी छ' तीनमध्ये हिमालयनले पूर्व तयारी गरेकाले उसको प्रस्ताव बलियो देखियो। अनि बाँकी दुई आवेदकले राजनीतिक शक्ति लगाएर प्रक्रिया नै रोकिदिए।'

यस्तो बोर्डको मापदण्ड
बोर्डले आवेदकमध्ये एक कम्पनी छान्न निर्देशिका नै बनाएको छ। मापदण्डमा एक सय अङ्क तोकेर आवेदकमध्ये जसले बढी नम्बर पाउँछ उसैले अनुमति पाउँछ।

निर्देशिकामा विस्तृत व्यावसायिक कार्य योजना, प्रविधि, सञ्चालकहरूको अनुभव र शैक्षिक योग्यता अनि पुँजीका आधारमा नयाँ कम्पनी छनौट हुने थियो। तर बिचैमा रोकियो।

११ जेठ, २०८०, ००:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।