नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको दुई चुक, जसले शंका निम्तियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको दुई चुक, जसले शंका निम्तियो

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको पहिलो चरणको अनुसन्धानमा ३० अभियुक्त छन्।

यो प्रकरणमा प्रहरीमा २३ जाहेरी परेको छ। पक्राउ परेका १६ जनाको बयान लिएको प्रहरीले घटनासँग जोडिएका तर प्रकरणमा संलग्न नदेखिएका ७६ जनाको कागज गराएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा अभियुक्तहरूको बयानबाट उच्चतहका व्यक्तिहरूसमेत संलग्न रहेको आरोप लागेको छ। केही उच्चपदस्थ घटनाबारे जानकार छन्। तर, उनीहरूको कागजसम्म गराएको छैन प्रहरीले।

अहिलेसम्मै प्रहरीले गरेको अनुसन्धानमा सबैभन्दा हाइप्रोफाइल आपराधिक घटना हो यो। यसमा प्रहरीसँगै राज्य संयन्त्रले एक तहमा हिम्मत गरेकै देखिन्छ। 

तर, प्राप्त प्रमाणका आधारमा छानबिनको दायरामा ल्याउन सकिने अनि सोधपुछ गर्न सकिनेहरूलाई सोधपुछसम्म नगर्दा एक तहमा अनुसन्धानकर्ता दवावमा परेको संकेतसमेत देखिन्छ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, तत्कालीन गृह सचिव तथा अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई आरोपी बनाउन सकिने तहको प्रमाण अदालतमा दायर भइसकेको अभियोग पत्रमै देखिन्छ। तर, उनीहरूसँग सामान्य सोधपुछसमेत भएन।

प्रतीक थापालाई अभियुक्त बनाउने आधार अनुसार उनको आमा नैनाकला थापासमेत सहजै अभियुक्त बन्नसक्ने प्रमाण अभियोग पत्रले नै देखाउँछ। पूर्ण मिसिलमा थप आधार देखिनसक्छ। तर, उनी अनुसन्धानको औपचारिक दायरामै आइनन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार अजयक्रान्ति शाक्य अनि उनको स्वकीय सचिव राजेश बज्राचार्यको हकमा पनि उस्तै प्रमाण देखिएका छन्, जसले अभियुक्त वा त्यो नभए घटनाबारे सोधपुछसम्म गर्नुपर्ने अभियोग पत्रकै सामग्रीले देखाउँछ। तर बनाइएन। यसले शंका बढाउने काम गरिरह्यो।

नक्कली शरणार्थी प्रकरणको मुख्य दस्तावेज गृहले मन्त्रिपरिषद्को बैठकसम्म लगेर पारित भएको छ। यसमा प्रशासनिक रूपमा मुख्य सचिवदेखि तत्कालीन मन्त्रिपरिषद्का सदस्य हुँदै प्रधानमन्त्री पनि कुनै न कुनै रूपमा जानकार हुने नै भए। तर उनीहरूसँग प्रहरीले सोधपुछसम्म गरेन।

आरजु राणा अनि मञ्जु खाँणसँग घटनाबारे जानकारी लिन सार्वजनिक भएको अडियो नै काफी छ। अडियो सक्कली भएकोमा शंका कायम रहेन। भएका कुराकानी सत्य हो या हैन विस्तृत अनुसन्धानको माग गर्छ त्यसले। तर, प्रहरी अडियोमा कुरा गर्ने दुवैसँग मञ्जु र आरजुको सम्बन्ध छ या छैन, चिनजान छ या छैन भन्नेसम्मको औपचारिक सोधपुछ र कागजमा समेत जान सकेन।

अनुसन्धानमा अभियुक्त बनेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र बिचौलियाबीचको संवादमा प्रहरी महानिरीक्षक वसन्त कुँवरबारे कुराकानी भएको खुलेपछि प्रहरीले सम्बन्धबारे आईजीपीको कागज गराउन सक्थे। तर गरेनन्। त्यही कमजोरीलाई अहिले प्रहरी भित्रैबाट हतियार बनाउने काम भयो।

प्रतीक थापाको समूह पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशविना अपुरो हुने र उनी सो समूहको लिडर भएको सुरक्षा निकायकै अधिकांश जानकार छन्। उनी पनि यो पन्तका प्रकरणमा जोडिएनन्। प्रतीक पक्राउपछि यो समूहबारे थप प्रमाण खुल्नसक्छ। तर मोबाइलको फ्याक्ट्री रिसेट हुने त पक्राउ केही अभियुक्तकै व्यवहारले देखायो नै।

प्रहरीको साहसको प्रशंसा भएको छ। तर, यस्तै कमजोरीका कारण कतै नियोजित रूपमा कसैलाई जोगाउने प्रयास भएको हो कि भन्नै शंका पनि कायमै छ।

अभियोग पत्रमै यो घटनाको पूरक अभियोगपत्र ल्याउने उल्लेख छ। यसले अनुसन्धानको पक्ष खुल्लै राखेको छ। तर शंका अझै हटेको छैन।

११ जेठ, २०८०, २०:०२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।