नक्कली भुटानी शरणार्थी प्रकरण : एसएसपी वसन्तको पालामा जाहेरी, भट्टराई मौन, डा केसी र कार्कीको पालामा निष्कर्ष

नक्कली भुटानी शरणार्थी प्रकरण : एसएसपी वसन्तको पालामा जाहेरी, भट्टराई मौन, डा केसी र कार्कीको पालामा निष्कर्ष

काठमाडौँ : २०७९ चैत १२ गते केशव दुलालसहित तीन जना पक्राउ परेको प्रहरी विज्ञप्ति सार्वजनिक भएपछि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहबारे अनुसन्धानले तीव्रता पाएझैँ देखिएको थियो।

ठगी, सरकारी लिखत किर्ते, राज्य विरुद्धको कसुर अनि सङ्गठित अपराधको अभियोगमा सजायको मागवादी गर्दै बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उल्लेख गरिएका सम्बन्धित विवरणले भने यसको प्रारम्भ २०७९ जेठ १८ मा गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले दिएको जाहेरीका आधारमा सुरु भएको खुल्छ।

अभियोग पत्रसँगै संलग्न कागजपत्रको पहिलो नम्बरमै मिति २०७९ जेठ १८ लेखिएको छ। लगत्तै २३ गते प्रहरीले पक्राउ अनुमतिका लागि पत्र लेखेको र आएको आदेश समावेश गरिएको छ। त्यसैको आधारमा प्रहरीले कल विवरण मगाएको समेत खुल्छ।

जेठ ३१ गते नै कल विवरण समेत आएको अभियोग पत्रकै विवरणले देखाउँछ। तर जेठ १८ मै जाहेरी परेर, कल डिटेल झिकाएर पक्राउ अनुमति आए पनि ६ महिनासम्म कुनै अनुसन्धान भएको विवरणले खुलाउँदैन।

२०७८ पुस २३ मा तत्कालीन उपत्यका अपराध महाशाखाको प्रमुख भएका थिए वर्तमान प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवर। उनी प्रहरी प्रवक्ताबाट महाशाखामा सरुवा भएका थिए। २०७९ असार ८ गते १७ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न गृहले सिफारिस सूची निकाल्यो। सूचीको पहिलो नम्बरमा कुँवर थिए।

असार १९ गते कुँवरको बढुवा भयो। उनको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापन भयो। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको प्रमुखमा साउन ४ मा जनक भट्टराई प्रमुख भएर आए।

उनी पुस २८ सम्म कार्यालयको प्रमुख भए। उनको कार्यकालमा एकाएक मङ्सिर १२ गते अध्यागमनमा पत्र लेखेको देखिन्छ। त्यसबाहेक यस प्रकरणबारे कुनै अनुसन्धान प्रक्रिया अगाडि बढेको देखिन्न। उपत्यकामा भट्टराई प्रमुखहुँदा जिल्ला प्रहरी परिसर काठमाडौँमा थिए एससएपी भरतबहादुर बोहोरा

पुस २९ गते डा मनोजकुमार केसी उपत्यका प्रहरी कार्यालयमा आइपुग्छन्। उता जिल्ला प्रहरी परिसरमा दानबहादुर कार्की आउँछन्। अनि बल्ल प्रहरीले यस घटनाबारे अनुसन्धानमा चासो राख्दै २०७९ पुस १२ देखि २० सम्म विभिन्न बैङ्क तथा जिल्ला प्रशासन कार्यालय दाङमा पत्र लेखेको थियो।

२०७९ चैत १ गते पुन पक्राउ अनुमतिका लागि पत्र लेखेको प्रहरीले चैत पाँचमा प्रितम शर्माले अडियोसहित निवेदन दिएको उल्लेख गरेको छ।

चैत ११ गते प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदन तयार पारेपछि बल्ल १२ गते पक्राउ पुर्जी लिएको खुल्छ। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले चैत १२ गते सानु भण्डारी र केशव दुलालसहित तीन जनालाई पक्राउ गरेको थियो।

५५८ वटा सम्बन्धित सामग्री उल्लेख भएको अभियोग पत्रमा २०७० जेठ १० गते अनुसन्धान विश्लेषण प्रतिवेदन बुझाएको उल्लेख गरिएको छ।

यस अगाडि नै उपत्यका अपराध अनुसन्धान कार्यालयमा एक वर्ष अगाडि नै निवेदन परेको र त्यसैको आधारमा आरोपी पक्राउ परे पनि तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको दबाबमा छुटेको दाबी आइरहेका थिए। तर अभियोग पत्रमा उल्लेख कुनै आरोपीको बयानमा सो प्रसङ्ग उल्लेख छैन।

खाँणको कार्यकालमा उजुरी, प्रचण्डको पालामा तीव्र

गृह मन्त्रालयको नेतृत्वको आधारमा हेर्दा रामबहादुर थापा बादल गृहमन्त्री रहेकै बेलामा जाहेरी आएको देखिन्छ। उनी २०७८ असार २८ गतेसम्म गृहमन्त्री थिए।

२०७८ असार २९ गते बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भए। उनको कार्यकाल २०७९ पुस १० गतेसम्म कायम रह्यो। यो बिचमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँछु भनेर ठगी भएको भन्दै परेको निवेदनमा अध्यागमनमा सोध्ने काम मात्र भयो। खाँणको कार्यकालमा उल्लेखनीय केही भएन अनुसन्धानमा

पुस ११ गते रवि लामिछाने गृहमन्त्री भए। उनी माघ १३ सम्म गृहमन्त्री भएका थिए। २०७९ पुस १२ देखि २० सम्म विभिन्न बैङ्क तथा जिल्ला प्रशासन कार्यालय दाङमा पत्र लेखेको देखियो प्रहरीले।

माघ १४ देखि चैत १७ गतेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृहको समेत नेतृत्व सम्हालेका थिए। यही कार्यकालमा पक्राउ गर्नेदेखि अनुसन्धानलाई तीव्र बनाउनेसम्मका काम भए।

गृह नेतृत्व हेर्दा टेकनारायण पाण्डे गृहसचिवहुँदा निवेदन परेको अनि विनोदप्रकाश सिंहको पालामा अनुसन्धान अगाडि बढेको थियो।

यो बिचमा प्रहरी नेतृत्वमा भने धिरजप्रताप सिंह नै रहे। उनी २०७९ वैशाखमा प्रहरी महानिरीक्षक भएर २०७९ चैत १० मा अवकाशमा गएका थिए। चैत ११ बाट वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।

१० जेठ, २०८०, २१:५६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।