टुल्कीका निर्माता र निर्देशकले मुखले मनमुटाव छैन भने तर कार्यक्रममा खुल्दै खुलेनन्

टुल्कीका निर्माता र निर्देशकले मुखले मनमुटाव छैन भने तर कार्यक्रममा खुल्दै खुलेनन्

काठमाडौंः शुक्रबार रिलिज हुन लागेको फिल्म ‘टुल्की’ का निर्माता र निर्देशकबीच मनमुटाव बढेको थियो। कारण खुलेको थिएन।

फिल्म रिलिज हुनै लाग्दा फिल्मका निर्देशक देवजंग थापा फिल्मको प्रमोशनमा देखिन छाडे। निर्माता शेखर लामा आफैँ फिल्म प्रमोसनमा हिँडे। उकेेराले फिल्मको टिमको लफडा सार्वजनिक गर्यो।

टिमले फिल्म प्रदर्शनबारे जानकारी दिने भनेर  बुधबार काठमाडौँको दरबारमार्गको शेर्पा मलमा कार्यक्रम राख्यो जहाँ दुवै उपस्थिति थिए।

निर्देशक थापालाई उकेराकर्मीले निर्मातासँग तपाईंको विवाद बढेको हो भन्ने प्रश्न गर्दा उनले आफूहरूबीच कुनै मनमुटाव नभएको दाबी गरे।

उनले अन्य प्रोजेक्टका काम गरिरहेकाले फिल्म प्रमोसन निर्माण टिमलाई जिम्मा दिएको दाबी गरेे। तर प्रमोशन मात्रै हैैन फिल्ममा उनलाई क्रेडिट दिन पनि कन्जुस्यायी भएको छ।

‘निर्माता र निर्देशकको विवाद भनेर समाचार आइरहेको छ,यो मलाई थाहा छैन,‘उनले दाबी गरे,‘त्यस्तो केही छैन। मसँग अहिले २,४ वटा प्रोजेक्टहरू छन्। सरोज खनाल,सुनिल थापालाई राखेर वेेब सिरिजमा व्यस्त छु। एउटामा काम गरेपछि अन्त दिमाग घुमाउन मन लाग्दैन। त्यस कारण पनि मैले यता समय दिन नपाएको हो। हामीबीच कुनै लफडा भएको छैन। यो सबै हल्ला हो।’ 

निर्माता लामाले पनि निर्देशकसँग सम्बन्ध नबिग्रिएको बरु आगामी फिल्ममा थापालाई नै लिएर फिल्म प्रमोसनको जिम्मा आफैंले लिने बताए 

‘हाम्रो मनमुटाव भन्ने केही छैन। फिल्ममा सबै नयाँ नयाँ नै हुनुहुन्छ। फिल्मका निर्देशक नयाँ, कलाकार नयाँ पब्लिसिटी कसरी गर्ने भन्ने कुरा थाहा थिएन,’ उनले उकेराकर्मीसँग भने, ‘यो फिल्मलाई जसरी भए पनि प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफै पब्लिसिटीमा लागेको हुँ। निर्देशक र मबीच कुनै मनमुटाब र झगडा भन्ने केही छैन।’ 

मनमुटाव छैैन त भने तर उनीहरूबीच कार्यक्रममा खासै बोलचाल भएको देखिएन। 

यस अघिका फिल्म प्रमोशनमा फिल्मका निर्देशक र अभिनेता देखिएका थिएनन्। निर्माता लामाले निर्देशकले फिल्म प्रमोशनमा दौडन नभ्याउने भनेको कारण यस अघिको भेटमा नभेटिएको दाबी गरे । 

फिल्मको प्रमोशनमा सोम लामा, स्वस्तिमा कार्की अनी निर्माता आरपी कर्माचार्य व्यस्त थिए। 

निर्देशक थापाले नै खिचेको फिल्ममा निर्माता लामाले लाइटमेनको नाम छाँयाकारमा राखेका छन् ।निर्देशक थापाले उकेराकर्मीसँगको कुराकानीमा फिल्म आफैले खिचेको तर सम्पादन तारा थापा ‘किम्भे’लाई दिएको बताए। 

यति मात्र होइन । उनीहरुले फिल्म रिलिजको समयमा विवादको कुरा लुकाए पनि द्धन्द देखियो। टिजरमा देवजङ्ग थापाको नाम डीओपीमा राखिएको छ तर ट्रेलरमा उनको नामको सट्टा सुशिल अधिकारी र नमराज घिमिरेको राखिएको छ।

एक वर्ष अघि रिलिज भएको टिजरमा निर्देशक र छायांकारको नामसँगै राखिएको थियो। तर, एक वर्षको अन्तरालमा उनीहरुबीच लफडा बढेको देखियो।
 

१० जेठ, २०८०, २३:२६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।