अमेरिका पुगेका ९६ हजार भुटानी शंकामा, भुटानी बनेर नेपाली नागरिक अमेरिका गइसकेको टेकनाथको दाबी

अमेरिका पुगेका ९६ हजार भुटानी शंकामा, भुटानी बनेर नेपाली नागरिक अमेरिका गइसकेको टेकनाथको दाबी

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजना १४ वर्ष अगाडिदेखिको रहेको देखिएको छ।

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले आफ्नो बयानमा यस्तो दाबी गरेका हुन्।

उनको बयानअनुसार सानू भण्डारी, केशव दुलालले नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गर्ने कार्यक्रम जारी रहेकै बेलामा समेत उनीहरू सक्रिय रहेको देखिन्छ।

सन् २००६ देखि २०१९ सम्म भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम चलेको थियो।नेपालमा १ लाख १६ हजार ३ सय ५७ भुटानी शरणार्थी देखिएका थिए।

२००६ देखि २०१९ सम्ममा १ लाख १३ हजार ३ सय सात जना अमेरिकासहित आठ देशमा पूनर्वासमा गए। त्यसमा अमेरिकामा मात्र ९६ हजार १ सय ७० जना भुटानी शरणार्थी गएको देखिन्छ।

सेतोपाटीमा मंगलबार प्रकाशित रिजालको बयानको पूर्णपाठमा टोपबहादुर रायमाझी लगायतले भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरू समेतलाई भुटानीहरूकै नाममा लैजाने योजना सुनाएको दाबी गरेका छन्।

यो गिरोहलाई अमेरिकामा रहेका अशोक पोखरेलले सघाएको उनको दाबी छ।

केशवप्रसाद दुलाल र सानु भण्डारीले रिजाललाई झापामा भएको घरमा गएर भुटानी शरणार्थीहरूको समस्याको बारेमा घुमाउरो शैलीमा कुरा गरी १००/१५० जना नेपाली नागरिकहरूलाई पनि भुटानीको परिचय दिई अमेरिका लैजान सहयोग गर्नुपर्यो भन्ने प्रस्ताव गरेको बयानमा उल्लेख छ।

सो बयानमा रिजालले भनेका छन्- ‘भुटानीहरूलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू घुसेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएकै हुन्।’

उनको यो स्वीकारोक्तिले नेपालमा भएका मात्र हैन नक्कली भुटानी शरणार्थी बनेर अमेरिका पुगेकाहरू समेत अनुसन्धानमा तानिने देखिन्छ।

भुटानी शरणार्थी समस्या समाधान गर्न बनेको कार्यदलको प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालबाट कुन-कुन व्यक्ति भुटानी शरणार्थीको रूपमा कुन देश गए भन्ने विवरण गृह मन्त्रालयमा समेत छैन। शरणार्थी सम्बन्धी उच्चायोगले उपलब्ध गराएन। यसले थप शंका बढाएको छ।

बयानमा रिजालले गैर भुटानीलाई भुटान मानवअधिकार संगठनको सदस्य बनाएको केही कार्डमा हस्ताक्षर गरेको तर कसैसँग आर्थिक लेनदेन नभएको दाबी गरेका छन्।

सानू भण्डारीको डायरीमा उल्लेखित रकम आफूले नलिएको तर उनीहरूसँग भेटघाट गर्दा, होटलमा बस्दा भएको खर्च जोडेको हुनसक्ने उनले दाबी गरेका छन्।

उनले बयानमा टोपबहादुर रायमाझी यस कार्यको सुरूवातमा योजनाकारको रूपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने, गृह मन्त्रालयमा समन्वय गर्ने र रकम लिने कार्यमा संलग्न रहेको दाबी गरेका छन्।

९ जेठ, २०८०, १७:५१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।