नक्कली भुटानी प्रकरणमा जोडिए बेचन झा, भारतीय एम्बेसीको व्यक्ति भएको दाबी गर्दै ठगी

नक्कली भुटानी प्रकरणमा जोडिए बेचन झा, भारतीय एम्बेसीको व्यक्ति भएको दाबी गर्दै ठगी

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन सक्रिय गिरोहमा जोडिएका बेचन झा को हुन्?

पक्राउ परेकाहरूको दाबी अनुसार उनले आफुलाई भारतीय राजदूतावासको व्यक्ति भएको दाबी गर्थे। उच्चपदस्थहरूसँग सहज सम्बन्धमा थिए।

पक्राउ परेका आरोपीहरूबाट प्रहरीले उनको तस्बिर र नामसँगै नक्कली भुटानी प्रकरणमा उनको संलग्नताको प्रमाण पनि फेला पारेको छ। तर, उनी भारतीय हुन् या नेपाली खुलाउन सकेन।

अनुसन्धानको हदम्याद सकिएपछि प्रहरीले उनको नाम मात्र उल्लेख गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ। थप अनुसन्धानमै रहेको देखिन्छ।

प्रहरी अनुसन्धानमा झाले राजनीतिक नेतृत्वलाई मिलाउने जिम्मा लिँदै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग गिरोहको सदस्यको भेटघाट गराएकोसम्म खुलेको छ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको छ। गिरोहका नाइके देखिएका केशव दुलाल र सानु भण्डारीसँग पनि उनको सम्बन्ध रहेको खुल्यो।

पहिला यीनको नाम जोडिएको थिएन। वैशाख २६ मा रामशरण केसी पक्राउ परे। अनुसन्धानमा केसीले झालाई दुई करोडको चेक दिएको प्रमाण फेला परेपछि उनीबारे अनुसन्धान भएको थियो।

अनुसन्धानमा प्राप्त तथ्यले कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकट सम्बन्ध रहेको देखाएको छ। गिरोहका सदस्यहरूलाई गृहका अधिकारीसँग सम्बन्ध बनाउन उनले समन्वय गरेकोसम्म खुलेको छ।

उनी पनि गिरोहमा संलग्न रहेको प्रमाण फेला परे पनि उनी नेपाली नागरिक हुन् या भारतीय? नेपालमा रहेको भारतीय दुतावासँग उनको सम्बन्ध छ या छैन त्यो अझै अनुसन्धानमै देखियो।

९ जेठ, २०८०, १५:५७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।