भुईंमान्छेः ५० वर्षदेखि ग्राहक पर्खिरहेका चन्देश्वर

भुईंमान्छेः ५० वर्षदेखि ग्राहक पर्खिरहेका चन्देश्वर

एउटा व्यक्ति जो ५० वर्षभन्दा बढी समयदेखि अन्जान सहरमा आएर घुमीघुमी व्यापार गर्छन्। उमेरभन्दा धेरै जिम्मेवारी बहन गर्छन्। अनि जिन्दगीभर त्यै काममा अलमलिरहन्छन्। चाहे त्यसबाट फाइदा होस् या नहोस्। 

६९ वर्षीय चन्देश्वर पाण्डे। जसले आफू 'भारतीय होइन' भनेर अहिले पनि वरपरका मान्छेलाई स्पष्टीकरण दिइराख्नुपर्छ। उनको अनुहार, र बोल्ने लवजका कारण उनलाई नेपाली नमान्ने अझै पनि छन्। यो कुरा उनलाई थाहा छ तर, कुरा धेरै नै अघि नबढेसम्म उनी चुप लागेरै बस्ने गर्छन्। 

महोत्तरीमा उनको जन्मघर। किसानको घरमा जन्मिएका उनको बाल्यकाल खेतीपातीमै बित्यो। त्यस बेला तराईमा बालविवाहको व्यापक चलन थियो। उनी पनि १४ वर्षकै उमेरमा 'दुलाहा’ बने।

९ कक्षमा पढ्दै गरेका उनी विवाहपछि पढ्न सकेनन्। उनका ससुरा जनकपुरमै मिथिला आर्ट गर्दै हिँड्थे। पढाइ छुटेपछि खेतीपातीभन्दा पनि ससुरासँगै बढी समय बिताउन थाले। उनीसँगै रमाउन थाले। 

मिथिला आर्ट सिक्न उनलाई एक वर्ष लाग्यो। त्यस अवधिमा उनले आर्टसँगै सियो, धागो पनि बनाउन सिके। 'बनाउन सिक्दासिक्दै चलाउन जानेको पत्तै भएन,' उनी भन्छन्, 'ससुरा नै गुरु मेरो। सियो बनाउने, बुट्टा बनाउने सबै ससुरा गुरुले सिकायो। एक सालभरि लाग्यो सिक्न। त्यो दिनदेखि हामी सुरु गरेको। अझै पनि गरिराख्या छौं।’

ससुरा पहिल्यैदेखि मौका पारेर काठमाडौँ आएर व्यापार गर्ने रहेछन्। बिहे भएको एक वर्षपछि चन्देश्वर पनि ससुरासँगै काठमाडौँ आए। तर, उनी फर्किहालेनन्। बरु यतै डेरा लिएर बस्न थाले। अरू कुनै सीप नसिकेका उनले काम खोज्न ध्यान पनि दिएनन्। सानो एउटा पन्तुरो बोकेर त्यसमा सियो, धागो राखेर डुल्दै हिँड्न थाले।

डुल्दाडुल्दै व्यापार बढ्यो

उनका ग्राहक पनि फरक फरक हुन्थे। त्यसरी डुल्दाडुल्दै ५ वर्ष मखन टोलमा डेरा गरे। 'त्यो बेला यति घर, शहर केही पनि थिएन। थानकोटमा पनि २०-२५ वटा घर थ्यो। नत्र यहाँ पनि केही थिएन। सुनार गाउँमा केही थियो। सडक पनि चारैतिर थिएन’, आफू काठमाडौँ भित्रिँदाको पल सम्झिए। 

आएदेखि यही काम गरेका उनी थप्छन्, 'हामी अर्को काम केही गरेको छैन। त्यो बेला यसको बजार राम्रो थ्यो। जुन दिनदेखि हाम्रो सरकार बित्नुभयो नि। त्यै दिनदेखि यो काम पनि घट्दै गयो,’ उनले सुनाए। खुद्रा व्यापारमै रमाएका उनले यो काम छोडेर अर्को काममा हात हाल्ने आँट पनि गरेनन्। 

पछि डुल्दाडुल्दै वसन्तपुरमा आइपुगे चन्देश्वर। पर्यटकीयस्थल भए पनि त्यो बेला वसन्तपुरमा धेरै पर्यटकहरू नआएका उनले सुनाए। 'टुरिस्ट आउन थालेको त धेरैपछि हो, म आएको १५-२० वर्षपछि। पहिला हवाईजहाज पनि थिएन। एउटा दुईटा मात्र थियो। जनकपुरबाट आउँथ्यो। त्यसपछि सिमरा गयो।’ 

वसन्तपुर सात वर्ष बसेपछि भने उनी स्वयम्भू पुगे। स्वयम्भूको टुप्पोमा बिहानै आफ्नो पसल फिजाएर उनको दैनिकी गुजारा चल्न थाल्यो। त्यहाँ पनि ६ वर्ष त्यसरी बित्यो। तर, व्यापारमा भने त्यति धेरै उत्साह देखिएन। ५-१० रुपैयाँको सियो किन्नेबाहेक धेरै सामान बिक्री हुन सकेन। 

'त्यसबेला दिनमा ५० रुपैयाँको व्यापार हुनु पनि राम्रो नि। खानलाई मज्जाले पुग्थ्यो। भाडा पनि धेरै तिर्न पर्दैनथियो। तर, अहिले काहाँ त्यस्तो हुन्छ। पाँच सय कमायो भने पनि पुग्दैन,’ मधुरो आवाजमा उनले भने।

त्यति पैसाले उनी त्यसबेला गाउँमा खर्च पठाउन पनि भ्याउँथे। स्वयम्भूको टुप्पोमा बसेको केही वर्षपछि भर्याङमुनि बस्न थाले। स्वयम्भूको वरपर पसल राखेर बस्न थालेको आफू नै पहिलो व्यक्ति भएको उनको दाबी छ। 

'यहाँ कोही थिएन। म एक्लै थिएँ। अनि यही भर्याङको मुनि पनि बसेँ, ८-१० वर्ष। पछि अरूहरू पनि बस्न आयो। समिति नै बन्यो। यस्तै हुँदाहुँदै अहिलेसम्म चलिरहेको छ। अहिले यो ठाउँमा बसेको चै दुई वर्ष भयो,’ उनले सुनाए। 

भर्याङको केही खुड्किलो चढ्न नपाउँदै उनलाई त्यहाँ देख्न सकिन्छ। यहाँ बसेबापत भनौँ या त्यहाँ सरसफाइ कायम राख्न भनेर उनले दैनिक १० रुपैयाँ तिर्ने गरेका छन्। 

व्यापारमा भएन छलाङ

'समिति पनि पछि बनेको छ। तर, व्यापारमा अहिले कमजोरी छ। पहिला सामानहरू पनि सस्तो थ्यो। यस्तो आर्ट्स पहिला बिक्रीमा राखेको थिएन। सियो र धागोले यस्तो बनाउने भनेर देखाउन मात्र राखेको। सियो धागो बिक्न छोडेपछि यो आर्ट पनि बेच्न सुरु गरेको,’ उनले व्यापार सुनाए, 'विशेष गरी अहिले पर्यटकहरूलाई आकर्षित गर्न कपडामा मिथिला आर्ट बनाएर झुण्ड्याउने गरेको छु। 

एउटा आर्टको चार-पाँच सय मूल्य तोके पनि विदेशी पर्यटकका लागि भने उनले केही महँगो भन्ने गरेका छन्। 'कुनै कुनै नेपाली मान्छेहरूले किन्थे। आजकल त्यो पनि किन्दैन। सबैभन्दा राम्रो व्यापार यही हुन्थ्यो भन्ने नै छैन। सधैँ त्यस्तै त्यस्तै हो।’

व्यापार जस्तो भए पनि आफ्नो कामलाई भने उनले निरन्तरता दिइ नै रहेका छन्। 

अहिले पनि बिहान ८ बजे पसल पुग्ने उनी साँझ ७ बजेसम्म त्यहीँ हुन्छन्। खाना पनि बुहारीले त्यहीँ नै ल्याइदिने रहिछन्।

अहिले पनि पर्यटकहरूका लागि उनको पसल 'सो पिस’ भन्दा बढी भएको छैन। दिनभर सबै सामान थन्काएर बस्नुबाहेक उनको विकल्प छैन। 

माघ, फागुन र वैशाखमा भने अलिकति बढी पर्यटक आउने हुँदा उनको व्यापार ठीकठाक चल्ने गरेको छ। नत्र पसल खोल्नु र बन्द गर्नुबाहेक उनको औपचारिकता भने छैन। 

'किन्ने मान्छे नै छैन। भूकम्प भयो। लकडाउन भयो। व्यापार डाउन हुँदै गयो। अहिले पनि आर्टभन्दा बढी सियो धागो नै जान्छ, सस्तो सामान बेचेर धेरै फाइदा हुने कुरा पनि त भएन,’ उनले हास्दै सुनाए।

तर, वर्षौँदेखि खुद्रा व्यापारभन्दा बढी हुन नसकेको निराशा भने उनको अनुहारमा प्रस्ट देख्न सकिन्छ। 

बुद्ध जयन्तीमा १४० रुपैयाँको व्यापार

उनकोमा सबैभन्दा महँगो भनेकै सियो हो। ५० रुपैयाँको। 'अब आज भएन, भोलि हुन्छ। भोलि भएन पर्सि हुन्छ। अहिले यहीँ नजिकै बस्छु। अस्ति लगातार पानी परेर हप्ताभर त त्यति पनि व्यापार भएन,’ जबर्जस्ती हास्न खोजेको भावमा उनले सुनाए, 'भगवानको ठाउँमा बसिरहेको छ। एक दिन त सबै राम्रो होला नि !’ 

८ वर्षअघि उनकी श्रीमती बितिन्। अहिले दुई जना छोरा बुहारी र नातिनी उनीसँगै बस्छन्। उनीहरू पनि कमाउने भएका कारण भने आफूलाई खासै गाह्रो नभएको उनी सुनाउँछन्। 

छोरा पनि त्यही स्वयम्भूकै भर्याङ नजिकै माला, कचौरा, सानो सानो बुद्धका मूर्ति बेच्न बसेका छन्। 

अहिले चन्देश्वरका लागि यो काम 'टाइम पास’ मात्र भएको छ। 'व्यापार नभए पनि अर्को के काम गर्ने ? कुनै काम त सिकेको छैन। व्यापार नभएको देख्दा छोराहरूले पनि यो काम गर्न रुचाएनन्। अहिलेसम्म घर बनाउन सकेको छैन। अहिले यहाँको जंगलमा बाँदर बढेको छ। त्यसलाई हेरेर बस्नु परेको छ,’ उनले निराशा व्यक्त गरे।  

'छोराहरूले व्यवहार राम्रै गर्छ। के गर्नु, भगवानले भाग्यमा जति दिएको छ त्यति मात्र पाउँछ। बुद्धजयन्तीमा यसअघि हजार-१२ सय कमाइ हुन्थ्यो। यसपालि एक सय ४० को मात्र व्यापार भयो। खाली हेर्ने जाने मात्र गर्छ,’ उनी दुःखी भए।

८ जेठ, २०८०, २१:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।