ट्राफिक नियम उल्लंघन गरेपछि अनुष्कालाई जरिवाना

ट्राफिक नियम उल्लंघन गरेपछि अनुष्कालाई जरिवाना

ट्राफिकको जरिवानाबाट बच्न कार छोडेर बाइक चढेकी बलिउड अभिनेत्री अनुष्का शर्माले मोटरसाइकलमा सवार हुँदा पनि ट्राफिक नियम उल्लंघन गरेकी छन्। 

उनी र मोटरसाइकलमा सवार व्यक्ति दुवै विनाहेल्मेट भएपछि प्रहरीले अनुष्कालाई चलान काटेको हो। मुम्बई ट्राफिक प्रहरीले ट्वीट गर्दै अनुष्कालाई १० हजार ५०० रुपैयाँ जरिवाना तिराएको बताएको छ।

हेलमेटविना यात्रा गर्दा भारतमा ५ सय रुपैयाँ जरिवाना तोकिएको छ तर अनुष्काको मोटरसाइकल चालकसँग सवारी लाइसेन्ससमेत नभएको प्रहरीले बताएको छ।

जसका कारण उनलाई थप ५ हजार रुपैयाँ जरिवाना गरिएको हो। बाँकी ५ हजार रुपैयाँ जरिवाना सवारी साधन मालिकसँग भराइएको छ। यसका साथै अमिताभ बच्चनलाई पनि एक हजार रुपैयाँ जरिवाना गराइएको प्रहरीले जनाएको छ। 

अनुष्काले ढिलो नगरी चलानको पूरा रकम तिरेकी छन्।

दुई दिनअघि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनुष्का शर्माको तस्बिरसहित मुम्बई ट्राफिक प्रहरीलाई यसबारे ट्याग गरेका थिए।

प्रहरीले यस विषयमा कारबाही गर्नुपर्ने सर्वसाधारणको माग थियो।

यसै क्रममा अमिताभ बच्चनले सामाजिक सञ्जालमा एउटा तसवीर पनि सेयर गरेका छन्, जसमा उनी बाइकमा एक व्यक्तिको पछाडि बसेका देखिन्छ। प्रहरीले दुवैलाई कारबाही गरेको हो।

यस सन्दर्भमा मुम्बई ट्राफिक प्रहरीका संयुक्त आयुक्त प्रवीण पडवालले भने, ‘मुम्बई ट्राफिक प्रहरीलाई दुईजना सेलिब्रेटीहरू कारको पछाडि बसेर मुम्बईको सडकमा हेलमेटविना निस्किएको गुनासो आएको थियो। दुवै घटनामा प्रहरीले सवारीसाधन ट्रेस गरी ट्राफिक नियम तोड्नेलाई कारबाही गरिएको छ।'

कारबाहीअन्तर्गत सवार र पछाडि बस्ने व्यक्तिलाई जरिवाना गरिएको हो। ट्राफिक नियम उल्लंघन गर्ने व्यक्ति जोसुकै भए पनि कारबाही हुने उनले बताएका छन्। 

४ जेठ, २०८०, २३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।