ओली र देउवाको बयान नलिएसम्म प्रचण्डको भ्रष्टाचारविरोधी भाषण गफ मात्र

ओली र देउवाको बयान नलिएसम्म प्रचण्डको भ्रष्टाचारविरोधी भाषण गफ मात्र

नेपाली शरणार्थीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकसहित तेस्रो देश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पहिलो पटक सक्कली शरणार्थी टेकनाथ रिजाल पक्राउ परे।

रिजाल भुटानी शरणार्थी घटनामा सर्वोच्च नेता हुन्। राजनीतिक आस्थाका आधारमा लखेटिएका भुटानीको सामाजिक र राजनीतिक अधिकारका लागि नेपालमा बसेर संघर्ष गरिरहेका व्यक्ति नै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ पर्नु भुटानी शरणार्थीको गम्भीर विषयमा नेपालको सबैभन्दा ठूलो हार हो।

नेपालीभाषी भुटानीको विषयमा भुटान सरकारले राजनीतिक र सामाजिक आधारमा भेदभाव गर्दै भारतको सहयोगमा नेपालसम्म ल्याएको थियो।

राजनीतिक रूपमा नेपाल भुटानी शरणार्थीको विषयमा बलियो थियो। तर भारतको स्वार्थका अगाडि निरीह बनेको थियो। 

तर जसरी पनि विदेश जान तयार लोभी समूह अनि जसरी पनि पैसा कमाउने 'द्रव्य पिचास' समूहका अगाडि गम्भीर शरणार्थी विषय पनि मजाक बनेको छ। 

राज्य संयन्त्रमा रहेका उपप्रधानमन्त्री र गृहमन्त्री यही केसमा प्रहरी हिरासतमा छन्। 

गृहसचिव र गृहमन्त्रीका सुरक्षा सल्लाहकारसम्म हिरासतमा छन्। कसैले सरकारी अख्तियारी दुरुपयोग गरे अनुसन्धान गरेर कानुनी कारबाहीमा लैजाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख यही प्रकरणमा तानिएका छन्। तर पदमै छन्।

तत्कालीन गृहमन्त्री अनुसन्धानको दायरा बाहिर छन् तर उनको छोरा फरार छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णय यो ठगीको हतियार बनेको छ। तर दुवै पूर्वप्रम प्रहरी हिरासतबाहिर छन्।

पत्याएकाले धोका दिएको नि भन्न सकेका छैनन् दुवैले। न राज्यसँग माफी नै मागेका छन्।

सतहमा जे जस्ता तथ्य बाहिरिएका छन् त्यसले कुनै चतुर अपराधीको मात्र अपराध हो भने देखिएन यो प्रकरण।

राज्यसंयन्त्र नै भ्रष्ट देखियो। भुटानी शरणार्थी प्रकरण लगभग नेपालको हातबाट गुम्यो। 

तेस्रो देशमा पुनर्वास पाएका भुटानी शरणार्थीमध्ये कति सक्कली अनि कति नक्कली ? मुख्य प्रश्न यही हो।

यो प्रकरणमा प्रहरीले जति पक्राउ गर्यो, त्यो नै छक्क पार्ने पक्ष हो। यसमा नेपाली प्रशासन या वर्तमान सरकारको भ्रष्टाचारविरोधी प्रतिबद्धताले मात्र काम गरेको हो भन्नु 'मुतको न्यानो' मात्र हो।

यदि यो विषय अन्तर्राष्ट्रिय नभएको भए प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज संसदमा त्यति रवाफका साथ भाषण गर्ने हैसियत पाउँदैनथे।

अनि छोरा बाचुञ्जेल उसैबाट असुली धन्दा चलाउने र उनको आकस्मिक मृत्युपछि छोरी गंगालाई असुलीको नेता बनाउन नहिच्किचाउने उनी भ्रष्टाचारविरोधी नेता हैनन् लेख्न थप तथ्य खोज्नै पर्दैन।

यो अन्तर्राष्ट्रिय अपराध हो। नेपालमाथि विश्वास गरेर भुटानी शरणार्थीलाई आफ्नो देशको नागरिक बनाउन राजी ती तमाम देशमाथिको गद्दारी हो। नेपाल असफल देश बन्न सक्छ हैन, बनिसक्यो भन्ने प्रमाण हो। 

असफल देशमा प्रहरीले वा प्रचण्डले हिम्मत गर्यो भन्नु पुन उही मुतको न्यानो मात्र हो। 

प्रहरी अपराधअनुसार अभियोजनमा प्रस्ट छ भने केपी ओली र शेरबहादुर देउवा सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिनैपर्छ। त्यो पनि लुसुक्क हैन, सार्वजनिक रूपमा। किनकि यो प्रकरणमा जो-जो उच्चतहका समातिएका छन् यी दुईले हुन्छ नभनेसम्म यस्तो गम्भीर अपराधको योजनासम्म बन्न पनि सम्भव छैन। कार्यान्वयन त परको कुरा।

४ जेठ, २०८०, २१:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।