नयाँ स्टकबारे प्रधानमन्त्रीको धारणा- ‘सेटिङबारे छानबिन हुन्छ’

नयाँ स्टकबारे प्रधानमन्त्रीको धारणा- ‘सेटिङबारे छानबिन हुन्छ’

काठमाडौं : शेयर लगानीकर्तालाई सकारात्मक सन्देश दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारको सेटिङबारे छानबिन हुने बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा सांसद् सर्वेन्द्रनाथ शुक्लाले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सबै खालको भ्रष्टाचार अन्त्य गर्ने गरी अघि बढेको दाबी गरे।

‘भ्रष्टाचारलाई कुनै पनि छुट दिइनुहुँदैन। सबै भ्रष्टाचार अन्त्य गर्ने दृढ इच्छाका साथ अघि बढेका छौं,’ प्रधानमन्त्रीले भने, ‘नक्कली भुटानी शरणार्थीलाई मात्रै होइन। अन्य तमाम ठूला घटनाको छानबिन गर्ने र सम्पत्ति शुद्धिकरण र राजस्वमा भएका ठूला चलखेल र पुँजी बजारको सेटिङ भत्काउने गरि छानबिन हुन्छ।’

देश अप्ठ्यारोमा पर्नुको कारण संस्थागत भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्रीले राजनीतिक दलहरूले आफूलाई सच्याउने अवसर पाएको बताए।

‘देश अप्ठ्यारोमा पर्नुको कारण संस्थागत भ्रष्टचार हो। हामीलाई आफूलाई सच्याउने अवसर छ,’ उनले भने, ‘भ्रष्टाचार र विकृतिका विरुद्ध नयाँ अभियानको थालनी गरेर लोकतन्त्र र गणतन्त्रका लागि शुसानका लागि राम्रो व्यवस्था हो भन्ने बनाउने अवसर छ।’

४ जेठ, २०८०, १७:३२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।